स्वयम्भुनाथ कार्की
आफैँले बोलेर रेकर्ड गराएको आधारमा तैयार गरिएको पुस्तक ‘विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त’ मा बीपीको आफैसँग पनि निरपेक्ष रहेर भरसक सत्यतथ्य कुरा अगाडि ल्याउने प्रयत्न सा“च्चै नै अतुलनीय छ । संकलक गणेशराज शर्माका अनुसार यो रेकर्डिङको समयमा बीपीले जसरी, जुनसुकै क्रममा बोल्दा सहज होला भनेर केही कुरा पनि पहिल्यै तय गरिएको थिएन । दैनिक औसत एक घन्टाको रेकर्डिङमा कहिले अघिल्लो दिनको सन्दर्भ पनि जोडियो होला भने कहिले सन्दर्भ फरक पनि प¥यो होला । करिब छ महिनामा लगभग पौने दुई सय वा दुई सय घन्टाका यी टेपहरुलाई पुस्तकमा उतार्ने काम गर्दा संकलकको विवेकको पनि हात रहेको पक्का होला ।
यस पुस्तकमा बीपीले बोलेका सबै कुरा अवश्य पनि अटाएका छैनन् । तैपनि, संकलक पेसाले कानुन व्यवसायी भएको क्षमता प्रयोग भने गरेका छन् । त्यसैले, कुनै कुरा उल्लेख हुन छूट भएको जस्तो भने लाग्दैन । यसमा बीपीको व्यक्तित्व तथा जीवनमा प्रभाव पार्ने पात्रहरु पनि छन् । ती पात्रहरु कतिपयसँग बीपीको सम्बन्ध अनौठो देखिन्छ । अरुले फलानासँग त यस्तो सम्बन्ध होला भनेर अनुमान गरेकोमा स्वयं बीपीको भोगाइ फरक देखिन्छ । यस्तै एक पात्र हुन् जवाहरलाल नेहरू, जोसँगको सम्बन्धमा बीपी आफैँ पनि कहिलेकाहीँ भ्रमित भएका देखिन्छन् ।
जयप्रकाश नारायणसँग बीपीको राम्रो सम्बन्ध थियो । यो सम्बन्ध बराबरीको आधारको नभएर नेता र प्रशंसकको जस्तो भएको छनक धेरै ठाउँमा पाइन्छ । त्यो स्वाभाविक पनि थियो । जयप्रकाश समाजवादी आन्दोलनका अग्रणी थिए । गान्धी विचारधारासँग समाजवादीहरुको मतभेद भए पनि एकअर्काको सम्मान थियो । गान्धीको तर्फबाट नेहरूको जयप्रकाशसँग कुराकानी भइरहन्थ्यो ।
परिच्छेद ८ मा बीपी भन्छन् ‘गान्धीवादी र समाजवादीहरुमा मतभेद थियो र त्यो मतभेद पछिसम्म रह्यो ।’ तर, समाजवादीहरु गान्धीजीलाई आदर गर्थे, नेता मान्दथे । नेहरू पनि बीचबीचमा जयप्रकाशसँग कुरा गर्न गइरहन्थे । यो कुरा बीपीलाई मन परेको थियो । यसरी नेहरूले बीपीलाई सबैभन्दा पहिले जयप्रकाशको चेलाका रुपमा हेरेको हुनुपर्दछ । अझ, जर्मनीबाट फर्केका राममनोहर लोहियालाई नेहरूले कांग्रेस पार्टीको विदेश विभाग हेर्न दिएका थिए, जो पछि सोसलिस्ट पार्टीका शीर्षस्थ नेता तथा विदेश सचिव पनि भए । यी लोहियासँग बीपीको दौँतेरी सम्बन्ध रहेको महसुस हुन्छ ।
विश्वयुद्धको बेलामा नेहरूले पठाउन खोजेको इन्टरनेसनल बिग्रेडमा जान बीपीले नेहरूसँग अनुरोध पनि गरेका थिए । कुशाग्र बीपीको व्यक्तित्वले नेहरूलाई अवश्य प्रभावित गरेको हुनुपर्दछ । सायद, उनी इन्टरनेसनल बिग्रेडमा पनि चुनिन्थे होला, तर त्यो बिग्रेड नै गएन । जब पार्टी गठन भैसकेपछि बीपी थुनिए अनि गान्धीको आग्रह वा दबाबमा थुनामुक्त भएर भारत आए, त्यस बेलादेखि नेहरूले बीपीलाई सोसलिस्ट पार्टीको कार्यकर्ताभन्दा ज्यादा नेपालको नेताको रुपमा हेर्न थालेको छनक पाइन्छ । त्यस पटक बीपी छुट्नुमा गान्धीको भूमिका थियो भन्ने कुरा परिच्छेद १४ मा पद्म शमशेरले ‘मैले गान्धीले भनेको आधारमा तपाईंलाई छोडेको होइन, मैले आफ्नै निर्णयबाट तपाईंलाई छोडेको थिए“’ भन्नुले पनि जनाउँछ । परिच्छेद १९ मा केदारमान व्यथित र होराप्रसाद जोशीलाई पद्म शमशेरले नै बीपीको पार्टीमा लाग भनेर पठाएको र आफ्नो पूरा सहानुभूति बीपीलाई भएको पनि उल्लेख गरेको प्रसंग छ ।
त्यसैले, जब पद्म शमशेर राजकीय भ्रमणमा भारत आए, उनको कुराबाट नेहरूले बीपीको नेपालमा मह¤व बुझेका थिए । बीपी जयप्रकाश नारायणको सहयोगी, सोसलिस्ट पार्टीको सक्रिय सदस्यबाहेक छिमेकी नेपालको पनि एक असरदार व्यक्ति भएको उनलाई महसुस भयो । त्यसैले त उनले बीपीलाई भने– ‘म त उनलाई (पद्म शमशेर) दबाब दिँदैछु, जाऊ भनेर । उनी रहे तिमीहरुलाई सजिलो हुन्छ, ती हटे भने त गाह्रो हुन्छ । त्यसो हुनाले तिनीहरुलाई केही न केही आश्वासन दिइकन तिमीहरुले फर्काउनुपर्छ ।’
तर, बीपी र नेहरुको संयुक्त प्रयत्नले पनि पद्म शमशेरलाई नेपालमा रोक्न सकिएन । यदि त्यसो भएको भए नेहरूको के मनोकांक्षा पूर्ण हुनेथियो ? नेपाली राष्ट्रिय कांग्रेस र नेपाली डेमोक्रेटिक कांग्रेस एकीकरण हुनेथियो वा थिएन ? त्यो अनुमानको भरमा मात्र भन्न सकिने कुरा हैन । पद्म शमशेरसँगको भेटमा बीपीले उनलाई असाध्यै डरछेरूवा देखेका थिए । यस्तो मान्छेले पनि के गर्न सक्छ भन्ने भावना नेहरूसमक्ष राखेका थिए ।
जब बीपी मोहन शमशेरको असाध्यै कष्टदायक थुनामा थिए, त्यसबेला उनले नेहरूलाई चिठ्ठी लेखेका थिए । परिच्छेद २४ मा वीपी भन्छन्– ‘त्यही चिठ्ठी लिएर किसुनजी सायद, र बालचन्द्र गएका छन् जवाहरलालजीनेर । जवाहरलालजी त्यो पढेर रोएका छन् ।’ नेहरूको व्यक्तित्व कस्तै पनि कारूणिक चिठ्ठी पढेर रूने किसिमको थिएन, साथीहरुले भनेकाले बीपीलाई यो सत्य लागेको हुन सक्छ । तर जे होस्, जयप्रकाशसमेतको प्रयत्नमा नेहरूको दबाबमा मोहन शमशेर बडो कठिनाइपूर्वक बीपीलाई छोड्न बाध्य भए ।
‘तिमीलाई छाड्दा तिमीलाई लाग्दो हो, जवाहरलाल नेहरूको दबाबले छोडेको हो । मैले कसैको दबाबबाट छाडेको होइन । बाहुनको छोरा मर्न थाल्यो भनी डाक्टरले भनेकाले छाडेको हु“’– मोहन शमशेरको यो अभिव्यक्ति नै उनलाई छोड्न नेहरूको चर्को दबाब थियो भन्ने बलियो प्रमाण हो ।
यस्तो सहयोगी सम्बन्ध हु“दाहु“दै पनि सम्बन्ध राम्रो रहन सकेन । पछि नेहरू र बीपीबीच मतभेदहरु आएका प्रसंगहरु छन् । त्यसका बारेमा भिन्नै आलेख हुनेछ । त्यसैले, नेहरू र बीपीको सम्बन्धलाई अनौठो भनिएको हो ।
Discussion about this post