भरतपुर । राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा चितवन जिल्लाका सम्पूर्ण सहकारी संस्थाहरुले ५७ औं राष्ट्रिय सहकारी दिवस ‘सहकारीमार्फत दिगो आर्थिक विकास र सामाजिक न्याय’ भन्ने मूल नाराका साथ सम्पन्न गरेका छन् ।
चितवन जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन जिल्लाका स्थानीय विकास अधिकारी तिलक पौडेल प्रमुख अतिथिको रूपमा रहनु भएको थियो । उक्त कार्यक्रममा केन्द्रीय सहकारी विभागका प्रमुख केदारनाथ न्यौपाने विशेष अतिथि रहनु भएको चितवन जिल्ला सहकारी डिभिजन तथा प्रशिक्षण कार्यलयका प्राचार्य केशवबहादुर थापा, जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा, बाल ब्रम्हाचारी ईश्वर श्रीकृष्ण महाराजजी विशिष्ट अतिथि रहनु भएको थियो ।
प्रमुख अतिथि तिलक पौडेलले चितवन जिल्लाको विकासमा निम्ति सहकारीको विकासका अनिवार्य रहेकोले आफू रहँदा र नरहँदा पनि हरतरहले सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि केदारनाथ न्यौपानेले आगामी दिनमा चितवन जिल्लालाई विदेशबाट आयातित वस्तुको उपभोग नगर्ने र रोजगारी खोज्न विदेश नजाने जिल्लाको रूपमा विकास गर्न घोषणा गर्न शुभकामना दिनुको साथै जिल्ला विकास समितिको स्रोत सहकारीका कुराहरु अगाडि बढाउनमा पनि खर्च गर्न स्थानीय विकास अधिकारीलाई आग्रह गर्नु भएको थियो ।
यसै अवसरमा हंस बहुउद्देश्यीय सहकारी संस्था लिका कार्यकारी अध्यक्ष दिनेशकुमार चुकेले संस्थाको तर्फबाट भरतपुर–१३, रामबाग निवासी झपड बहादुर क्षेत्रीका बालबालिकाहरुको आर्थिक स्थिति नाजुक भएको कारणले सुरक्षित आवासको व्यवस्था होस् भन्ने हेतुले आवास नर्माण सहयोगार्थ स्व. क्षेत्रीका ज्येष्ठ सुपुत्र अजग क्षेत्रीलाई रु. १०,०००।– को चेक हस्तान्तरण गर्नु भयो ।
कार्यक्रममा सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालयका प्राचार्य केशवबहादुर थापा, केन्द्रीय सहकारी संदस्यद्वय शान्ति अधिकारी, नवराज सापकोटा, बखान बहुउद्देश्यीय सहकारीका अध्यक्ष मोहन सिंह लामालगायतले मन्तव्य राख्नु भएको थियो ।
Discussion about this post