गृह » चार स्वर्णसहित नेपाल पहिलोचार स्वर्णसहित नेपाल पहिलो
खेलकुद

चार स्वर्णसहित नेपाल पहिलोचार स्वर्णसहित नेपाल पहिलो

भरतपुर । भरतपुरमा सम्पन्न भएको तेस्रो ईन्डोनेपाल मुवाँथाई प्रतियोगितामा चार स्वर्ण पदकसहित नेपाल पहिलो भएको छ । सोमबार भएको फाइलन खेलमा इन्डोनेपाल मुवाँथाईअन्तर्गत पाँच वटा प्रतिस्पर्धा भएकोमा भारतले एउटा स्वर्ण पदकमा चित्त बुझाएको छ ।
नेपालको तर्फबाट ८१ किलो तौल समूहमा सन्देश मानन्धर, ७० किलो तौल समूहमा सचिन्द्र मानन्धर, ५६ किलो तौलमा राहुल ठकर लामा र ६० किलो तौलमा गुणराज रुचालले स्वर्ण पदक जितेका छन् । ५० किलो तौल समूहमा भएको खेलमा भने भारतका एसआर भसान्तले स्वर्ण पदक जितेका छन् । प्रतियोगितामा नेपाल र भारतका १० जना खेलाडीहरु सहभागी भएका थिए । नेपालका तर्फबाट स्वर्ण पदक जित्ने चार जना खेलाडी नेपाल आर्मीका भएका नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कोलाक्षपतीले जानकारी दिए । ५६ किलो तौल समूहमा स्वर्ण पदक जितेका राहुल ठकर लामा यस अगाडि कम्बोडियामा सम्पन्न अन्तर्राष्ट्रिय मुवाँथाई प्रतियोगिताको समेत स्वर्णपदक विजेता खेलाडी भएको कोलाक्षपतीले जानकारी दिए ।
त्यस्तै, चौथो राष्ट्रिय मुवाँथाई प्रतियोगितामा चार वटा स्वर्ण पदक जित्दै काठमाडौँ पहिलो भएको छ । सोमबार भएको फाइनल खेलमा चितवनले एउटा मात्रै स्वर्ण पदक प्राप्त गरेको छ भने अन्य जिल्लाहरु पदकविहीन बनेका छन् । काठमाडौँले पुरुषतर्फ तीन वटा स्वर्ण र महिलातर्फ एउटा स्वर्ण पदक हात पारेको हो । ५५ किलो तौल समूहमा काठमाडौँका सत्यसिंह सुनार, ६० किलो तर्फ काठमाडौँका सन्तोष मगर र ६५ किलो तौलमा काठमाडौँकै  सलाम लोप्चाले स्वर्णपदक प्राप्त गरेका छन् । उक्त प्रतियोगितामा ७५ किलो तौल समूहमा भने चितवनका दिवसलाल भूमीले स्वर्ण पदक जितेका हुन् । त्यस्तै, महिलातर्फ काठमाडौँकी दिव्या गुरुङले स्वर्ण पदक जितेकी थिइन् । चौथो राष्ट्रिय मुवाँथाई प्रतियोगितामा ३६ जना खेलाडी सहभागी भएकामा चार जना महिला खेलाडीले समेत प्रतिस्पर्धा गरेका थिए । भरतपुरको चितवनमा सम्पन्न भएको चौथो राष्ट्रिय मुवाँथाई तथा वृहत् तेक्वान्दो प्रतिगिताअन्तर्गत भएको तेकवान्दो तर्फ १४ वटा स्वर्ण पदक सहित भरतपुरको एके फोर्टीसेभेन तेकवान्दो डोजाङ पहिलो भएको छ ।
प्रतियोगितामा १० वटा स्वर्ण पदकसहित गैंडाकोट तेकवान्दो डोजाङ दोस्रो तथा ६ वटा स्वर्ण सहित भोजाडको बुद्ध तेकवान्दो डोजाङ तेस्रो भएका छन् । उक्त प्रतियोगितामा पुरुषतर्फ अरुणखोला तेक्वान्दो डोजाङका दुर्गा बहादुर दर्लामी मगर उत्कृष्ट खेलाडी भए भने महिलातर्फ माडी तेक्वान्दो डोजाङकी प्रेरणा भुषाल उत्कृष्ट खेलाडी घोषित भइन् । उत्कृष्ट खेलाडी र पहिलो, दोस्रो तथा तेस्रो हुने डोजाङलाई ट्रफी प्रदान गरिएको छ ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले मेडल तथा प्रमाणपत्र पाएका छन् । तेक्वान्दो प्रतियोगितामा चितवन र नवलपरासीका विभिन्न ३० वटा डोजाङबाट करिब २५० खेलाडीको सहभागिता रहेको राष्ट्रिय तेकवान्दो संघ चितवनका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए । तौल समूहको आधारमा खेलाइएको तेकवान्दो प्रतियोगितामा पुरुषको १९ वटा तौल समूहमा र महिलाहरुको १३ वटा तौल समूहमा प्रतिस्पर्धा गराइएको श्रेष्ठको भनाइ थियो ।

Comments

About the author

चितवन पोष्ट