गृह » मुठीदान संकलन गरेर कलात्मक मन्दिर निर्माण
समाचार समाज

मुठीदान संकलन गरेर कलात्मक मन्दिर निर्माण

रत्ननगर । पूर्वी चितवनको रत्ननगर–११, जिरौनामा मुठीदानबाट श्रीकृष्ण प्रणामीको कलात्मक मन्दिर निर्माण गरिएको छ ।
श्रीकृष्ण प्रणामीको कलात्मक मन्दिर यो नेपालकै पहिलो हो । मन्दिरभित्र र बाहिर विभिन्न देवीदेवताका कलात्मक तस्बिरहरु कुँदिएका छन् । भारतबाट ल्याइएका कालिगढहरुले १२ वर्ष लगाएर कलात्मक शैलीको मन्दिर बनाएका हुन् ।
प्रणामीहरुले दैनिक संकलन गर्दै आएका मुठीदानबाट यो मन्दिर निर्माण गरिएको हो । दैनिक रुपमा ६०० प्रणामीहरुले मुठीदान गर्दै आएका छन् । मुठीदानबाहेक रत्ननगर नगरपालिका र चितवनको क्षेत्र नं १ का सांसदहरुले विनियोजन गरेको केही रकमले मन्दिर निर्माणमा खर्च गरिएको छ ।
धार्मिक पर्यटन प्रवद्र्धनको गर्ने उद्देश्यका साथ निर्माण गरिएको सो मन्दिर मनमोहक र आर्कषक पनि छ । ‘मन्दिर निर्माणको प्रमुख स्रोत नै मुठीदान हो’, निर्माण समितिका संयोजक श्याम बरालले भने, ‘विभिन्न संघसंस्थाबाट आर्थिक सहयोग लिइएको भए पनि मन्दिर निर्माणको लागि हामीलाई मुठीदानले नै बल प्रदान गरेको हो ।’
स्वदेशी तथा विदेशी धार्मिक पर्यटकहरुले अवलोकन गर्ने गरी कलात्मक मन्दिर निर्माण गरिएको बरालले बताए । पाँच करोड रुपैयाँ खर्च गरेर निर्माण भइरहेको श्रीकृष्ण प्रणामीको कलात्मक मन्दिरको फागुन ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।
रत्ननगर नगरपालिको वडा नं–११, स्थित जिरौनामा निर्माण गरिएको मन्दिरको स्थापना भएको ५० वर्षको अवसरमा उद्घाटन गर्न लागिएको हो । स्थापनाको ५० वर्ष पुगेको अवसरमा श्रीकृष्ण मन्दिर व्यवस्थापन समितिले स्वर्ण महोत्सव तथा श्रीमत् तारतमसागर १०८ पाठपारायण ज्ञानमहायज्ञ गर्ने आयोजना गरेको छ ।
मन्दिर निर्माणको लागि आर्थिक संकलन तथा वृद्वाश्रम भवन निर्माणको लागि महायज्ञ आयोजना गरिएको हो । फागुन ५ गतेदेखि ज्ञानमहायज्ञ सुरू हुने श्रीकृष्ण प्रणामी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तिलकराज शर्मा पौडेलले जानकारी दिए ।
महायज्ञ फागुन १२ गतेसम्म चल्ने छ । श्रीकृष्ण प्रणामी धर्मका धर्माचार्य जगतगुरू श्री १०८ कृष्णमणिजी महाराजश्री प्रमुख अतिथि रहने महायज्ञमा नेपाल, भारतलगायत अन्य राष्ट्रका सन्त, गुरूलगायत एक लाख श्रद्धालु भक्तजनको उपस्थिति रहने अध्यक्ष पौडेलले जानकारी दिए ।
महायज्ञ सफल बनाउन एक हजार ८ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ भने ३८ वटा विभिन्न उप–समितिहरु गठन भएका छन् । स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिने सप्ताह कार्यक्रममा झण्डै ४५ लाख रुपैयाँ खर्च हुने मूल समारोह समिति संयोजक पौडेलले जानकारी दिए ।
स्वर्ण महोत्सव, महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । सोमबार पत्रकार सम्मेलन गरी महायज्ञको मण्डप निर्माण, स्वागत गेट निर्माण तथा प्रचारप्रसारको काम अन्तिम चरणमा पुगेको अध्यक्ष पौडेलले जानकारी दिए ।

 

Comments

About the author

चितवन पोष्ट