गृह » भरतपुर अस्पतालको पिउने पानीमा दिसा 
प्रमुख समाचार

भरतपुर अस्पतालको पिउने पानीमा दिसा 

–दिपेन्द्र अधिकारी
भरतपुर । भरतपुर अस्पतालको पिउने पानीमा अत्यधिक मात्रामा ‘कोलिफर्म’ नामक घातक व्याक्टेरिया भेटिएको छ । शुद्ध भनिएको पिउने पानीमा कोलिफर्मको मात्रा शून्य हुनुपर्छ अर्थात् कोलिफर्म हुनुहुन्न । तर, भरतपुर अस्पतालको ‘बी’ ब्लकमा वितरण हुँदै आएको पिउने पानीमा कोलिफर्म भेटिएको छ । प्रयोगशाला रिर्पोटले भनेको छ, ‘पानी पिउन योग्य छैन ।’ टोटल र फेकल गरी दुई प्रकारको कोलिफर्म हुन्छ । अस्पतालमा टोटल कोलिफर्मको प्रयोगशाला परीक्षण भएको थियो । परीक्षणपछिको नतिजा निकै डरलाग्दो आयो । जम्मा ४० एमएल जति पानी परीक्षण गर्दा चार प्रकारका व्याक्टेरिया १६ सय संख्यामा फेला परे ।
ई–कोली, क्लेबसिला स्पेसिज, सुडोमोनस अरूगोनिसा र एसिनेटो व्याक्टर स्पेसिज फेला परेको परीक्षण रिर्पोटमा उल्लेख छ । जसमध्ये इचेरिकिया कोली मानिसको ठूलो आन्द्रामा भेटिने व्याक्टेरिया हो । माघ २४ गते पानीको नमूना संकलन गरी माघ २८ गते आइतबार प्रयोगशाला रिर्पोट सार्वजनिक भएको थियो । तत्काल पानी शुद्धिकरणमा लाग्न रिर्पोटमा सुझाव दिइएको छ ।
पानी पूर्ण अशुद्ध

दिसा नै बाहिर देखिएको ट्यांकीनजिकै पिउनेपानीको ट्यांकी । र, साथमा प्रयोगशाला परीक्षण रिर्पोट ।

कोलिफर्म चेक गर्दा भेटिएको रिर्पोट अध्ययनपछि क्षेत्रीय पानी परीक्षण प्रयोगशाला भरतपुरका केमिस्टहरुले रिर्पोटअनुसार पानी पूर्ण अशुद्ध रहेको बताए । ‘पानीमा दिसा रहेछ भन्ने रिर्पोटले देखाउँछ’, प्रयोगशालाका एक केमिस्टले भने,‘कोलिफर्म शून्य हुनुपर्छ, अर्थात् कोलिफर्म हुनुहुन्न तर यहाँ ई–कोली नामक घातक व्याक्टेरिया नै भेटिएको छ ।’ ठूलो आन्द्रामा हुने व्याक्टेरिया देखिएको केमिष्टहरु बताउँछन्  ।
दिसा र खानेपानी सँगसँगै‘बी’ ब्लक भवनको पछाडिपट्टि ढल, दिसा जम्मा हुने टंकी र त्यसै भवनमा प्रयोगमा आउने खानेपानी ट्यांकी सँगैसँगै छ । अहिले दिसा ट्यांकी भरिएको छ । यो ट्यांकी भरिएर जम्मा दुई मिटरमात्र टाढा रहेको खानेपानी स्रोतमा पुग्छ । कहिलेकाहीँ पानीको ट्यांकी भरिँदा दिसा संकलन हुने ट्यांकीमा पुग्छ । यसरी दिसा सोझै खानेपानीमा मिसिन्छ । अस्पतालजस्तो संवेदनशील क्षेत्रमा पनि चर्पीजन्य फोहोर, खानेपानी र ढलको उचित प्राविधिक व्यवस्थापन नहुँदा अहिले बिरामी र स्वयम् स्वास्थ्यकर्मीहरु नै दिसा मिसिएको पानी पिउन बाध्य छन् । अस्पतालमा रहेको पानीमा दिसा भेटिएपछि धेरैले घरबाटै पानी ओसार्न थालेका छन् । तर, बिरामी भने दिसायुक्त पानी पिउन बाध्य छन् ।
‘पहिले ख्याल नपु¥याउँदा अहिले समस्या देखियो’,
भरतपुर अस्पतालका मेसु डा रुद्र मरासिनीले भने, ‘यो समस्याको समाधान हुन्छ ।’ बोरिङको पानी सीधै ट्यांकीमा लगेपछि समस्या समाधान हुने उनले बताए । ‘यो खासै ठूलो समस्या होइन’, उनले भने, ‘समस्या समाधान भइसकेको छ ।’
संवेदनशील क्षेत्रयस भवनमा रहेका ६ वटा पानी ट्यांकीबाट नियमित पानी वितरण हुँदै आएको छ । यस भवनमा अस्पताल प्रशासन, बच्चा वार्ड, एनआईसीयू, सुत्केरी वार्ड रहेको छ । त्यस भवनमा पोषण पुनःस्थापना कार्यक्रमसमेत सञ्चालनमा छ । कूपोषित बालबालिकालाई राखिने यस ठाउँमा बालिबालिका हृष्टपुष्ट होलान्भन्दा उल्टै झाडापखालाको शिकार भएका छन् ।
बच्चा नै बिरामी
अस्पतालमा रहेको पोषण पुनःस्थापना गृहमा रहेका ८ जना बालबालिका अकस्मात् बिरामी भए । नियमित हेरचाहमा रहेका कम उमेरका बालबालिका बिरामी भएपछि यस गृहका व्यक्तिहरुले झण्डै ६ दिन यहाँ बालबालिका नै राखेनन् ।
‘अस्पतालको पानीमा फोहोर भएको पाइएपछि बालबालिका राखिएन’, एक कर्मचारीले भने, ‘अहिले पानी तताएरमात्रै खुवाउने गरिएको छ ।’ बच्चाहरुमा झाडावान्ताको समस्या देखिएपछि उनीहरु आत्तिएका थिए । निरोगी बनाउन राखेको ठाउँको पानी नै अशुद्ध भएपछि बच्चाहरु थप रोगका शिकार भएका छन् ।
६ महिनाअघि नै जानकारीअस्पताल प्रशासनलाई खानेपानी ट्यांकीमा रहेको फोहोरबारे ६ महिनाअघि नै जानकारी थियो । तर, उसले खासै वास्ता गरेन । त्यतिखेर पनि छतमा रहेका ६ वटै ट्यांकीका मुख खुला थिए । ट्यांकीभित्र मरेका चराहरु भेटिएका थिए । पछि ढकनीको व्यवस्था भएको थियो ।

Comments

About the author

चितवन पोष्ट