गृह » महिला भलिबलको फाइनल आज उपाधिका लागि न्यु डायमण्ड र एपीएफ भिड्ने
खेलकुद

महिला भलिबलको फाइनल आज उपाधिका लागि न्यु डायमण्ड र एपीएफ भिड्ने

पटिहानी । विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब र काठमाडौंको शिवम् न्यु डायमण्ड एकेडेमी चितवनको पटिहानीमा जारी प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगताको फाइनलमा भिड्ने भएका छन् ।
सोमबार सम्पन्न सेमिफाइनलमा विजयी हुँदै यी दुई टोलीले उपाधि भिडन्त पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा अर्काे विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो । एपीएफले पुलिसविरूद्ध २५–१४, २७–२५ र २५–१५ को जित निकाल्यो ।
दोस्रो सेमिफाइनल खेलमा शिवम् न्यु डायमण्डले विभागीय टोली नेपाल आर्मीलाई ३–० को सोझो सेटमा नै पराजित ग¥यो । डायमण्डले आर्मीलाई २५–१४, २५–१२ र २५–२१ को सेटमा पराजित गरेको म्याच कमिस्नार लेखनाथ शर्मा पराजुलीले जानकारी दिए । राष्ट्रिय खेलाडी प्रतिभा माली र मञ्जु गुरुङ तथा उत्कृष्ट फर्मममा रहेका खेलाडीका साथमा न्यु डायमण्ड निकै बलियो देखिएको छ ।
फाइनल भिड्नै दुवै टोली यो प्रतियोगितामा अपराजित छ । उनीहरुले केही दिनअघि मात्रै काठमाडौंमा सम्पन्न न्यु डायमण्ड कप भलिबलमा पनि फाइनल खेलेका थिए । यसमा न्यु डायमण्ड नै विजयी भएको थियो । प्रतियोगिताको अधिकांश उत्कृष्ट विधामा डायमण्डका खेलाडीले ट्रफी जितेका थिए ।
प्रतियोगिताको फाइनल आज मंगलबार १ बजे हुनेछ । त्यसअघि तेस्रो स्थानका लागि सेमिफाइनलमा पराजित दुई टोली नेपाल आर्मी र नेपाल पुलिस क्लब भिड्ने प्रचारप्रसार समिति संयोजक रामहरि सेढाईंले जानकारी दिए ।
प्रतियोगिताका विजेताले दुई लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले एक लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय हुने टिमले ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र र सान्त्वना हुने टिमले २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ भने अन्य विभिन्न चार विद्यामा उत्कृष्ट हुने खेलाडीले पाँच हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । आधारभूत विद्यालय धनौजीको खेलमैदानमा भइरहेको प्रतियोगिताको समापन मंगलबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्ने आयोजक भरतपुर महानगरपालिका–२२ नम्बर वडा कार्यालयका वडाध्यक्ष विष्णुराज महतोले जानकारी दिए ।

Comments

About the author

चितवन पोष्ट