गृह » श्रमिकको दुर्घटना बिमा गराउन माग
समाचार समाज

श्रमिकको दुर्घटना बिमा गराउन माग

आँपटारी । नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) चितवनले हरेक श्रमिकहरूको पञ्जिकरण, दुर्घटना बिमालगायतको व्यवस्था गराउनुपर्ने भन्दै स्थानीय सरकारसँग माग गरेको छ ।
सोमबार संस्थाको वार्षिक साधारण सभाको क्रममा उनीहरूले विभिन्न समस्याको सामना गर्दै काम गर्नुपरेकोले आफूहरूको उचित व्यवस्था सरकारले मिलाइदिनुपर्ने माग गरेको हो । मजदुरको समस्या सुन्ने निकाय नहुँदा आफूहरू सधैँ चेपुवामा पर्ने गरेको भन्दै स्थानीय प्रशासनले सबैखालका समस्या सुनुवाइका लागि छुट्टै कक्षको व्यवस्था मिलाउनुपर्ने क्युपेक नेपाल चितवनका अध्यक्ष टेकबहादुर गुरूङ (सन्तोष)ले बताए । ‘काम गर्दै जाँदा घरधनीबाट पनि विभिन्न खालका समस्या खेप्नुपर्ने भएकोले स्थानीय तहले घरको नक्सा पास गर्ने बेलामै हामीसँग पनि कामबारे सम्झौता गराउन पनि माग गरेका छौँ,’ उनले भने ।
यस विषयमा विभिन्न दश बुँदे मागसहित केही दिनअघि क्युपेक नेपाल चितवनले भरतपुर महानगरपालिकामा पनि मागपत्र पेस गरिसकेको छ । मागपत्रमा घरमा काम गर्दा घरधनीबाटै सुरक्षा सामग्रीको व्यवस्था मिलाइदिनुपर्ने, निर्माणकर्मीलगायत बिजुली पेन्टर, प्लम्बर, सिकर्मी, डकर्मीको लागि नगरपालिकाले वार्षिक बजेट छुट्याउनुपर्ने, निम्न तहका मजदुरहरूको बालबच्चाका लागि सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिनुपर्ने र हरेक क्षेत्रलाई बालश्रममुक्त बनाउनुपर्नेलगायतका माग समेटिएका छन् । यसलाई पूर्णरूपमा कार्यान्वयन गराउनको लागि संस्थाले दबाबमूलक कार्यक्रम आयोजना गर्दै जाने उनले बताए ।
कार्यक्रममा बोल्दै ट्रेड युनियन महासंघकी वरिष्ठ सल्लाहकार गोमा तिमिल्सिनाले पहिलेको तुलनामा काम गर्न सजिलो भएको बताइन् । तर, पाउनुपर्ने हकअधिकारको विषयमा अझै पनि सरकार उदासिन रहेको उनले औँल्याइन् ।
कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी उनले ट्रेड युनियनको स्थापना र हालको अवस्थाबारे पनि जानकारी गराएकी थिइन् । सो सभामा संस्थाका सचिव नारायण वंशीले कार्यप्रगति र कोषाध्यक्ष राममणि पण्डितले आयव्ययसम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए । कमिटीले छिट्टै भरतपुर महानगरपालिकाको सबै वडामा वडा कमिटी गठन गर्ने र जिल्लाका अन्य स्थानीयत तह र वडाहरूमा पनि कमिटी गठन गर्ने तयारी गरेको सचिव वंशीले बताए ।
मजदुरहरूको श्रमसम्बन्धी हकहितको विषयमा आवाज बुलन्द पार्ने र सबै मजदुरहरूलाई एकीकृत गराएर अगाडि बढ्ने उनको भनाइ छ । चितवनमा २०६७ सालमा स्थापना भएको संस्थामा हाल ५७५ जना मजदुरहरू आवद्ध छन् । देशभरका ६८ वटा जिल्लाहरूमा क्युपेक नेपालको कमिटी गठन भइसकेको छ भने देशभर तीन लाख ५० हजारभन्दा बढी मजदुरहरू संस्थामा आवद्ध छन् ।

 

Comments

About the author

चितवन पोष्ट