–बसन्त पराजुली
कसरा । चितवन राष्ट्रिय निकुञ्जले फायर लाइन बनाउने कार्यलाई तीव्रता दिएको छ । निकुञ्ज क्षेत्रभित्र डढेलोको क्षति न्यूनीकरण गर्न फायर लाइन बनाउन लागिएको हो ।
‘कतिपय स्थानमा भइरहेका पुराना सडकहरुले फायर लाइनको काम गरिरहेका छन् भने कतिपय स्थानमा नयाँ फायर लाइन बनाएर पनि आगो रोक्ने प्रयास गरिएको छ’, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवरले भने, ‘विशेषतः एक ठाउँको आगो दोस्रो ब्लकमा नजाओस् भनेर विशेष सर्तकता अपनाइएको छ ।’ निकुञ्ज क्षेत्रलाई विभिन्न ब्लकमा विभाजन गरी अग्नि नियन्त्रणको प्रयास गरिएको छ’, कुँवरले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्जभित्रको घाँसे मैदान व्यवस्थापनका लागि स्वयम् निकुञ्ज प्रशासनले आफै बेला–वेलामा आगो लगाउने गर्छ । चोरी शिकारीले पनि विभिन्न बहानामा निकुञ्जभित्र आगो लगाउँछन् । निकुञ्ज क्षेत्रभित्र हिँडडुल गर्ने मानिसले चुरोट खाएर फाल्दा पनि त्यसले डढेलोको रुप लिने गरेको पाइन्छ । यस्ता विविध कारणले गर्दा डढेलो नियन्त्रणमा आउन नसक्दा निकुञ्जभित्रका वन, वन्यजन्तु, वनस्पति र सरिसृपलाईसमेत गम्भीर प्रभाव पर्ने गरेको थियो । यही असरलाई मध्यनजर गरेर निकुञ्जले निकुञ्जभित्र आगो नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिएको हो ।
निकुञ्ज प्रशासनले दिएको जानकारीअनुसार अहिले बनाइएका फायर लाइनहरु विशेषतः उत्तर–दक्षिण क्षेत्रलाई जोड दिइएको छ । पाँच–पाँच किलोमिटरको फरकमा फायर लाइन बनाइएको छ । भिम्ले, सुकेभार, कसरा, घटगाइ, जर्नेलीलगायत क्षेत्रमा फायर लाइन बनाइएको हो ।
‘यसरी बनाइएका फायर लाइनबाट सुक्खायाममा आगो नियन्त्रणका लागि सहयोग पुगोस् र अरु समयमा गस्तीका लागि हिँडडुल गर्न सजिलो होस् भनेर विशेष ध्यान दिइएको छ । फायर लाइन बनाउँदा निकुञ्ज वरपरका नदीहरु, सडक, ताल तलैया आदिलाई पनि ध्यान दिइएको छ ।
नयाँ बनाइएका उत्तर–दक्षिण फायर लाइन भए पनि पुराना फायर लाइनहरुलाई पनि निकुञ्जले सुधार गरिरहेको छ । विशेषतः टेम्पल टाइगरदेखि कछुवानीसम्म वनकट्टादेखि गौर मचानसम्म, सुकेभारदेखि कसरासम्म, सुकेभारदेखि वनकट्टासम्मका क्षेत्रमा रहेका पुराना फायर लाइनहरुलाइ पनि सुधार अवस्थामा राखिएका हुन् ।
गर्मी बढेसँगै सुरु भएको सुक्का समयमा जङ्गलमा सुकेका पात पतिङ्गरहरुमा परेको सानो आगोका झिल्कोले पनि वनमा डढेलोको रुप लिने गरेको छ । कतिपय अवस्थामा निकुञ्जबाट निस्किएको डढेलोले निकुञ्ज वरपर रहेका बस्तीहरुमा पनि आगो लाग्ने गरेका उदाहरणहरु प्रशस्त भेटिन्छन् ।
निकुञ्जले अहिले बनाएको फायर लाइनहरुले निकुञ्जका जनावर, वनस्पति र सरिसृपहरुको संरक्षणमा विशेष जोडदिएको पाइन्छ । निकुञ्ज संरक्षणका लागि योजना फाँटका सहायक संरक्षण अधिकृत विष्णु थपलिया पनि निकुञ्जभित्रको डढेलो नियन्त्रण गर्नु आवश्यक ठान्छन् ।
‘निकुञ्ज आफैले लगाउने आगोलाई आफै नियन्त्रणमा लिन सक्ने गरी लगाइएको हुन्छ । तर वन क्षेत्रमा फैलिएको आगोले डढेलोको रुप लियो भने त्यसले क्षति बढी गर्ने भएकाले पनि समयमै सर्तकता अपनाउन जरुरी छ’, थपलियाले भने ।
वन मन्त्रालयले निकुञ्जभित्रको डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रणका समानसमेत उपलब्ध गराउँदै आएको छ । गैँची, सावेल, ग्लोवस्, पानी ट्याङ्कीलगायतका बस्तुहरु पनि निकुञ्जले प्राप्त गरेको छ ।
Discussion about this post