दिपेन्द्र अधिकारी
शारदानगर । नेपालको पहिलो सहकारीको रुपमा शारदानगरमा विसं. २०१३ सालमा स्थापना गरिएको बखान बहुउद्देश्यीय सहकारी संस्थालाई लिइन्छ । २०१३ साल चैत्र २० गते यस सहकारीको स्थापना भएकाले यसै दिनलाई सरकारले सहकारी दिवसको रूपमा मनाउने समेत गरेको छ ।
नेपालमा अहिले अर्थतन्त्रको प्रमुख हिस्सा सहकारीले ओगटेको छ । उद्देश्य र दायित्व अनुरूप नचल्दा कतिपय सहकारी भने ठगी खाने भाँडो बनेका छन् । स्थानीय बखानसिंह गुरूङको सक्रियतामा यस सहरकारी स्थापना भएको थियो । हाल सहकारीका ३ जना संस्थापकमात्र जीवित छन् । बखान सिंहको २०४० सालमा निधन भएको थियो ।
नेपालकै पहिलो बखान सहकारी देशको राजनीति परिवर्तनसँगै अघि बढेको इतिहास देखिन्छ । पञ्चायत कालमा साझा संस्थाका रूपमा तत्कालीन सरकारले यस सहकारीलाई हातमा लिएपछि अस्तित्व नै हराउने हो कि भन्ने डर संस्थापकहरुमा थियो । तर बहुदलको आगमनपछि पुनः यो संस्थाले सहकारीकै रुपमा अघि बढ्ने मौका पायो । साझा सहकारी हुँदा लागेको ३७ लाख ऋण सहकारीले २०६० साल सम्ममा चुक्ता गरेको थियो ।
बखान सहकारीका शेयर सदस्यहरु हाल यसै सहकारी रहेको ठाउँलाई राष्ट्रिय सहकारी संग्राहलय बनाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रन थालेका छन् । उनीहरुले दिवसको दिन पारेर बिहीबार सहकारी परिसरमै धर्ना दिएका छन् । उनीहरुले संग्राहलयको गुरूयोजनासमेत तयार पारिसकेका छन् । गुरूयोजनाअनुसार कुल ३२ करोडमा २ बिघा १० कठ्ठा क्षेत्रफलमा संग्राहलय बनाउने गरी कामहरु अघि बढाइएको भवन निर्माण समितिका संयोजक सोम भण्डारीले बताए ।
३२ करोड रूपैयाँ संकलन आफूहरुको लागि ठूलो कुरा नभएको उनले बताए । राज्यले यसै ठाउँलाई राष्ट्रिय सहकारी संग्रहालय बनाउने घोषणा गरिदिनुपर्ने उनीहरुको माग छ । ‘राज्यले घोषणा गरिदिनु प¥यो, सरकारबाट एक रूपैयाँ नलिई हामी संरचना तयार पारेर देखाइदिन्छौं ।’
देशका अन्य सहकारीमा भएका स्रोत सामग्री, तालिम हल, सहकारी पाठशाला आदि समेट्ने गरी संग्रहालय बनाउन लागिएको सदस्य रूपेश खनालले बताए । संग्राहलय बनाउनका लागि यसअघिका प्रधानमन्त्री र हालका प्रधानमन्त्रीलाई सुशील कोइरालालाई भेटेर कुरा राखे पनि सकारात्मक प्रतिक्रिया नआएको खनालले बताए ।
२०१३ सालमा गाउँमा पर्ने दुःख कष्टलाई सवै मिलेर समाधान गर्ने ध्येयले यस सहकारीको स्थापना भएको संस्थापकहरु बताउँछन् । सहकारीको सफल अभ्यासबाट देशमा अहिले हजारौंको संख्यामा सहकारीहरु क्रियाशील छन् । कतिपय बन्दसमेत भइसकेका छन् । सहकारीको बाढी यसरी आयो कि अहिले यसै शारदानगर गाविसमा मात्रै १३ वटा फरक सहकारी रहेका छन् ।
तत्कालीन समयमा ६० जना शेयर सदस्यबाट १० रूपैयाँ प्रति शेयर उठाइ ६०० रूपैयाँ जम्मा पुँजी रहेको यस बखान सहकारीको हालको पुँजी बचत तथा ऋणतर्फ ६० लाख रहेको छ । ५४ लाख रूपैयाँ बढी सहकारी सदस्यहरुमा लगानी गरिएको छ । हाल शेयर सदस्य २०५ जना रहेका छन् । सहकारीका सदस्यहरुले धेरै जसोले माछापालन, पशुपालन आदिमा ऋण लिएको सहकारीकी उपाध्यक्ष देवी थापामगरले बताइन् ।
Discussion about this post