ईश्वर कँडेल
भूपिन नेपाली भाषाका कवि तथा निबन्धकार हुन् । उनी प्रकृतिप्रेमी कवि हुन् । स–साना कुराहरुमा कला देख्ने उनी अरुले बेवास्ता गरेर हिँड्ने आफ्ना वरिपरिका चीजहरुमा आँखा लगाउँछन् । फोटो खिच्छन् अनि त्यस्ता फोटोमा मीठा र सुन्दर कविता लेख्छन् । उनको कविता पढेपछि आउने आनन्दले पाठकलाई अति नै मोहित पार्छ्र । उनको ‘हजार वर्षको निद्रा’ कवितासङ्ग्रह र ‘चौबिस रिल’ निबन्धका उत्कृष्ट कृतिहरु हुन् । उनि सर्वसाधारणले नदेख्ने कुराहरुलाई आफ्नो विषयवस्तु बनाउन रूचाउँछन् । उनले हालसालै ‘काटिएको रुखमा’ लेखेको कविता सारै बेजोडको छ । उनी रुख, खोला, पहाड अनि भीर, पखेरालाई जीवन्त बिम्ब देख्छन् ।
सिकर्मी भाइ,
धारिलो आराले चर्चर चिरेर मेरो मेरूदण्ड
मेरो खस्रोपनमा रन्दा लगाएर
यति तन्मयले
तिमी के बनाइरहेछौ ?
प्राकृतिक बिम्ब लिएर समाजलाई पाठ सिकाउन सिपालु कवि भूपिनमा उनको प्राध्यापन पेसा कतै न कतै झल्किन आउँछ ः
सिकर्मी भाइ,
एउटा जरासम्म छोडिदिएको भए पनि त
म फेरि उठ्थेँ जुरूक्क हावामा
भत्काउथेँ तिम्रो गरिबीलाई गिज्याउने
मालिकको भवनको अटेरी भित्तो
एउटा बूढो रुखलाई काटेर टुक्रा–टुक्रा पारेर लडाइराखेको देख्दा रुखको काटिएको भाग र दाउराको थुप्रोमा कलाकारिता देख्ने कवि भूपिन आफू बूढो रुख भनी आफूलाई सही प्रयोग गरिदिन सिकर्मी भाइलाई यसरी निवेदन गर्छन् ः
मेरा हाँगा र बलियो शरीर ताछेर
स्कुलका नानीहरुलाई कुर्सी बनाऊ
गरिबका झुपडीलाई खाँबो बनाऊ
किसानहरुका लागि हलो बनाऊ
मजदुरका मेसिनहरुका लागि बिँड बनाऊ
वृद्धहरुका लागि लाठी बनाऊ
र, तिम्रा लागि
एउटा गतिलो हतियार बनाऊ ।
दुई दशकभन्दा अघिदेखि सुरू भएको उनको कविता लेखन वर्तमान अवस्थामा आएर धेरै खारिएको देखिन्छ । कविता लेखनमा आफ्नो प्रस्ट धारणा राख्न रूचाउने कवि भूपिन स्पष्ट वक्ता पनि हुन् । साहित्यमा मोलाहिजा गर्नुहुन्न र कविता तथा कुनै साहित्यिक कृतिमाथि आफ्नो विचार राख्नुपर्दा लेखक तथा कविको स्तुतिगान गर्नुहुन्न र कृतिमाथि आफ्नो प्रस्ट विचार कारणसहित राख्नुपर्छ भन्ने विचार बोकेका कवि भूपिन कति ठाउँमा प्रस्ट बोल्दा ताली र गाली दुवै पाउँछन् ।
हिँड्दाहिँड्दै बाटोले बटुवाका पाइलाहरु भेट्छ
चराहरु उड्दाउड्दै प्रेमका गीतहरु बन्छन्
मलाई पनि जीवनका सिमानाहरुभित्र
उडिरहनुछ, हिँडिरहनुछ र बगिरहनुछ ।
(एउटा प्रतीक्षाको विपक्षमा)
कवि भूपिन समाजमा देखिएका कुरीति र विसङ्गतिमाथि पनि कलम चलाउन सिपालु छन् । उनी स्वतन्त्रताका पूजारी होइनन्, बरू स्वतन्त्रता व्यक्तिको जन्मसिद्ध अधिकार हो भन्ने ठान्छन् । उनी आमा भन्ने शब्दसँग नजिकिन्छन् । ‘आमा’ शीर्षकमा कविता पनि कोरेका छन् । उनले आफ्नो जीवन पाउन आमाको ठूलो देन भएको कुरा उनी बिर्सन नपरोस् भन्छन् । प्रेमका बेजोड कविता लेख्ने कवि भूपिन प्रेम एक नमेटिने छापजस्तो सम्झन्छन् । प्रेमिल पलहरु सपनामा बढी र बिपनामा कम महसुस गर्छन्, कवि ः
तिम्रो प्रतीक्षामा जीवनभरि भोगेका
भीषण यातनाहरुलाई
सबैभन्दा मन पर्ने गीत बनाउन बाँकी नै छ्र
(एउटा प्रतीक्षाको विपक्षमा)
भूपिन आफ्ना कविताको साधना गर्दै बिर्सिएकाहरुको आवाज बुलन्द पार्न औधी सिपालु छन् । उनी सच्चा प्रगतिवादी कवि हुन् । उनी आफूलाई नारामा मात्र सीमित राख्न सक्दैनन् । उनका कवितामा उनी सीमान्तकृत र गल्ती गरेर भुल्न खोजेका कुराहरु आफ्ना सशक्त कविताबाट व्यक्त गरी कविको धर्म राम्रोसँग पालन गर्छन् ।
कवि लालबहादुर परियारले
खोलाको बगरमा
कसरी कटाए त्यो दिन रूँदैरूँदै
पट्पटी फुटिरहेका टाउकाहरुबीच बसेर
कसरी गाडिन् मेघिया थरुनीले
मरेका बच्चाहरुलाई
जीवनमा सबैभन्दा बडी निर्मम भएर
रोकिन चाहेर पनि
कसरी बगिरह्यो बाँदरमुडे खोला
दुख्दै–दुख्दै उँधोतिर ।
पोखरादेखि विशेषगरी आफ्नो कवितायात्रा सुरू गरेका कवि भूपिन आफ्नो गन्तव्य आफैँ खोज्दै धेरै लामो यात्रा तय गरिसकेका छन् । उनी कहिले पनि नथाक्ने गण्डकीजस्तै छन् । ज्यादा समय आफ्नो छोरा र जीवनसँगीसँग बिताउन चाहने भूपिनलाई नारायणी नदीको किनारमा बसेर पानीसँगै जीवनको लामो यात्रा तय गर्न र माछाजस्तै निर्मग्न सत्य र तथ्यमा बाँच्न सक्नु नै जीवन लाग्छ ।
महाकबि लक्ष्मीप्रसाद देवकोटा, कवि भूपि शेरचन, कवि तथा उपन्यासकार सरुभक्त, कवि तीर्थ श्रेष्ठहरुलाई आफ्नो आदर्श पुरूष मान्ने कवि भूपिनको काव्यिक यात्रा आउँदा दिनहरुमा सहज र सफल बनोस् । मेरो यही शुभकामना !
Discussion about this post