गृह » चनौली इलाका प्रहरी कार्यालयको शिलान्यास
समाचार समाज

चनौली इलाका प्रहरी कार्यालयको शिलान्यास

चनौली । भरतपुर महानगरपालिका–१८ चनौली बजार स्थित चनौली इलाका प्रहरी कार्यालय परिसरमा निर्माण हुन गइरहेको ब्यारेक तथा मेस भवनको प्रहरी अतिरिक्त माहानिरीक्षक तथा प्रदेश नं. ३ प्रहरी प्रमुख केसरीराज घिमिरेले सोमबार शिलान्यास गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनद्वारा आयोजित शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक घिमिरेले देशमा शान्ति सुरक्षाको अवस्था उल्लेखनीय सुधार भएको बताउँदै प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्न, अपराध र दुव्र्यसनी नियन्त्रण गर्न स्थानीयसँग मिलेर काम गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण भट्टले पश्चिम चितवनकै व्यापारिक केन्द्र बन्दै गरेको चनौली बजारमा शान्ति सुरक्षा कायम गर्न, अपराध र दुव्र्यसनी ,गुण्डागर्दी नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको र जनताले पनि प्रहरीलाई सघाउनुपर्ने बताएका छन् ।
कार्यक्रमको अध्यक्षता गरेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाले पर्यटकीय क्ष्ोत्र र व्यापारिक हब बन्दै गरेको पश्चिम चितवनको शान्ति सुरक्षको लागि चनौली र पर्साढापका प्रहरी कार्यालयहरुको स्तर वृद्धि गर्न प्रक्रिया अघि बढेको र अत्याधुनिक ब्यारेक तथा मेस भवनको निमार्ण गरिने बताएका छन् ।
नवनिर्मित भवन एक करोड ६५ लाखको लागतमा अत्याधुनिक भवन बनाइने र यसमा दुई तल्ला र ६५ प्रहरी बस्न मिल्ने प्रहरी निरीक्षक इञ्जिनीयर अनिल भट्टले जानकारी दिएका छन् । कार्यक्रममा प्रहरी नायब उपरीक्षक शिवशर्मा आचार्य, सुवर्ण थापा भरतपुर महानगरपालिका वडा नं. २० का वडाध्यक्ष दीपक लामा,वडा सदस्य मन्दिरा पोखरेललगायतले बोलेका थिए ।
थापा र आचार्य पुरस्कृत
स्थानीय तथा प्रदेश र केन्द्रको दुबै निर्वाचन चितवनमा शान्तिपूर्ण र सफलरुपमा सम्पन्न गर्न सफल भएको र चितवनमा शान्ति सुरक्षाको स्थिति राम्रो राख्न सफल रहेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापालाई सो अवसरमा पुरस्कृत गरिएको थियो । साथै चनौली इलाका प्रहरी कार्यालयका इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक भानुभक्त अर्याललाई पनि सो क्षेत्रमा शान्ति सुरक्षाको स्थिति राम्रो राख्न सफल रहेको भन्दै सो अवसरमा पुरस्कृत गरिएको थियो ।

Comments

About the author

चितवन पोष्ट