गृह » देशकै पहिलो मुख्यमन्त्री पौडेलले कार्यभार सम्हाले
प्रमुख समाचार

देशकै पहिलो मुख्यमन्त्री पौडेलले कार्यभार सम्हाले

अमृत चिमरिया
हेटौंडा ।  ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार बिहान पद तथा गोपनीयताको शपथ ग्रहणसँगै कार्यभार सम्हालेका छन् । प्रदेश प्रमुखको कार्यालयपरिसरमा आयोजित समारोहमा प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री पौडेललाई शपथ गराएकी हुन् । शपथग्रहण समारोहमा प्रतिनिधिसभाका सांसदहरु, प्रदेशसभाका सदस्य सांसदहरु, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, सुरक्षा निकायका प्रमुख तथा सर्वसाधारणको पनि उपस्थिति रहेको थियो । शपथ ग्रहणपछि प्रदेश प्रमुखको कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले प्रदेश प्रमुखको तर्फबाट मुख्यमन्त्री पौडेललाई बधाई दि“दै कार्यकालको शुभकामना दिएका थिए । शपथ ग्रहणसँगै मुख्यमन्त्री पौडेलले सोमबार नै पदवहालीसमेत गरिसकेका छन् । मुख्यमन्त्री पौडेलले सोमबार बिहान पद तथा गोपनियताको शपथ ग्रहण गरे लगत्तै हेटौंडा–११ स्थित शहीद स्मारकमा पुगी शहीद स्मारकमा माल्यार्पण गरेका छन् । मुख्यमन्त्री पौडेलस“गै  प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ पनि शहीद स्मारक पुगेका थिए । शहीद स्मारकमा प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदहरुको पनि उपस्थिति रहेको थियो । शहीद स्मारकका कर्मचारी, स्थानीयवासीले मुख्यमन्त्री, प्रदेशसभाका सभामुख तथा उपसभामुखलाई स्वागत गरेका थिए । मुख्यमन्त्री डोरमणि पौडेल शहीद स्मारक विकास समितिका अध्यक्षसमेत हुन् ।
विश्वास जितेर अगाडी बढ्छुः पौडेल
हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ३ नम्बर प्रदेशका सबैको विश्वास जितेर अगाडि बढ्ने बताएका छन् । मुख्यमन्त्रीको पदभार ग्रहण पश्चात मुख्यमन्त्रीको कार्यालयको परिसरमा भएको कर्मचारीहरुको स्वागत कार्यक्रममा बोल्दै पौडेलले समृद्ध नेपालको लागि देशकै नमुना प्रदेशको रुपमा अगाडि बढाउने बताएका थिए । उनले प्रदेश नम्बर ३ स्रोत तथा साधनले भरिपूर्ण भएकोले समृद्ध बनाउनका लागि स्रोतसाधनको उचित प्रयोग गरी उत्पादन वृद्धि गर्ने तर्फ लाग्ने बताएका थिए । अनुत्पादक काम गरेर समय खेर फाल्ने तर्फ भन्दा पनि देखिने विकासशील काम गर्ने बताउ“दै मुख्यमन्त्री पौडेलले देशमै पहिलो मुख्यमन्त्री भएको र समृद्ध र विकासमा पनि देशकै पहिलो प्रदेश बनाउने बताएका थिए ।
उनले ऐन कानुन बिना कार्यसञ्चालनमा बाधा आउनसक्ने भन्दै प्रदेश मन्त्रिपरिषद्को पहिलो कार्यविधि विधानको निर्माण गर्ने बताएका छन् । ३ नम्बर प्रदेश मन्त्रिपरिषद्का प्रमुख सचिव रेश्मीराज पाण्डेले मुख्यमन्त्रीको निर्देशनलाई कर्मचारीहरुले सहजरुपमा स्वीकार गरी कामलाई व्यवस्थित तथा छिटोछरितो बनाउने बताएका छन् ।कट्टेल र स्थापित मन्त्री ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार पदभार ग्रहण पश्चात मन्त्रिपरिषद् पनि विस्तार गरेका छन् । पौडेलको पहिलो मन्त्रिपरिषद् विस्तारमा शालिकराम जम्मर कट्टेल र केशव स्थापित मन्त्री बनेका छन् ।
नेकपा माओवादी केन्द्र ३ नम्बर प्रदेशका संसदीय दलका नेता शालिकराम जम्मकट्टेल आन्तरिक मामिला तथा कानून मन्त्री बनेका हुन् भने केशव स्थापित भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । मन्त्रीद्वयलाई ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले सोमबार नै एक समारोहका बीच शपथ ग्रहण गराएकी छन् । शपथ ग्रहण कार्यक्रममा मूख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ, प्रदेशसभा सदस्यहरूलगायतको उपस्थिति रहेको थियो । त्यस्तै सोमबार सा“झ नै प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो । ३ सदस्यीय मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ तथा प्रदेश सरकार कार्य सम्पादन नियमावली–२०७४ र प्रदेशस्तरका सार्वजनिक लिखत, प्रमाणीकरण सम्बन्धी नियमावली–२०७४ स्वीकृत गरेको छ । त्यसैगरी शहिदहरु प्रति सम्मान व्यक्त गर्ने निर्णय गरेको ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिएका छन् ।

Comments

About the author

चितवन पोष्ट