सन्तकुमार चौधरी
चितवनका एक जना नाम चलेका पत्रकारले आफ्ना छोराछोरीलाई कहिल्यै सञ्चार क्षेत्रमा आउनका लागि उत्प्रेरित नगर्ने एउटा सार्वजनिक कार्यक्रममा नै उद्घोष गरे । सञ्चार क्षेत्रको दायरा फराकिलो भए पनि सञ्चारको ठाउँमा बरू कृषितर्फ लाग्न अभिप्रेरित गर्ने उनको भनाइ थियो । सञ्चार क्षेत्रमा आफूले गरेको त्याग र संघर्ष अहिले अभिशापजस्तै बनेको छ रे, उनको बुझाइमा । हिजोआज कुनै पनि व्यक्तिलाई सञ्चार क्षेत्रमा आउन उत्प्रेरित उनले गर्दैनन्, बरू प्राविधिक शिक्षालगायत अन्य सीपमूलक ज्ञानको विकास गर्न सुझाव दिन्छन् उनले ।
सञ्चार क्षेत्रमा काम गर्नेहरुले अरुका लागि लेख्छन्, अरुका लागि बाँच्छन्, जुन राम्रो आदर्शवाद हो । पहाडी क्षेत्रका चेपाङले खान नपाएको कुरा लेख्ने पत्रकारले आफ्नै घरका सदस्यहरुले खान नपाएको कुरा कसरी लेख्ने ! पत्रकारहरु पनि मानव हुन् । उनीहरुको पनि परिवार छ । उनीहरुको पनि मन हुन्छ । आफ्नै जीवन छ । अरुका लागि लेख्दै गर्दा आफू कुन धरातलमा कसरी उभिएको छु भन्ने कुरा पत्रकारहरुले भुल्नुपर्ने बाध्यता छ । आफू खाई–नखाई अरुका लागि लेख्नुपर्ने, आफ्नो परिवारलाई भोकै राखेर अरुको परिवारले पाएको पीडा लेख्न हामी पत्रकारहरु विवश बनेका छौँ । आखिर कहिलेसम्म ?
हामीलाई पत्रकारितामा लाग्न अभिप्रेरित गर्ने पत्रकारहरुमध्ये धेरै जना अहिले विदेशिएका छन् । सायद, पछि उनीहरुलाई आत्मग्लानि पो भयो कि आफूले गर्दै आएको पेसाबाट, कि उनीहरुलाई हाम्रो देशको पत्रकारिता मन परेन वा गर्न सकेनन् या पत्रकारिता गर्न चाहेनन् ? वास्तविकता उनीहरुलाई नै थाहा होला । तर, पत्रकारितामा राम्रो दख्खल बनाएका पत्रकारहरु धमाधम पलायन हुनु दुःखद कुरा हो । एउटा राम्रो पत्रकार जन्माउन कति खर्च लाग्छ, अर्थात् एउटा दक्ष पत्रकार बनाउन कति समय लाग्छ ! त्यो कुरा सञ्चारगृहहरुलाई थाहा छ वा अग्रज पत्रकारहरुलाई थाहा होला । तर, यसरी राम्रो छवि बनाएर पनि नेपालमा टिक्न नसकेर पलायन हुने पत्रकारहरुको संख्या दिन प्रतिदिन बढ्दो क्रममा छ ।
यो देशका लागि र हाम्रो समुदायका लागि राम्रो कुरा होइन । नाम चलेका पत्रकारहरु दिन प्रतिदिन नेपालको भूमि छाडेर विदेशिँदै छन् । नेपालमा दक्ष जनशक्ति घट्दो क्रममा छ । नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्वसभापति कृष्ण भण्डारी भावुक अहिले जापानमा छन् । यस्तै, पूर्वकेन्द्रीय सदस्य विष्णु छिमेकी अहिले अमेरिका पुगेका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् विष्णु पौडेल अहिले डेनमार्कमा छन् । अन्य चितवनका दर्जनौँ पत्रकार मित्रहरु कोही अस्ट्रेलियामा छन् त कोही जापान पुगेका छन् । २०६२÷०६३ को जनआन्दोलनमा सक्रिय पत्रकारिता गरेका पत्रकार सुरेश रेग्मी अहिले अस्ट्रेलियामा छन्् । यस्तै, रेडियोमा काम गरेर राम्रो छवि बनाउन सफल भएका वासुदेव मरहठ्ठा, विष्णु प्रभात, दिक्पाल देव पंगेनी, अजित देवकोटालगायतका साथीहरु पनि विदेशमा नै छन् । पछिल्लो पुस्ताका युवा साथीहरुमा आशिष अधिकारी, नारायण सापकोटा, विजयराज अधिकारी, विकास अधिकारी, मिलन पराजुलीलगायतका सञ्चारकर्मी साथीहरु पनि अहिले विदेशिएका छन् भने अन्य दर्जनौँ साथीहरु विदेशिने तयारीमा छन् ।
पछिल्लो समयमा चितवनका स्थानीय सञ्चारमाध्यम भर्खरै कलेज अध्ययन गर्ने विद्यार्र्थीदेखि सिकारू साथीहरुले धानेका छन भन्दा फरक पर्दैन । चितवनका धेरैजसो सञ्चारमाध्यम भरतपुरमा मासकम्युनिकेसन अर्थात् पत्रकारिता विषय लिएर अध्ययन गर्दै आएका विद्यार्थीहरुले भरिएका छन् । यो क्रम सबैभन्दा बढी स्थानीय टेलिभिजन र रेडियोमा देखिएको छ । हुन त, कलेज अध्ययन गर्दै गरेका विद्यार्थीहरुका लागि यो सिक्ने राम्रो अवसर हो । तर, पुराना एवम् दक्ष पत्रकार एवम् सञ्चारकर्मीहरु पलायन हुँदै जाने र नेपालका सञ्चारगृहहरुमा सधैँ नयाँनयाँ अनुहार सिक्ने नाममा भर्ना हुँदै जाने हो भने नेपालको पत्रकारिता र सञ्चार क्षेत्रको अवस्था बलियो कसरी हुने ? प्रश्न यहाँनेर गम्भीर छ ।
दक्ष र सञ्चार क्षेत्रमा केही गर्न सक्ने आशलाग्दा सञ्चारकर्मी मित्रहरु धमाधम पलायन हुँदै जानु सञ्चार क्षेत्रका लागि निकै चिन्ताको विषय बन्नुपर्ने हो । तर, यो विषयमा त्यति खासै बहस, छलफल हुन सकेको छैन । केही पत्रकार साथीहरुले यो विषयलाई लिएर छिटफुट रुपमा आवाज उठाए पनि उनीहरुको आवाज कहीँकतै सम्बोधन हुन सकेको छैन । बिहानदेखि बेलुका अबेरसम्म काम गर्नुपर्ने हामीले काम गर्ने सञ्चारगृहहरुमा संस्कार नै बसेको छ । कर्मचारीहरुमा काम गर्ने समयको कुनै कार्यतालिका छैन । जतिखेर आवश्यक प¥यो एम्बुलेन्सजस्तो दौडाइहाल्ने, काममा लगाइहाल्ने संस्कारको विकासलाई चिर्न सकिएको छैन ।
चितवनका अधिकांश सञ्चार क्षेत्रमा काम गर्ने कर्मचारीको छुट्टी कहिले हो भन्ने यकिन छैन, परेको बेला साताभरि नै काम गर्नु परेको छ । न बिहान न बेलुका, काम परे बोलाएर लगाइहाल्ने संस्कारको विकास चितवनका सञ्चारगृहहरुमा माकुराको जालोजस्तै फैलिएको छ । अझै चितवनका केही स्थानीय टेलिभिजनहरुले त झन् कर्मचारीले बिहानको खाना खाएका छ कि छैनन् भन्नेसमेत हेक्का नराखी काममा लगाउने गरेको तीतो यथार्थ हामीसामु छ । काम गरेबापत् पत्रकारहरुलाई दिनुपर्ने सेवासुविधाप्रति सञ्चारगृहहरु त्यति जिम्मेवार बन्न सकेका छैनन् । हामीले काम गर्ने सञ्चारगृहहरु सरकारले निर्धारण गरेको मापदण्डसमेत मान्न तयार छैनन, र त अहिलेसम्म चितवनका कुनै पनि सञ्चारगृहले सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिकसमेत दिएका छैनन् । सकेसम्म भोलेन्टियरमा काम गर्दियोस् भन्ने सोचाइबाट हाम्रा सञ्चारगृहहरु पिल्सिएका छन् । नयाँ आउने साथीहरुलाई त तीनदेखि ६ महिनासम्म सिकाई अवधि भन्दै भोलेन्टियरमा नै काम लगाएका उदाहरणहरु प्रशस्तै छन् ।
श्रमजीवी पत्रकारहरुलाई सकेसम्म कम पारिश्रमिक दिएर धेरै काम लगाउने हाम्रो सञ्चारगृहहरुको विशेषता नै बनेको छ । श्रमजीवी पत्रकारहरुलाई सधैँ झुक्याउने कामसमेत चितवनका सञ्चारगृहहरुले गरेका छन् । श्रमजीवी पत्रकारहरुको कुनै सुरक्षा छैन । दिनदहाडै पत्रकारहरु कुटिने क्रम जारी छ । चितवनमा त्यस्तो ठूलो अप्रिय घटना अहिलेसम्म नभए पनि अन्य छिमेकी जिल्लाहरुमा भइरहेका घटनाक्रमले चितवनमा क्रियाशील श्रमजीवी पत्रकारहरुले पनि पूर्ण रुपमा सुरक्षाको प्रत्याभूति गर्न सक्ने स्थिति भने छैन, जसका कारण श्रमजीवी पत्रकारहरु धमाधम पलायन भइरहेका छन् । चितवनका सञ्चारगृहहरु पत्रकारिता सिकाइ केन्द्र (पाठशाला) मा परिणत हुँदैछन् ।
श्रम र उसको इमानदारिताको कदर नभएकै कारण कयौँ मित्रहरु सञ्चारमाध्यम छाडेर विदेशिने तयारीमा जुटेको सुन्दा पीडा लाग्नुपर्ने हो । तर इमानदारिताको फाइदा लुट्नेहरु पनि धेरै छन्, चितवनमा । श्रमजीवीको कुरा गर्नेहरु नै मिडिया सञ्चालकहरुसँग लुसुक्क जुँगा टाँसिएझैँ गरी आफ्नै श्रमजीवी पत्रकार साथीहरुको इमानदारितामाथि क्रिकेट खेल्ने पनि छन् । यहाँनेर सञ्चारमाध्यम अब्बल नबन्दा सबैभन्दा बढी श्रमजीवी पत्रकारहरु नै अत्यधिक पीडित छन् । यो प्रसंग कोट्याउँदै गर्दा रेडियो, टेलिभिजन, पत्रपत्रिका व्यावसायिक बन्न नसक्नु पलायन हुनुको एउटा मुख्य कारण देखिएको छ । सञ्चारमाध्यमहरु व्यावसायिक बन्न आवश्यक छ ।
जिल्लामा अहिले दुईदेखि तीनवटा रेडियो र एकदेखि अधिकतम दुईवटासम्म स्थानीय टेलिभिजन भए पुग्ने ठाउँमा झन्डै आधा दर्जन स्थानीय टेलिभिजन स्थापना भएका छन् । तीमध्ये सबैजसो रेडियो र टेलिभिजन व्यावसायिक बन्न सकेका छैनन । तर, अझै जिल्लामा रेडियो, टेलिभिजन खुल्ने क्रम रोकिएको छैन, होडबाजी नै चलिरहेको छ । कहिलेकाहीँ राजधानीलगायत अन्य जिल्लाका मित्रहरुले संख्यात्मक हिसाबले चितवनको स्थानीय टेलिभिजनका बारेमा जिज्ञासा राख्दा प्रतिउत्तर सुनेर दंग पर्छन् । सञ्चारगृहको विकास हुनु लोकतान्त्रिक देशमा राम्रै मानिए पनि त्यसको व्यवस्थापन फितलो होइन, वैज्ञानिक हुन आवश्यक छ । पैसा नकमाए पनि पत्रकारितामा इज्जत त छ नि भनेर सोच राख्नेहरुको समेत अभाव हुन थालेको छ । सञ्चारगृह व्यावसायिक बन्न नसक्दा त्यहाँ कार्यरत कर्मचारीदेखि श्रमजीवी पत्रकारहरु सबै अभावको जीवन जिउन बाध्य छन् । एकपछि अर्का सञ्चारकर्मी साथीहरु दक्षताको प्रमाण बोकेर पलायन हुने क्रम जारी छ । सक्ने युरोप र अमेरिका पुगेका छन् भने नसक्ने खाडी मुलुकमा गएर दक्षताको प्रमाण सिरानी राखेर सेक्युरिटी गार्डदेखि सेल्सम्यानसम्मको काम गरिरहेका छन् । धन्य मेरो सञ्चारगृह, धन्य मेरो श्रमजीवी पत्रकारिता !
लेखक, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ चितवनका अध्यक्ष हुन् ।)
Discussion about this post