होमनाथ सापकोटा
जुटपानी । खानेपानीको समेत अभाव हुने जुटपानीको जमुनापुरमा डिप बोरिङमार्फत खेतीमा सिंचाई गर्न पाएपछि यतिबेला किसानहरुमा खुसी पलाएको छ ।
वर्षायाममा समेत सिंचाईको अभावले खेती गर्न नपाएका किसानहरु ४० बिघा जमिनमा सिंचाई गर्न सकिने डिपबोरिङ निर्माण सुरू भएपछि किसानहरु खुसी भएका हुन् । वर्षायाममा पनि पानीको अभावले खेती गर्न पाइँदैनथ्यो स्थानीय कृषक खोमप्रसाद अधिकारीले भन्नुभयो, ‘डिप बोरिङ निर्माण गरेपछि हामी हौंसिएका छौँ ।’
उहाँले सिचार्इंको व्यवस्था भएपछि नगदे बाली लगाउने योजना बनाउनुभएको छ । ‘अब त सिंचाईको लागि पानी पाइने भो’ खुुसी हुँदै उहाँले भन्नुभयो, ‘तरकारीखेती गरेर आम्दानी बढाउने योजना छ ।’ नेपाल सरकार अन्तर्गतको कृषि विकास आयोजना जनकपुरको आर्थिक सहयोगमा २५ हर्सपावरको डिपबोरिङ निर्माण गरिएको जमुनापुर डिप ट्बेल प्रबन्ध समितिका सभापति विनाद रेग्मीले जानकारी दिनुभयो ।
जमुनापुर गाउँको सेन्टरमा पारेर निर्माण गरिएको सो डिपबोरिङ निर्माणको लागि ५५ लाखको योजना स्वीकृत भएको सभापति रेग्मीले जानकारी दिनुभयो । जुटपानी गाविस केही उचाइमा भएकाले १०५ मिटर गहि¥याएर पानी निकाल्नु पर्ने अवस्था रहेको छ । सो डिप बोरिङले ६ इञ्चको पानी फाल्ने र ४० बिघा क्षेत्रफललाई सजिलै सिंचाई गर्न सकिने समितिका सभापति रेग्मीले बताउनुभयो ।
डिपबोरिङ संचालन भएपछि २०० घर परिवारका किसानको जग्गामा सिंचाईको सुविधा उपलव्ध हुनेछ । डिपबोरिङसँगै नहर व्यवस्थापन र ट्रान्समिटर जडान, पम्पहाउस निर्माणको काम पनि गरिने समितिका सभापति रेग्मीले जानकारी दिनुभयो ।
‘जुनसुकै समयमा पनि पानी आउने गरी डिपबोरिङ गाडेका छौँं’ समितिका सभापति रेग्मीले भन्नुभयो, ‘किसानले हिउँदे वा वर्षेखेती जस्तोसुकै खेती गर्दा पनि सिंचाईको व्यवस्था होओस् भन्ने हामीले चाहेका छौँ । सबै काम गरेर किसानलाई सहज रूपले सिचार्इंको व्यवस्था गर्न लागि परेका छौँ’ उहाँले भन्नुभयो, ‘खानेपानीको समेत अभाव हुने यस ठाउँमा खेतीको लागि सिंचाईको व्यवस्था मिलाउन सकियो ।’
डिपबोरिङ निर्माणसँगै वर्षायाममा पनि आकासे पानीको भर पर्नुपर्ने बाध्यता टरेको छ । जुटपानी गाविसका बासिन्दा खानेपानीको चरम समस्या झल्दै आएका छन् । उचाई भएकाले १०० वटासम्म रिङ गाडेका इनारहरु सुक्ने गरेका छन् ।
खानेपानीकै लागि बिहान उज्यालो भएदेखि साँझ नपरूञ्जेल कसरत गर्नुपर्ने यहाँका बासिन्दाले डिपबोरिङबाटै खानेपानी उपलब्ध गराउने गरी काम गर्न निर्माण सममितिलाई आग्रह गरेका छन् । खानेपानीको लागि पनि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको छ समितिका सभापति रेग्मीले भन्नुभयो, ‘हाम्रो पछिलो प्राथकिमता भनेका सिंचाई हो ।’
Discussion about this post