–केशव भट्टराई
जिन्दगीको काउन्टडाउन चलिरहेको छ । आफूलाई चाहिँ सधैँ जस्ताको तस्तै लाग्छ । तीन दशक उकालो लाग्दासमेत अझै सोह्र पुगेर सत्र लाग्दै गरेको महसुस हुन्छ । मन त झनै कलिलो बनिरहेको छ । योग्यता भए पनि योग्य बन्न सकिएन । दक्षता भए पनि दक्ष हुन सकिएन । व्यवहार राम्रै गरिए पनि व्यावहारिक हुन सकिँदो रहेनछ । अर्थशास्त्र पढेर आर्थिक उन्नति हँुदोरहेनछ । एकाउन्ट पढे पनि जिन्दगीको एकाउन्ट कहिल्यै मिल्न सकेन । बिजनेस पढेर पनि बिजनेस फस्टाउन सकेन । धेरै वर्ष म्याथ पढियो, तर अंकगणितको समेत सदुपयोग हुन सकेन । अर्थात्, शैक्षिक योग्यताको प्रयोजन भएन ।
हरेक दिन सबेरै मेरा एकजोर आँखा पत्रपत्रिकाका वर्गीकृत डिस्प्लेहरुमा ठोक्किन्छन् । दिनहुँ प्रकाशित हुन्छन्, आवश्यकताका भाँतीभाँतीमा विज्ञापनहरु । विज्ञापन हेर्दा लाग्छ– ‘शिक्षित भलाद्मीहरु जानीजानी बेरोजगार बनिरहेका छन् । सामान्य साक्षरहरु अवसरको खोजी नै नगरी रोजगारविहीन बनेका छन् । प्रौढहरु शिक्षित र साक्षरलाई हेरेर त्यसै मन मारिरहेका छन् ।’ मलाई लागेको मात्र हो, वास्तविकताचाहिँ अर्कै रहेछ । मार्केटिङमा विज्ञापनको मह¤वपूर्ण भूमिका हुन्छ भनेर पढिएको थियो । अहिले यही विज्ञापनको भर पर्दा मह¤वपूर्ण समय चौपट भइरहेको छ ।
अहिले त भ्याकेन्सी, अर्जेन्ट, वान्टेड, क्यारिअर अपरच्युनिटीजस्ता माखा टाउके शीर्षकका विज्ञापन हेर्दाहेर्दा दिक्कै लागिसक्यो । अनि, प्रतिष्ठित कम्पनीहरुमा धाउँदाधाउँदै कतिजोर जुत्ता फाटिसक्यो । आफ्नो योग्यताअनुरुपको काम पाउन सकिएन । सरकारीदेखि निजी क्षेत्रका दर्जनौँ संस्थाहरुमा बायोडाटा पेस गर्न कतै बाँकी राखिएन । लिखित, मौखिकदेखि अन्तर्वार्तासम्म कयौँपटक योग्यता परीक्षण गराइयो । तीन पुस्ते विवरण बुझाएपछि नाम निस्कन्छ कि भनेर आश ग¥यो, कहिल्यै निस्किएन । एक त, एउटा पोस्टमा दर्जनौँ व्यक्तिको प्रतिस्पर्धा हुन्छ । त्यसमा पनि महिला, दलित, जनजाति, आदिवासी, मधेसी, अल्पसंख्यकलाई प्राथमिकता भनिएको हुन्छ । भनिएको मात्र हो– प्राथमिकतामा त भाइभतिज, नातागोता र सोर्सफोर्सवालाहरु नै पर्छन् । कदाचित नामै निस्किएछ भने कार्यअनुभवको अस्त्रले घोचेर घाइते बनाइन्छ । अनुभव भएकालाई चाहिँ पारिश्रमिकमा बार्गेनिङ गरेर घोक्रेठ्याक लगाइन्छ ।
‘अर्जेन्ट’ भनिएको विज्ञापन महिनौँसम्म आउँछ ? कति योग्यता पुगेकाहरुले फर्म शुल्क बुझाएर अन्तर्वार्ताका लागि तयारी गर्छन् । तर, अन्तर्वार्तामा फाल्तु कुरामात्र सोधेर अनुभव के छ भनेर सोधिन्छ । जागिर खाएको भए पो अनुभव ? सधैँ ५०÷६० जना कर्मचारी चाहियो भनेर विज्ञापन आउँछ । तर, अनुभवको नाममा सीधै फर्म शुल्क हजम गर्ने गरिन्छ । ठाडै हजम गर्न अप्ठ्यारो भयो भने कुनै एक जनाको काल्पनिक नाम निकालिन्छ । अनि, वैकल्पिकमा आउँछ जागिर खानेहरुको सम्भावित नाम । कति संस्थाहरु त इन्टरभ्यूको दिनमा नै बन्द गरिन्छन् । फर्म शुल्क उठाएरै दालभातको जोहो गर्ने संस्थाहरु यसरी नै कति वर्ष चलिरहने होला ? एक मित्रले भन्थे, ‘यो युग आइडियाको खेती गर्नेहरुको हो, शैक्षिक योग्यता हुनेहरुको होइन ।’ मित्रको भनाइको तात्पर्य मैले बुझेँ ।
कतिले त विज्ञापनमै उल्लेख गर्छन्, सम्बन्धित क्षेत्रमा पाँच वर्षको अनुभव भनेर । जागिरै नखाए पनि जागिरका क्रममा भएका अनुभव कति छन् कति ? पढेको अनुभवको कुरा गर्ने हो भने पाँच वर्ष होइन, २५ वर्ष नै पूरा भइसक्यो । दर्जनौँ पटक परीक्षा दिएको अनुभव छ । प्रेम गरेको अनुभव माग्ने हो भने विशेष अनुभव पेस गर्न सकिन्छ । दुःख–पीडाका अनुभवहरु सोध्ने हो भने इन्टरभ्यू लिने व्यक्ति नै ढल्न सक्छ । तीन पटकसम्म त लोकसेवा आयोगमा जाँच दिएको अनुभव छ । एनजिओ÷आइएनजिओहरुमा इन्टरभ्यू फेस गरिएका कयौँ अनुभवहरु छन् । कोरियाको भूत चढेर घन्टौँ लाइन लागेर इपिएस फर्म भरेको र महिनौँ पढेर जाँच दिएको अनुभव पनि छ । आफैँले कन्सल्टेन्सी खोलेर इन्टरभ्यू लिएको अनुभव छ । रेस्टुरेन्ट सञ्चालन गरेर कर्मचारीलाई रोजगार दिएको अनुभव छ । विभिन्न समयमा दर्जन बढी घरभेटीलाई भाडा बुझाएको अनुभव छ । भुक्तभोगीलाई पनि यति वर्षको अनुभव भनेर सोध्ने हो ?
भर्खरै एसएलसी दिएको भाइले सोध्यो– ‘म खाली समयमा के सिकौँ होला दाजू ?’ मैले जवाफ दिएँ, ‘केही सिक्नुपर्दैन । सिक्ने नै भए भात पकाउन, दूध दुहुन, वायरिङ गर्न, धारामा वासर फेर्न, मोटरसाइकल मर्मत गर्न, मोबाइल मर्मत गर्न, पन्चर टाल्न, ड्राइभिङ, भाँडा माझ्न, टेलरिङ, पेन्टिङ, मेकानिकलजस्ता काम सिक्, त्यसैमा तेरो भविष्य छ । भोलि वैदेशिक रोजगारमा जान पनि काम लाग्छ ।’ ऊ हेरेको हे¥यै भयो । उसले कस्तो अपेक्षा राखेको थियो कुन्नि ? के जाति ब्रिज कोर्षको प्रसङ्ग सुनाइरहेको थियो । योग्यता नबिकेर तनाव भइरहेको बेला लामो सूची भनेपछि उसले ट्वाल्ल परेर हेरेको थियो । आफ्नो समयमा बुद्धि पुगेको भए प्राविधिक शिक्षा लिनुहुन्थ्यो । कम से कम विदेश जाने न्यूनतम योग्यताका लागि पनि आधारभूत सीप त काम लाग्छ । नत्र, मैले जस्तै जागिरको खोजीमा भौँतारिएर समयको नाश हुनसक्छ ।
नेपालका ६० जिल्ला घुमेको अनुभव देखाएर जागिर मिल्दो रहेनछ । मादल बजाउन आउँछ भनेर कसैले जागिर दिने होइन । होम ट्युसन पढाएको अनुभवले लोकसेवामा नाम निस्कँदो रहेनछ । फेसबुक चलाएको भरमा कम्प्युटरमा दक्षता नहुने रहेछ । ट्रेनिङ केचाहिँ लिएको छैन र मैले ? मेरा प्रमाणपत्रहरु भित्तामा टाँस्ने हो भने पनि दिनैभरि लाग्दो हो । तर, जुनसुकै संस्थाहरुमा बायोडाटा पेस गरे पनि अनुभव नै नभएको भनेर फर्काइन्छ । मेरो दक्षतामाथि प्रश्न तेस्र्याइन्छ । मेरा शैक्षिक प्रमाणपत्रमाथि शंका व्यक्त गरिन्छ । जागिरै नखाई पाँच वर्षको अनुभव कसरी देखाउने ? कि फर्मालिटीका लागि नक्कली अनुभवको प्रमाणपत्र बनाउनु पर्ने हो ?
आधा उमेरसम्म पनि मैले जागिरकै लागि भौँतारिनु पर्छ भने, झूटो विवरण देखाएर जागिर खानुपर्छ भने, दक्षता हुँदाहुँदै पनि सोर्सफोर्सकै आधारमा जागिरको भिक्षा थाप्नुपर्छ भने भो म जागिर खान्नँ । समयले नै मलाई अनुभवी बनाएको छ नि ! मेरा अनगिन्ती अनुभव नै पर्याप्त हुँदाहुँदै पनि यो र त्यो बहानामा मलाई अयोग्य सावित गराएर जागिरबाट वञ्चित गराइन्छ भने म किन खाने जागिर ? स्पष्टसँग आफ्नै नाम लेख्न नआउनेहरु सरकारी कार्यालयहरुमा योग्य कर्मचारी मानिन्छन् । कलेजहरुमा कतिले जोक्स भनेरै तलब पड्काइरहेका हुन्छन् । घाम तापेरै जागिर पकाउने कति छन् कति ? महिनामा एकचोटि हाजिर गरेका भरमा तलब हसुर्ने पनि छन् । कार्यालयमा हाजिर गरेर दिनभर म्यारिज खेल्नेले पनि त जागिरै खाइरहेका छन् । इमानदारितापूर्वक काम गर्छु भन्नेका लागि अनुभवको प्रमाणपत्र किन चाहिएको होला ?
एक पटक एउटा प्रतिष्ठित हाउजिङ तथा रियल स्टेट कम्पनीमा जीएमको जागिर भेट्टाएको थिएँ । त्यसमा अनुभवको आवश्यकता परेन । मनमनै खुसी लागेको थियो । तर, जागिरमा इन्ट्री गरेकै दिनमा एमडीले हेपेर तल्लोस्तरको गाली ग¥यो । पहिले नामसमेत जी थपेर सम्बोधन गर्ने व्यक्तिले तत्लोस्तरमा झरेर अश्लील भाषा ओकलेपछि आत्मसम्मानमा ठेस लागेर आयो । मनले तत्काल भन्यो– यो पाजीको जागिर नखाएर मरिन्न । अनि जागिर नै बंक गरेँ । उसले छिट्टै कुरा बुझेछ । फेरि जी नै थपेर प्रस्तुत भएको थियो । तर, मैले उसको जीएम पद मरिगए स्वीकार गरिनँ । त्यही एक दिन हो, जागिर खाएको । त्यसपछि त्यो कम्पनीमा शौचालय जानुपर्ने अवस्थामा मात्र गएकोे छु ।
जहिले पनि देख्छु, पत्रपत्रिकामा आवश्यकतासम्बन्धी विज्ञापन । अनि पढ्छु, तु. बिक्रीमा भनेर लेखिएका विज्ञापनहरु । अनि, आफैँ मुस्कुराउँछु । किनकि, मैले पनि विदेश जानु परेकाले भनेर ‘कन्सल्टेन्सी’ बिक्री गरेको थिएँ । चालू हालतको भनेर ‘रेस्टुरेन्ट’ बिक्री गरेको थिएँ । र, व्यस्त ठाउँको ‘साइबर क्याफे’ विशेष कारणवश भनेर बिक्री गरेको थिएँ । विज्ञापनको प्रभावले गर्दा नै म तीनवटै पेसाबाट अवकाश लिन सफल भएको थिएँ । मेरा अरु बिजनेसचाहिँ विज्ञापन नै नगरी खारेज गरिदिएँ । बिजनेसप्रति मोह भङ्ग भएको सरकारी जागिरको चक्करमा परेर हो । अरुलाई रोजगार दिए पनि आफूले चाहिँ भनेजस्तो जागिर भेट्न नसकेपछि आफ्नै योग्यतामा आफैँलाई शंका लाग्न थालेको हो ।
तु. बिक्रीमा भनेर लेखिएका विज्ञापन देख्दा मलाई योग्यता बिक्री गरिदिऊँ जस्तो लाग्छ । लागेर मात्र भएन, किन्ने व्यक्ति पनि फेला पर्नुप¥यो । मेरा शैक्षिक प्रमाणपत्रहरु दराजमा थन्किएको वर्षौं भइसक्यो । थाहा छैन, धमिरा लागेको छ कि मुसाले रजाइँ गरिरहेको छ । एक जना साथीले शैक्षिक प्रमाणपत्रहरु बैंकमा राखेर पनि ऋण निकाल्न पाइन्छ भनेको थियो । हो कि होइन, थाहा छैन । केही हप्ताअघि बलिउड पोर्नस्टार सन्नी लियोनको पेन्टी लिलाम बिक्री हुँदा विश्वका एक से एक अर्बपतिहरुले करोडौँ रूपैयाँ बढिबढाउ गरेका थिए । यहाँ त पच्चीस वर्षसम्म पढेको शैक्षिक योग्यता बिक्री हुन लागिरहेको छ । के सेलेब्रेटीको पेन्टीजति पनि भाउ छैन, हाम्रा शैक्षिक प्रमाणपत्रहरुको ? सेलेब्रेटी भएको भए मेरो योग्यता करोडौँ रूपैयाँमा बिक्री हुनेथियो ।
प्रयास गर्दागर्दै जागिर खाने जाँगर नै हराइसकेको छ । आफूसँगै जागिरका लागि आवेदन दिएकाहरुले अवकाशसमेत लिने बेला भइसक्यो । धरोधर्म, पच्चीस वर्षसम्म पढाइमा गरेको लगानी उठ्छ भने म ससम्मान मेरा योग्यता बिक्री गर्न चाहन्छु । म जस्तै कति लाख होलान्, योग्यता बिक्री गर्न सर्टिफिकेट हातमा लिएर बस्ने ? सरकारले शैक्षिक योग्यता धरौटी राखेर वैदेशिक रोेजगारीमा जाने व्यवस्था गरिदिए कति शैक्षिक बेरोजगारहरु तयार हुन्थे होलान् ? एसएलसी दिएको मेरो भाइले सोध्ने नै थिएन, के सिकौँ ? आत्मनिर्भर बन्न सक्ने जीवन उपयोगी शिक्षा उसले पाँच कक्षादेखि नै सिक्ने थियो । त्यसपछि व्यक्तिले अवसर होइन, अवसरले नै व्यक्तिलाई पछ्याउने छ । अनि, कुनै विद्यार्थीले भन्नुपर्दैन– ‘योग्यता बिक्रीमा छ ।’
Discussion about this post