गृह » पञ्चतेज विद्यालयको भवन निर्माण सुरू
समाचार समाज

पञ्चतेज विद्यालयको भवन निर्माण सुरू

रत्ननगर । रत्ननगर–११, मंगलपुरमा रहेको पञ्चतेज ज्योति आधारभूत विद्यालयमा दुई कोठे भवन निर्माण सुरू गरिएको छ । भवनको अभावले पढनपाठनमा समस्या भएपछि जिल्ला शिक्षा कार्यालयको आर्थिक सहयोगमा सो विद्यालयमा भवन निर्माण सुरू गरिएको हो ।
सो भवनको जिल्ला शिक्षा अधिकारी मनोजकुमार गैरेले उद्घाटन गरेका थिए । गरिब तथा सीमान्तकृत समुदायका बालबालिका अध्ययन गर्ने सो विद्यालयमा कक्षा कोठाको अभावका कारण समस्या भएको थियो । त्यसैगरी रत्ननगर नगरपालिका वडा नं ११ वडा कार्यालयको आर्थिक सहयोगमा विद्यालयमा निर्माण गरिएको बालबगैँचाको समेत उद्घाटन गरिएको छ । वडाध्यक्ष शशीभक्त न्यौपानेले विद्यालयमा आयोजित एक कार्यक्रमका बीच सो बालबगैँचाको उद्घाटन गरेका थिए । गरिब तथा विपन्न विद्यार्थीहरुको शिक्षाका लागि २०६५ सालमा स्थापना गरिएको अक्षयकोषमा सोमबारदेखि आर्थिक संकलन सुरू गरिएको छ ।
रत्ननगर–११, मंगलपुर स्थायी घर भई हाल युकेमा रहेका डम्बरबहादुर गुरूङले एक लाख रुपैयाँ प्रदान गरेर सुरू गरेको अक्षयकोषमा एक करोड रुपैयाँ पु¥याउने लक्ष्यसहित आर्थिक संकलन सुरू गरिएको विद्यालयका प्रधानाध्यापक रामबहादुर मगरले जानकारी दिए । सो अक्षयकोषमा सोमबार वडाध्यक्ष शशीभक्त न्यौपानेले व्यक्तिगत १५ हजार रुपैयाँ र पूर्वशिक्षक वासुदेव भण्डारीले १० हजार १२५ रुपैयाँ सहयोग गरेका छन् ।
सो अवसरमा अक्षयकोषलाई सहयोग गर्ने डम्बरबहादुर गुरूङ, शशीभक्त न्यौपाने, वासुदेव भण्डारी र गामवेँसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई सम्मानसमेत गरिएको छ । सोही कार्यक्रममा अक्षयकोषले नर्सरीदेखि कक्षा ५ मा प्रथम हुने विद्यार्थीलाई पुरस्कारसमेत वितरण गरेको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष मिठुदेवी ढकुरीको अध्यक्षतामा भएको थियो ।

Comments

About the author

चितवन पोष्ट