ADVERTISEMENT
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

कमालका नेपाली कृषि योजनाकार

by चितवन पोष्ट
२०७० चैत्र १८, मंगलवार ००:५४ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रमेशकुमार पौडेल
केही समयअघि नेपालका लागि इजरायली राजदूत चितवन आए । भरतपुरमा उनले पत्रकारसँग भेटघाट कार्यक्रम राखे । नेपालको भन्दा विषम परिस्थिति, प्रतिकूल भू–बनोट र  पानीको अभावमा पनि कृषिमा इजरायलले गरेको गज्जबको प्रगति सुनाए, राजदूतले । इजरायलमा जम्मा तीन प्रतिशतले कृषि पेसा अँगालेका छन् । उनीहरुले गरेको खेतीले बाँकी ९७ प्रतिशतलाई पुग्ने मात्र होइन, विदेशमा समेत बिक्री गरिँदो रहेछ । क्या कमालको कृषि रहेछ त्यहाँ ! ८० प्रतिशत जनता कृषि पेसामा आबद्ध नेपालमा यहीँकालाई खान नपुगेर अरबौँको खाद्यान्न विदेशबाट ल्याउनुपर्छ, कस्तो विडम्बना !
इजरायली दूतको त्यो भनाइपछि मेरो दिमागमा निकै खल्बली चलिरह्यो । हैन, इजरायलको कुरो यहाँका नीति निर्माणकर्तालाई थाहा नभएको पनि होइन । अनि, यहाँ कृषि विकासको सम्भावना पनि नभएको होइन, तर खै किन मौलाएन त यहाँ खेती ? सायद, कृषिकर्मलाई उकास्ने योजनाकार नै रहेनन् होला यो देशमा भन्ने मेरो मनले ठान्यो । एकल सिलवालमार्फत एउटा पुस्तक हात प¥यो, ‘एक घर एक रोजगार’, जुन पढेपछि लाग्यो, होइन यहाँ उम्दा कृषि योजनाकार पनि रहेछन् । यस्ता योजनाकार जसले यमनमा कमाल देखाए, भारतमा धेरैको भरोसा जिते, थाइल्यान्डमा पनि थकाइ नमारी काम गरे । चीन पुगेर विकासका आवश्यक त¤व चिने ।
स्विट्जरल्यान्डमा पढे, नेपालका कुनाकन्दारामा पनि पुगे । उनी सरकारी अफिसमा काम गर्न जाँदा त्यो समाचार बनेर रेडियो नेपालमा बज्यो । पोखरामा तरकारी फलाए, फलेको तरकारी बेच्न सिकाए । उनी थिए प्रयागदत्त तिवारी, जो विसं १९८९ सालको असारमा तनहुँको च्यानडाँडा भन्ने ठाउँमा जन्मिएका हुन् । च्यानडाँडादेखि स्विट्जरल्यान्डसम्म उनको दौडाहा समेटिएको छ पुस्तकमा । अनि, जिरीदेखि सुरू भएको उनको जागिरे जीवनको धेरै समय भने विदेशी भूमिमा बित्यो, कृषिका योजनाहरु बुन्दै । उनका यी भोगाइ पढ्दै जाँदा भित्र प्रश्न उठेर आउँछ, होइन यत्तिका होनाहार मान्छे हुँदा पनि नेपालले उनको ज्ञानको उपयोग गर्न किन सकेन ? पुस्तकभित्र रहेका केही रोचक पक्ष यस्ता छन् ः
तिवारीकै नाममा खरबुजाको नामकरण ः
तिवारीले नेपालमा १७ वर्ष सरकारी जागिर खाए । त्यसपछि उनी यमनतिर लाग्छन् । संयुक्त राष्ट्रसंघको विश्व कृषि तथा खाद्य संगठन (एफएओ) को जागिरे भएर उनी यमन लागेका हुन् । उन्नत जातका बीउ पत्ता लगाएर कृषकलाई लगाउन सिफारिस गर्ने उनको काम थियो । ४५ डिग्री सेन्टिग्रेड तापमान हुने यमनको तोहामा भन्ने ठाउँमा उनी यसरी काममा खटे कि उनले नयाँ–नयाँ प्रजाति र बीउ किसानलाई दिन थाले । त्यो ठाउँमा छोडा खुब फल्थ्यो रे, तर बजार नपाएर किसान दिक्दार थिए । तिवारीले बजार अधिकृतको व्यवस्था गरेर किसानलाई परेको मर्का फुकाए ।
यसरी उनले किसानको मन जितेका थिए । छोडाको बीउ पनि राम्रा–राम्रा ल्याए । गर्मी हावापानी भएकाले उनको दिमागमा आयो, होइन यो ठाउँमा त खरबुजा खुबै हुन्छ होला ! उनले नयाँ जातको खरबुजा लगाए । खरबुजा उत्पातै फल्यो । सबै खरबुजा लगाउने, बेच्ने र कमाउने गर्न थाले । खरबुजा चुस्दै हिँड्नेहरु बाटो–बाटोमा देखिन थाले । यो देखेर तिवारी दंग थिए । त्यसैमाथि, त्यहाँकाले खरबुजाको नाम नै ‘तिवारी वाटरमिलन’ राखिदिएछन् । उनी झनै दंगदास हुने भए । उनले पाएको यो सम्मानले हाम्रो पनि छाती किन ठूलो नहोस् त, हैन ?
भारतको माओवादी प्रभावित क्षेत्रमा मनकारी काम ः
उनी भारतमा पनि काम गर्न आए, त्यो पनि कृषि योजनाकार नै भएर । कृषिका लागि राष्ट्रसंघीय अर्को निकाय कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइएफएडी अर्थात् इफाद) मार्फत उनी भारतको महाराष्ट्र र त्यसपछि आन्ध्रप्रदेश राज्यमा पुगेका थिए । आन्ध्रप्रदेश भारतमा नक्सलवादी भनेर चिनिएका सशस्त्र राजनीतिक समूह माओवादीबाट प्रभावित भएको क्षेत्र हो । सरकारले माओवादीलाई आतंककारी घोषणा गरेको थियो । तिवारीले काम गर्नुपर्ने क्षेत्र आदिवासी चेन्जु जातिको क्षेत्रमा थियो । चेन्जु माओवादीको प्रभावमा थिए । उनीहरुले जमिनदारका जग्गा कब्जा गरेका थिए ।
शिक्षा, स्वास्थ्य सेवा र कृषि विकासमार्फत ती चेन्जु समुदायलाई राज्यको मूलधारमा ल्याउने जिम्मा तिवारीको काँधमा थियो । चेन्जुमाथिको माओवादी प्रभाव हटाउने उद्देश्य पनि थियो । परियोजनाको नाम थियो, ‘ट्राइब डेभलपमेन्ट प्रोजेक्ट’ । कार्यक्रम गर्दा उनले माओवादीको कहिल्यै विरोध गरेनन् रे । चेन्जुहरुलाई कृषि कामका लागि ऋण चाहिए उनीहरु बैंक जान्थे । बैंकको प्रकृया झन्झटिलो थियो, जसका कारण उनी साहूको शरणमा पर्दथे । साहूले जग्गा हडप्ने नियतले ऋण दिन्थ्यो । कृषि व्यवस्थित थिएन, त्यसैले उनीहरु ऋणको भुमरीमा परेर घरखेत नै गुमाउँथे ।
तिवारीले ऋण लिने प्रकृयालाई एकदम सहज बनाए । कृषिको पूर्वाधार तयार भयो । शिक्षाका लागि विद्यालय र शिक्षकको प्रबन्ध भयो । सबै कुरा मिलेपछि खेती फस्टायो । चेन्जुको अवस्था फेरिएर आयो । तिवारीसँग माओवादी होइन, ब्याजका नाममा जग्गा लिन पल्केका स्थानीय साहू महाजनहरु पो रिसाए रे । आन्ध्रको कार्यक्रमबाट भारतका प्रधानमन्त्री मनमोहनसिंह पनि प्रभावित भए । त्यस्तै, योजनासहितको कार्यक्रम भारतका पूर्वोत्तर राज्यहरुमा पनि लैजान भनेका थिए रे ।
भारतको माओवादी प्रभावित क्षेत्रमा सफल योजना बनाएका तिवारी नेपालको माओवादी आन्दोलनको विषयमा पनि केही जान्न र समस्याको गाँठो फुकाउने कुरामा सहयोग गर्न चाहन्थे । उनी माओवादी प्रभावित क्षेत्रमा पनि नगएका होइनन् तर खै किन हो, उनको तत्परतालाई कसैले विश्वास गरेको देखिएन । पुस्तकमा उनले सुनाएको अनुभवले यही भन्छ ।
नेपालमा पनि हुनसम्म गरेका छन् ः
भारत, थाइल्यान्ड र यमनलगायत विदेशमा मात्रै होइन, स्वदेशमा पनि उनले निकै गरेका छन् । कृषिको विकासमा उनले खेलेको भूमिका के–के हो, पुस्तकमा सविस्तार छ । भोकमरी लागेको कर्णाली अञ्चलमा पुग्दो खाद्यान्न पु¥याउन उनले अपनाएको आपतकालीन व्यवस्था अचम्मको छ । पोखरालगायतका क्षेत्र जहाँ भारतबाट तरकारी आउँथ्यो, त्यहाँ तरकारी फलाउन उनले खेलेको भूमिका प्रशंसनीय छ । कृषिका लागि ट्याक्टर, ट्रक किन्दा को–कसले कमाउने नियत राखे ? त्यो नियत राख्नेहरुलाई उनले कसरी पन्छाए ? रोचक लाग्ने विवरणहरु पनि छन् पुस्तकमा । नेपालमा कृषि सामग्री संस्थानमा काम गर्दा उनका पालामा एक हजार थान ट्याक्टर र चार सय थान ट्रक किन्ने योजना बनाउँदा उनले आर्थिक लाभ लिन चाहने उच्चपदस्थहरुको सपनामा कसरी पानी खन्याए, त्यो रोचक हुने नै भयो । आँपको टोकरी लिएर बिनाकामको भुक्तानी माग्न आउनेलाई उनले आफैँ बोकेर खुरूक्क जाने भनेर हप्काए, जसलाई उनीभन्दा माथिल्ला अफिसरहरुको संरक्षण थियो ।
मातृवियोग भोगेका तिवारीले आमाको मृत्युको क्षणलाई यसरी सम्झेका छन् कि आँखा नै रसाएर आउँछ । शिक्षाका लागि उनले गरेको संघर्ष र संगत साँच्चीकै प्रेरणादायी छ । बाल्यकालको चञ्चलता, युवाकालको संघर्ष, जागिरे जीवनका आरोह–अवरोहहरुका साथै बुढौलीको दिक्दारी सबै अटाएको छ, पुस्तकमा । मिलन बगालेले तिवारीका अनुभवहरु पुस्तकमा उतारेका हुन् ।
अलपत्र एक घर एक रोजगार ः
पुस्तककै नाम नै ‘एक घर एक रोजगार’ रहेको छ । यसो हेर्दा यो पुस्तक रोजगार हुने कुनै विधि र कला सिकाउने पो हो कि भन्ने पनि लाग्न सक्छ । तर, यो ‘एक घर एक रोजगार’ तिवारीको अवधारणा हो, जसलाई उनले देश–विदेशमा भोगेको अनुभवका आधारमा नेपाललाई समुन्नत बनाउने सोचले व्यक्त गरेका थिए । भारतको महाराष्ट्र राज्यमा काम गर्दा देखे भोगेका अनुभवहरुलाई समेटेर उनले यो अवधारणा ल्याएका हुन् । तिवारीको प्रयासले सरकारी बजेटमा यो कार्यक्रम घोषणा त गरियो, तर कर्णाली अञ्चलका सबैलाई कार्यक्रमले समेट्नु पर्नेमा गरिबीको रेखामुनि भन्ने बाक्य थपियो । अनि, त्यस्ता समुदाय छुट्टयाउने कसले ? कार्यक्रम कार्यान्वयन नै भएन, अलपत्र प¥यो ।
अर्थात्, यो किताब पढेपछि मेरो मनमा सल्बलाएका निकै जिज्ञासाहरु एकपछि अर्को गर्दै आउने र बिलाउने हुन थाले । सारा नेपालको विकास र कृषिको उन्नति–अवन्नतिसँग जोडिएका छन्, पुस्तकका प्रसंगहरु । इजरायली राजदूतको कार्यक्रममा बसेपछि नेपालमा कृषि योजनाकार रहेनछन् क्या हो भन्ने जिज्ञासा पनि मेटियो, अनि पुस्तक पढ्दा योजनाकार भएर पनि किन विकास भएन ? अर्थात्, राम्रा योजनाकार यहाँ किन टिक्न नसकेका होलान् भन्ने जिज्ञासाहरु पनि पुस्तक पढ्दै जाँदा समाधान पनि भए । अर्थात्, यहाँ राम्रा मान्छे टिक्ने र राम्रा मान्छेका कुरा सुन्ने वातावरण रहेनछ ।

Related Posts

त्याग र भोगका कुरा (लक्ष्मणरेखा)

त्याग र भोगका कुरा (लक्ष्मणरेखा)

कम्युनिस्ट एक हुँदैमा कांग्रेस हार्दैन : कोइराला

गैँडालाई चरनको अभाव

योगमा सूर्य नमस्कार आसनको महत्त्व

योगमा सूर्य नमस्कार आसनको महत्त्व

Discussion about this post

अन‌ि यो पनि

भण्डारा दुर्घटना : बस चालकको मृत्यु, १५ घाइते
प्रमुख समाचार

भण्डारा दुर्घटना : बस चालकको मृत्यु, १५ घाइते

भरतपुर । पुर्वी चितवनको राप्ती-५ भण्डारामा मंगलबार राति बस र ट्रक ठोक्किँदा बस चालकको मृत्युु भएको छ ।  ट्रक चालक...

Read more
भण्डारामा बस र ट्रक ठोक्किँदा चालकहरु गम्भीर घाइते

भण्डारामा बस र ट्रक ठोक्किँदा चालकहरु गम्भीर घाइते

दुर्घटनाबाट मंसिरमा १३ जनाको मृत्यु : साँझको समयमा बढी दुर्घटना : ट्राफिक प्रहरी

सवारी दुर्घटनामा तीनको मृत्यु, १० जना घाइते

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In