गृह » भारतको आमनिर्वाचन अप्रिल ७ देखि गर्ने प्रस्ताव
विश्व

भारतको आमनिर्वाचन अप्रिल ७ देखि गर्ने प्रस्ताव

    नयाँदिल्ली । भारतको आमनिर्वाचन आगामी महिना, अप्रिलको ७ तारिखदेखि गर्न प्रस्ताव गरिएको छ । निर्वाचन आयोगले सो मिति प्रस्ताव गरेको बताइएको छ ।
निर्वाचन आयोगले सो निर्वाचन नौ चरणमा गर्नेगरी प्रस्ताव अघि सारेको जनाइएको छ । उक्त निर्वाचन अप्रिल ७ देखि सुरू भएर मे महिनाको १२ तारिखसम्म गरिने छ ।
बुधबार भारतको निर्वाचन आयोगले सो प्रस्ताव गरेको समाचारमा जनाइएको छ । भारतीय राजधानी नयाँदिल्लीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रमुख निर्वाचन आयुक्तले सो जानकारी दिनुभएको हो ।
उक्त निर्वाचनमा भारतका कम्तीमा पनि ८१ करोड ४० लाख नागरिकले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगका अनुसार यस निर्वाचनमा गत निर्वाचनको भन्दा बढी मतदाता रहेका छन् ।
यसअघिको आमनिर्वाचन सन् २००९ मा भन्दा यस निर्वाचनमा भारतमा एक करोड मतदाता बढेका पनि सो समाचारमा जनाइएको छ ।
उक्त निर्वाचनको मत परिणाम भने आगामी मे १६ सम्ममा घोषणा गरिसक्ने तयारी निर्वाचन आयोगले गरेको बताइएको छ ।
पहिलो चरणको निर्वाचन आगामी अप्रिल महिनाको ७ तारिखमा हुनेछ– भारतका प्रमुख निर्वाचन आयुक्त भी. एस. सम्पाथले बुधबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।
सो निर्वाचनका क्रममा निष्पक्षता, सन्तुलन एवम् स्वतन्त्र रुपमा काम गर्ने वातावरणको निर्माण गर्ने काममा सघाउन उहाँले आग्रह पनि गर्नुभयो ।
उहाँले विशेषगरी संयमता अपनाउन तथा निर्वाचनको वातावरण सिर्जनाका लागि सबै राजनीतिक दललाई पनि आग्रह गर्नुभयो । निर्वाचनका लागि सबैतर्फ गरी नौ लाख ३० हजार निर्वाचन केन्द्र स्थापना गरिने जानकारी उहाँले दिनुभयो ।
उहाँले गत निर्वाचनमा भन्दा यसमा एक करोड बढी मतदाता भएकाले यस पटकका लागि मतदान केन्द्र र मतदाता कर्मचारीहरु पनि बढी राखिएको जानकारी दिनुभयो ।
विभिन्न नौ चरणमा गरिने ती निर्वाचनका समयमा देशको मौसमी अवस्था, खेतीपातीको समय, विद्यालय विश्वविद्यालायको बिदाजस्ता विषयलाई पनि ध्यानमा राखिएको जानकारी पनि उहाँले दिनुभयो ।
भारतमा भारतीय कांग्रेस पार्टीले यससमेत गरी दुई पटकसम्म सरकारको नेतृत्व गरेको छ । तर, यसपटक भने उसले नयाँ संसद्मा बढी मत प्राप्त गर्नसक्ने जस्तो देखिएको छैन ।
आगामी संसद्मा भारतको हालको प्रमुख विपक्षी दल भारतीय जनता पार्टीले नै नेतृत्व गर्नसक्ने अनुमानहरु गरिएका छन् । यद्यपि, सो दलले पनि स्पष्ट बहुमत हासिल गर्न भने नसक्ने पनि आमजनमानसमा चर्चाको विषय हुने गरेको छ । रासस÷एएफपी

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment