नेपालमा स्वाइनफ्लुुको संक्रमणबाट बिरामीको मृत्यु हुन थालेपछि विशेषज्ञहरुले यससम्बन्धी सतर्कता अपनाउन सुझाव दिइरहेका छन् । स्वाइनफ्लुको संक्रमणबाट हालसम्म राष्ट्रिय योजना आयोगका सहसचिव भवकृष्ण भट्टराईसहित विभिन्न अस्पतालमा उपचारका क्रममा चार जनाको मृत्यु भइसकेको छ । स्वाइनफ्लु संक्रमित एक महिलालाई पनि भ्यान्टिलेटरमा राखेर उपचार गरिएको छ । यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका दुई प्राविधिकको स्वाइनफ्लुको आशंकामा उपचार भइरहेको छ । प्रयोगशालाले संक्रमणको खतराबाट रोक्न सबै कर्मचारीलाई एन्टिभाइरल औषधि ‘टमीफ्लु’ इन्जेक्सन दिइएको छ । दुई साताअघि मात्रै भक्तपुरमा ६ जनामा स्वाइनफ्लुको संक्रमण भेटिएको थियो । सरकारले स्वाइनफ्लुको संक्रमण पुनः देखिएपछि उच्च सतर्कता अपनाउन मातहतका निकायहरुलाई निर्देशन दिइसकेको छ । संक्रमण बढ्दै गएपछि भाइरसको संरचनामा समेत परिवर्तन आउने सम्भावना भएकाले उपचारमा विशेष ध्यान दिन विज्ञहरुले सुझाव दिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दैनिक स्वाइन परीक्षण गराउने ५ मध्ये १ जनामा संक्रमण देखिएको छ । भाइरसले गराउने एक प्रकारको रूघा नै फ्लु हो । स्वाइनको लक्षण निमोनियासँग मिल्दोजुल्दो भएकाले यसलाई जटिल निमोनियासमेत भन्ने गरिन्छ । स्वाइनफ्लुलाई एच–१ एन–१ भाइरसको नामले चिनिन्छ । यो पनि इन्फ्लुएन्जा भाइरसकै एउटा जाति हो । बर्डफ्लु पनि एच–५ एन–१ इन्फ्लुएन्जा भाइरस हो । यी दुई भाइरसको जात र गर्ने असर पनि समान पाइन्छ । सन् २००९ मा संसारका थुप्रै मुलुकहरुमा एकैपटक स्वाइनफ्लुका बिरामी देखा परेका थिए । मेक्सिकोबाट सुरू भएको संक्रमण प्रकोपका रुपमा फैलिएर अमेरिका, दक्षिण अमेरिका हुँदै युरोप र एशियासम्म आइपुगेको थियो । स्वाइनफ्लुको संक्रमणका कारण संसारभर १८ हजारभन्दा बढीको मृत्यु भएको थियो । त्यतिबेला नेपालमा यो भाइरसको संक्रमणबाट ४० जनाको ज्यान गएको थियो । २०१० को अगस्तमा विश्व स्वास्थ्य संगठनले स्वाइनफ्लुको प्रकोप सकिएको घोषणा गरेको थियो ।
सामान्य रूघाखोकी भाइरल संक्रमणभन्दा स्वाइनफ्लुको लक्षणमा खासै भिन्नता नहुने विज्ञहरुको भनाइ छ । स्वाइनफ्लुमा ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्ने, जीउ दुख्ने, टाउको दुख्ने, रुघा लागिरहने आदिजस्ता लक्षण देखिन्छ । स्वाइनफ्लुबाट दमजस्ता फोक्सोसम्बन्धी रोग भएका वृद्ववृद्वा, मधुमेहजस्ता दीर्घ रोगबाट ग्रसित व्यक्ति, गर्भवती महिला, पाँच वर्षभन्दा मुनिका बालबालिका र रोगप्रतिरोधात्मक क्षमता कम भएका बिरामीहरुलाई यो रोगको जोखिम उच्च रहन्छ । प्रायः संक्रमणमा साधारण रुघाको जस्तो लक्षणमात्र देखिएर यो रोग निको हुने गर्छ । कसै–कसैमा यसका जटिलताहरु देखिएर ज्यानै जाने संभावना पनि रहन्छ । यसको लागि ‘एन्टिभाइरल ओसेल्टामिभिर’ औषधिको प्रयोग गर्न सकिन्छ । सामान्य संक्रमणमा भने औषधि सेवन गर्नु पर्दैन । स्वाइनफ्लुबारे समयमै उच्च सतर्कता अपनाउन सके प्रकोपको रुपमा फैलिनुअघि नै नियन्त्रण गर्न सकिन्छ ।
Discussion about this post