राजेश घिमिरे
लोथर–८ की विष्णुमाया चेपाङ २० वर्ष पुगिन् । ११ वर्षअघि बिहे गरेकी विष्णुमायाले ९ वर्षमा ४ जना सन्तानलाई जन्म दिइन् । एक छोरा जन्मेको केही दिनमै सुकेनासले बिते, बाँकी तीन जना पनि अस्वस्थ छन् ।
चेपाङ बालबालिकाहरुलाई आवासीय रुपमा अध्ययन गराउँदै आएको गामबेसीको चेपाङ संरक्षण केन्द्रको संयोजनमा वीरगन्जको केडिया आँखा अस्पतालले लोथरको पिप्लाङमा गरेको निःशुल्क आँखा शिविर, स्वास्थ्य शिविर र लत्ताकपडा वितरणमा २० वर्षीया विष्णुमाया नाङ्गा र भोका छोराछोरी च्यापेर आइपुगेकी थिइन् । बाँडिएका केही कपडा च्यापेर विष्णुमाया घर फर्किने सुर गरिन् ।
प्रश्न ः आँखा नजँचाई फर्कने ?
जवाफ ः छोराछोरीलाई कपडा पाइहालेँ सर, आँखा त देखेकै छु ।
प्रश्न ः किन हतार गर्नुभयो त, एकछिन बसेर आफ्नो अनि छोराछोरीको जाँच गरेर फर्के हुन्न ?
जवाफ ः भयो सर । यहाँ भुलेर यिनलाई भरेभोलि के खुवाउने ।
अस्वस्थ सन्तान च्यापेर स्वास्थ्य शिविरमा आइपुगेकी विष्णुमाया कसैको कुरै नसुनी कपडा च्यापेर उकालो लागिन् । उनको एक हलको मेलो लाग्ने जग्गा छ । त्यसमा उब्जिएको अन्नले जेनतेन एक महिना पुग्छ । ‘श्रीमान्ले ज्यालादारी मजदुरी गरेर केही कमाउँछन्, त्यसले केही चल्छ । उनले भनिन्, ‘अरु दिन गिठा, भ्याकुरले चलाउने हो ।’ १०–१२ सन्तान जन्माउनु यस गाउँका लागि सामान्य मानिन्छ । विष्णुमायाले पनि अब थप कति सन्तानलाई जन्म दिने हो, थाहा छैन । उनी भन्दै थिइन्, ‘मलाई के थाहा र सर, बूढालाई थाहा होला ।’
विष्णुमाया एक प्रतिनिधि पात्र हुन् । चितवनका पहाडी गाउँहरुमा उनीजस्ता थुप्रै युवतीहरुको अवस्था यस्तै छ, जसले खानाको अभावमा कुपोषित बालबच्चा काखमा छँदाछँदै फेरि पनि नयाँ सन्तानलाई जन्म दिन्छन् । सुत्केरी अवस्थामा न आमाले खान पाउँछन्, न बच्चाले । सुत्केरी भएको केही दिन आराम गर्ने भन्ने त यहाँका महिलालाई थाहै छैन । ‘बच्चा जन्मायो, काखमा च्यापेर काममा हिँड्यो ।’ यस गाउँमा पहिलो पटक स्तरीय आँखा शिविर गरिएका कारण हामीले सोचेका थियौँ, आँखाका समस्या भएका धेरैले राहत पाउने भए । तर, माहोल फरक देखियो । शिविरमा भन्दा लत्ताकपडामा ध्यान पुग्यो सबैको । कपडा बाँड्न हम्मेहम्मे भयो । आँखा जँचाउन वीरगन्जदेखि शिविर लिएर आएका चिकित्सकहरु एक–डेढ घन्टामै फुर्सदिला भए । खाने र लगाउने कुराले ग्रस्त चेपाङका लागि आफ्नो स्वास्थ्यको कुनै चिन्ता छैन । एक छाक खाना र एक सरो लुगा उनीहरुका लागि स्वास्थ्यभन्दा ठूलो छ ।
फागुनको अन्तिम साता र चैतको दोस्रो साता लोथर गाविसका विभिन्न गाउँहरु पुग्ने अवसर मिल्यो । चेपाङ बाहुल्य रहेको अत्यन्तै विकट गाउँहरु पुग्दा बिल्कुलै फरक अनुभूति भयो । चितवनका पहाडी गाउँका समस्या कर्णालीका विकट गाउँमा भन्दा जटिल छन् । यस क्षेत्रमा गाँस, बास, कपासको ठूलो समस्या छ । खानका लागि अन्न छैन, बस्नका लागि घर छैन, अनि लगाउनका लागि कपडा छैन । तर पनि आफ्नो सास धान्नुछ, परिवारलाई बचाउनुछ, अनि दैनिक गुजारा चलाउनुछ ।
चेपाङका घरमा नेताका तस्बिर भगवान्का भन्दा ठूला टाँसिएका छन् । उनीहरुको यो आस्था आफ्नो समृद्धिका लागि हो । गाउँको विकासका लागि हो । तर, उनीहरुले धेरै चुनाव भोगे, धेरैलाई नेता बनाए, धेरै नेताहरुलाई जिताए । तर, कसैले उनीहरुको गाँस, बास र कपासका लागि बोलेनन् । भोट चाहिँदा चेपाङ हितका ठूला–ठूला कुरा गरे, तर जितेपछि कहिल्यै सम्झिएनन् । चुनावको समयमा भोट माग्न र उम्मेद्वारका फोटा टाँस्न चेपाङ गाउँ पुगेकाहरुसँग जितेपछि पुनः घन्टौँ हिँडेर त्यहाँसम्म पुग्ने साहस छैन । न उनीहरुको भोकमरीको समस्यालाई सम्बोधन गर्ने चाहना जित्नेको छ, न त त्यस गाउँमा विद्यालय, पुल–पुलेसा, खानेपानीलगायतका समस्या समाधान गर्ने भनी गरेको वाचालाई सम्झने क्षमता छ । यहाँका विपन्न वर्गका लागि झाडापखाला, ज्वरोको औषधि अनि बालबालिकाको कुपोषणको समस्या समाधान र सन्तान उत्पादनमा नियन्त्रणका लागि सचेतना त धेरै परका कुरा भए । चुनाव लड्दा वाचा गरेका स्थानीयलाई आयआर्जन, आत्मनिर्भरताको विकास, स्वरोजगार, यातायात, विद्युत्, शैक्षिकस्तरमा विकास तथा स्वास्थ्य र सरसफाइका कुरा त कता पुगे कता !
यस्ता गाउँहरुमा सरकारको उपस्थिति फिटिक्कै छैन । गैरसरकारी संस्थाका प्रतिनिधिहरु आक्कलझुक्कल यहाँ पुग्छन्, आफ्नो स्वार्थ पूरा गर्छन्, फर्कन्छन् । एकाध गैरसरकारी संस्थाले कार्यथलो नै बनाएर काम गरे पनि धेरैले चेपाङलाई प्रयोग गरेर फाइदा आर्जन गर्ने काम गरेका छन् । सहरमा करोडौँ खर्चिएर परिवार नियोजनको नारा लगाएर जनचेतनामूलक कार्यक्रम गर्ने गरेका जनस्वास्थ्य कार्यालय, परिवार नियोजन संघलगायतका थुप्रै संस्थाहरुबारे यहाँका चेपाङहरु पूर्ण रुपमा बेखबर छन् । स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकीहरु धेरै टाढा छन् । जनसंख्या नियन्त्रणका लागि दुई सन्तान ईश्वरको वरदान राष्ट्रिय नारा हो । तर, चेपाङबस्तीमा हरेक सन्तान ईश्वरको वरदान नारा फस्टाएको छ । शारीरिक रुपमा प्रजनन् क्षमता हुँदासम्म सन्तान उत्पादन गर्ने चलन रहेका यस्ता गाउँमा दुई सन्तान ईश्वरको वरदानको नारा लगाएर तलब खानेहरु कहिल्यै पुग्न सकेनन् । चैतको अन्तिममा चेपाङ हितमा काम गर्ने मितेरी फाउन्डेसनको टोली चिकित्सकसहित परिवार नियोजन शिविर लिएर लोथरको कान्दा पुग्दा गाउँका अगुवाहरु नै भागाभाग भएको दृश्य देखियो । कारण उही हो, जनचेतनाको अभाव । ११ जना छोराछोरी जन्माएका स्थानीय विन्देश्वरी प्राथमिक विद्यालयको अभिभावक समितिका अध्यक्ष सीताबहादुर चेपाङलाई परिवार नियोजनबारे बुझाउन सबैलाई हम्मे भयो । धेरैबेरको सम्झाइबुझाइपछि १५ जनाले बल्लतल्ल परिवार नियोजन गराए । यसको सम्पूर्ण जस मितेरी फाउन्डेसन र यसका अध्यक्ष एकल सिलवाललाई जान्छ । कम्तीमा पनि अब त्यस गाउँका १५ वटा परिवारमा नयाँ सन्तानको जन्म हुनेछैन । यसले आमाको स्वास्थ्य सप्रिनेछ र आर्थिक बोझ पनि केही हल्का हुने विश्वास गर्न सकिन्छ । तर, त्यस्ता थुप्रै गाउँहरु बाँकी छन्, जहाँका स्थानीयलाई परिवार नियोजनबारे कुनै जानकारी छैन । यसबारे सम्बन्धित निकाय पूर्ण जानकार छन्, तर उनीहरु त्यहाँ पुगेर सेवा दिन तयार छैनन् ।
करोडौँ खर्चिएर स्वास्थ्य तथा सरसफाइको नारा लगाउने संस्थाहरुबारे यहाँका स्थानीयलाई केही जानकारी छैन । केही वर्षअघि चितवनलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरियो । जिल्लाका हरेक गाउँ र हरेक घरमा शौचालय निर्माण गर्ने भनेर बजेट छुट्टाइयो । हरेक घरमा शौचालय निर्माण भएको दाबी गर्दै नारायणगढको क्याम्पाचौरमा सभामुखलाई ल्याएर खुल्ला दिसामुक्त जिल्ला घोषणा गरियो । तर, म पुगेर केही दिन बिताएका यी गाउँमा शौचालयको कुनै नामोनिशाना छैन । कागजमा शौचालय बनाएर बजेट झ्वाम पार्ने काम भएको छ । होइन भने, कता हराए यी घरहरुमा निर्माण गरिएका शौचालय ? शौचालय बनेकै छैनन् भने खुल्ला दिसामुक्त चितवन भन्नुको अर्थ के छ ? खानेपानीको समस्या त्यस्तै छ । त्यहीँबाट बगेर झर्ने पानी अन्यत्रकाले प्रयोग गर्छन्, तर पहाड काकाकुल छ । पहाडी गाउँका स्थानीय हरेक सरकारी सेवासुविधाबाट वञ्चित भएका छन् । हरेक सरकारी कार्यालयबाट हेपिएका छन् । हरेक कर्मचारीबाट पेलिएका छन् ।
अहिले चितवनमा साक्षरता अभियान धमाधम चलिरहेको छ । जतिसक्दो छिटो जिल्लालाई साक्षर घोषणा गर्ने अभियानमा शिक्षा कार्यालय दौडधूप गरिरहेको देखिन्छ । बच्चादेखि हजुरबुबा, हजुरआमासम्मलाई साक्षर बनाउँदै जिल्लालाई पूर्ण साक्षर बनाउने अभियान हो, साक्षरता अभियान । तर, यी विकट गाउँहरुमा विद्यालय जाने उमेर पुगेका बालबालिकाहरु चाहेर पनि विद्यालय जान पाउँदैनन् । बुबा, आमा अनि हजुरबुबा र हजुरआमालाई साक्षर बनाउने त धेरै परको कुरा भयो । विद्यालय जान घन्टौँ हिँड्नुपर्ने बाध्यता छ यहाँ । दैनिक खानकै लागि समस्या पर्ने यहाँका अभिभावकहरुले खेत जोत्न सिकाउन छाडेर, गाई–बाख्रा चराउन लगाउन छाडेर, गिठा–भ्याकुर खोज्न जंगल पठाउन छाडेर विद्यालय पठाऊलान् या नपठाऊलान्, त्यो आफ्नै ठाउँमा छँदैछ । तर पनि केही महिनाभित्रैमा चितवनलाई पूर्ण साक्षर जिल्ला घोषणा गरियो भने मलाई नौलो लाग्नेछैन । किनभने, सरकारी निकायले घन्टौँ हिँडेर पुग्नुपर्ने विकट गाउँहरुलाई जिल्लाको अङ्ग नै मान्दा रहेनछन् । खुद्रा अभियानभन्दा पूर्ण साक्षर अभियान बढी प्रभावकारी होला भन्ने आधार कम्तीमा पनि मचाहिँ देख्दिनँ ।
पत्रकारिताका क्रममा चितवनका ३६ वटै गाविसहरु सरसर्ती घुम्ने अवसर मिल्यो । यो क्रममा पहाडी क्षेत्रका ८ गाविसका विकट गाउँहरुको यात्रा कष्टकर रहे । तैपनि, फरक अनुभूतिसहितको यात्रा रोमाञ्चक र अविस्मरणीय भने बन्यो । ती यात्राले वर्षौंदेखि चितवन बसेर पनि कहिल्यै नसुनेका कुरा सुन्ने मौका दिए, कहिल्यै नदेखेका कुरा देख्ने अनि कहिल्यै नभोगेका कुरा भोग्ने मौका दियो । वर्षौंदेखि ओढारमा बस्नेदेखि नयाँ मान्छे देख्दा भाग्नेसम्म, १८ सन्तान जन्माउनेदेखि १७ घोगा मकैले सुत्केरी खर्च धान्ने आमासम्म । घन्टौँको उकालो चढेर रातमा ओढ्ने, ओछ्याउनेबिना पनि रात बिताउनु पर्ने बाध्यता त्यहाँका सामान्य समस्या हुन् । तर पनि पाहुनालाई अत्यन्तै आदर गर्ने र आफू भोकै बसेर पनि पाहुनालाई खुवाउनुपर्छ भन्ने मान्यता छ, चेपाङको । त्यसैले होला, आफू भोकै बसेर भने पनि भोकमरीको समयमा ज्यान धान्ने गिठाको माला लगाएर हाँसीहाँसी पाहुनाको स्वागत गरेको । तर मेरा यस्ता सुनाइ, देखाइ र भोगाइले यी क्षेत्रमा कुनै परिवर्तन आउनेवाला छैन । देशमा नयाँ सरकार बनेको छ । जनताले चुनेर पठाएका नेताले सरकार चलाइरहेका छन् । आर्थिक विकासतर्फ अग्रसर हुँदै देशमा आमूल परिवर्तन ल्याउने उद्घोष उनीहरुले गरेका छन् । तर, भाषण गरेर मात्र देश बन्दैन, परिवर्तन व्यवहारबाट देखाइनुपर्छ । यसका लागि परिवर्तनका निम्ति जिम्मेवारी लिएर बसेका व्यक्तिहरुमा जिम्मेवारी बोध हुनु जरूरी छ । गाउँगाउँ पुगेर त्यहाँ कष्टकर जीवन बिताएकाहरुको आँखाबाट वास्तविक जीवन नियाल्नु जरूरी छ ।
मह¤वपूर्ण कुरा यो हो, राष्ट्रिय फूल लालीगुराँसको फेदीमा बनेको घर र तारा गन्न मिल्ने ती घरमा रात बिताउनेहरुको राष्ट्रियताको मूल्यांकन कहिले हुने ? जिल्लाकै उचाइमा जीवन बिताइरहेका चेपाङलगायत समुदायको उन्नतिको उचाइ, प्रगतिको उचाइ, आत्मनिर्भरताको उचाइ, शैक्षिकस्तरको उचाइ अनि स्वस्थताको उचाइ बढ्ने कि नबढ्ने ? यी विषयमा सम्बोधन नहुँदासम्म सहरी क्षेत्रको विकासले मात्र केही हुँदैन । चितवनलाई विकासका दृष्टिले ‘क दर्जामा राख्नेहरुले एक पटक ती विकट गाउँ उक्लिएर त्यहाँको वास्तविक अवस्थाको अवलोकन गर्नैपर्छ । त्यो समयमा समथर क्षेत्रको विकास र उन्नतिलाई मात खुवाउने विकटता र विपन्नताले अवश्य सोध्नेछ– चितवन के आधारमा विकसित ? दोस्रो, तेस्रो दर्जाका नागरिकजस्तो व्यवहार महसुस गरेका त्यहाँका स्थानीयले एक पटक प्रश्न गर्नेछन्– के हामी पनि तिमीजस्तै नेपाली नागरिक होइनौँ ?
Discussion about this post