रत्ननगर । विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि चितवनमा विद्यालय गाभिने प्रक्रिया सुरू भएको छ ।
जिल्लामा पहिलो पटक माडीको कल्याणुर गाविस–५ मा रहेको राप्रावि जनकल्याण कीर्तनपुरलाई जनकल्याण माविमा गाभिएको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बताउनुभयो ।
पचास जना विद्यार्थी रहेको राप्राविलाई दुवै विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार गाभिएको हो । आगामी शैक्षिकसत्रबाट जनकल्याण माविलाई उच्च मावि बनाउनका लागि गाभ्ने निर्णय भएको जनकल्याण राप्राविका प्रधानाध्यापक यमनाथ सुवेदीले बताउनुभयो ।
शिक्षा कार्यालयका अनुसार जिल्लाका कुनै एक कक्षामा १२ जना विद्यार्थीभन्दा कम भए विद्यालय गाभ्नुपर्ने हुन्छ । उक्त राप्राविमा कक्षा १ देखि ३ सम्म १२ जनाभन्दा कम विद्यार्थी छन् । सो कारणले पनि विद्यालय गाभ्न जरुरी भएको शिक्षा अधिकारी रमाकान्त शर्मा बताउनुहुन्छ । यस वर्ष शिक्षा कार्यालयले चितवनका चार वटा विद्यालयलाई समायोजनका लागि पत्राचार गरेको छ ।
पहाडी गाविसको हकमा भने यो लागू छैन । पहाडमा विद्यालय जान घण्टाँै लाग्ने भएकाले सहरी क्षेत्रमा प्रतिकक्षा १२ जनाको मापदण्ड राखिएको छ । चितवनमा हाल प्रावि २२२, निमावि ७२, मावी ९३ लगायत गरी निजी र संस्थागतमा कुल ५५९ विद्यालय छन् ।
जसमा एक लाख ६३ हजार विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यार्थीको शैक्षिक नतिजामा वृद्धि गरी जिल्लाकै शैक्षिक विकासका लागि पनि समायोजन जरुरी देखिएको छ । यसैबीच शिक्षा कार्यालयले विद्यालयको नामको अगाडि सहयोगदाताको नाम आफू खुसी नराख्न र कार्यालयको स्वीकृतिमा मात्र नाम फेर्न निर्देशन दिएको छ ।
Discussion about this post