बारीमै कुहियो करोडौँको तरकारी

अन‌ि यो पनि

धादिङ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनका कारण धादिङमा करोडौँ रुपैयाँबराबरको तरकारी बारीमै कुहिन थालेको छ ।
लकडाउनसँगै तरकारीबजार लैजान नसक्दा बारीमै कुहिन थालेको गल्छी गाउँपालिका ज्यामिरेखोलाका किसान मुक्तिनाथ खतिवडाले बताए ।

लकडाउनअघि बारीबाट टिपेर आदमघाटसम्म पु¥याएपछि व्यापारीले किनेर लैजाने गरेकोमा अहिले कोही व्यापारीसमेत नआएको र आफूहरुसँग सवारी साधन नहुँदा बेच्नका लागि काठमाडौँ लैजान नसकिएको खतिवडा बताउँछन् ।
तरकारी बेच्ने बेला भएपछि लकडाउन सुुरु भयो, टिपेर राख्न पनि नमिल्ने भएपछि बारीमै कुहाउन बाध्य हुनुपरेको छ । यो वर्षको तरकारी खेतीबाट केही बचत गर्न सकिन्छ कि भन्ने थियो उल्टो ऋणमा परेको छाँगेटारका विनोद खतिवडाले बताए ।

खाई नखाई सन्तानलाई जत्तिकै माया गरेर खेती गरेको तरकारी फलेपछि बेच्नै नपाउँदा निकै पीडा भएको उनी बताउँछन् ।
‘सधैँ खेतमै आएर तरकारी लैजाने व्यापारीहरु लकडाउनसँगै गाउँ आउन छाडेका छन्’, थाँक्रे गाउँपालिका ११ बालुवाफाँटका किसान ओतराज विडारी भन्छन् ।

उनका अनुसार सवारी साधनको अभावले किसान आफैँले काठमाडौँसम्म लैजान सक्दैनन्, गाउँ वरिपरिका ब्जारमा बिक्री हुँदैन, काठमाडौँ लैजाँदा पनि बेच्न नसकेर उतै मिल्काएर आउनुपर्ने अवस्था रहेको छ ।
सरकारले दैनिक उपभोग्य सामग्री ओसारपसारमा रोक नलगाए पनि धादिङको स्थानीय प्रशासन र निजी क्षेत्रका संस्थाहरुले एक ठाउँको तरकारी अर्को ठाउँमा लैजान रोक लगाएका कारण जिल्लाका बजारमा लगेर तरकारी बेच्न नसकिएको किसानहरु बताउँछन् ।

कालिमाटी फलफूल तथा तरकारीबजार विकास समितिका अनुसार लकडाउनअघि धादिङबाट दैनिक कम्तीमा १८ देखि २० ट्रक तरकारी काठमाडौँ जान्थ्यो भने काठमाडौँबाटमात्रै दैनिक २५ देखि ३० लाखको हाराहारीमा नगद धादिङ भित्रिने गर्दथ्यो । यो तथ्याङ्कका आधारमा धादिङमा वार्षिक एक अर्बभन्दा बढी आम्दानी तरकारीबाटै हुने गरेको छ ।

राजधानीसँग जोडिएको धादिङले काठमाडौँको तरकारी बजारमा ३१ प्रतिशत हिस्सा ओगट्दै आएको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका उपाध्यक्ष गीताप्रसाद आचार्य बताउँछन् । काठमाडौँका साथै चितवन, पोखरा, बुटवल र भारतका विभिन्न सहरमा समेत धादिङको तरकारीले बजार पाउने गरेको आचार्य बताउँछन् ।

लकडाउनका कारण तरकारी बिक्री गर्न नपाउँदा किसानले तरकारी नटिपेर बारीमै कुहाउन थालेका हुन् । धादिङको सिद्धलेक गाउँपालिकाको बुङचुङ, खरमटार, नेपालटार, गजुरीटार, पिपलटार, आदमटारका साथै गल्छी गाउँपालिकाको ज्यामिरेटार, छायाँटार, छत्रिटार, भुत्याहा, केउरिनीटार, चिरौंदी, ढुंगानाटार, कल्लेरीटार बेनीघाट रोराङको रिचोकटार, विशालटार, चरौंदीलगायतका गाउँबस्तीका हजारौँ रोपनी जमिनमा लगाएको लौका, घिरौँला, भिन्डी, घिउसिमी, गोलभेँडा, काँक्रा, फर्सीलगायतका तरकारी अहिले बारीमै कुहिएका छन् ।

सदरमुकाम र मुख्य बजार क्षेत्रका सर्वसाधारण हरियो तरकारीको अभाव झेलिरहेका छन् । उता किसान बेच्ने ठाउँको अभावले बारीमै कुहाएर फाल्न बाध्य भएका छन् । कृषकको तरकारी बारीमै कुहिएको विषयमा जानकार भएर पनि नागरिकको सबैभन्दा नजिकको स्थानीय सरकारले भने यस विषयमा खासै चासो नदिएको किसानहरुको गुनासो छ ।

जिल्लाका स्थानीय तह र स्थानीय प्रशासनले आवश्यक समन्वय नगर्ने हो भने एकातिर ग्रामीण क्षेत्रमा किसानले उत्पादन गरेका तरकारी खेतमै नष्ट हुने अवस्था छ अर्कोतिर बजार क्षेत्रका नागरिक तरकारी अभावमा छट्पटिनुपरेको छ । यसको अन्त्यका लागि स्थानीय सरकार र स्थानीय प्रशासनले तत्काल सुरक्षित उपाय निकाल्न आवश्यक भएको उपभोक्ता अधिकारकर्मी गोकर्ण रुपाखेतीको सुझाव छ ।

कृषि ज्ञान केन्द्र धादिङको तथ्यांकअनुसार जिल्लाभर अहिले ६ हजार २२ हेक्टर जमिनमा व्यावसायिक तरकारी खेती गरिएको छ ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया