गृह » कति महँगा यी पूर्वमन्त्री ?
सम्पादकीय

कति महँगा यी पूर्वमन्त्री ?

नेपालका सुदूर पहाडी गाउँहरु र पूर्वी तराईका विभिन्न जिल्लामा उपचार नपाएर मर्न विवश नागरिकका खबरहरु सञ्चारमाध्यममा प्रकाशन÷प्रशारण भइरहन्छन् । सिटामोलसमेत नपाएर ज्यान गुमाउनुपरेका र झाडापखालाको उपचारमा जीवनजलको अभाव भएर मृत्युवरण गर्नुपरेका हृदयविदारक कथाहरु हाम्रै मुलुकमा सुनिँदै आएका छन् । संघीय गणतन्त्र नेपालमा सिंहदरबारको अधिकार गाउँगाउँमा आएको बताइन्छ । तर, नेपालका मन्त्री, पूर्वमन्त्री र उच्च पदस्थ व्यक्तिहरुको जीवनशैली र उनीहरुको उपचारका नाममा राष्ट्रले व्यहोर्नुपरेको खर्च हेर्दा सर्वसाधारण र उनीहरुबीच आकाश र पातालको भिन्नता पाइन्छ । सरकारले विपन्नको नाममा उपचार खर्चबापत राज्यकोषबाट करोडौँ रकम स्वाहा बनाएका खबरहरु सार्वजनिक भइरहँदा पूर्वजनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले उपचार खर्चबापत ७३ लाख रुपैयाँ उपलब्ध गराउन सरकारसँग माग गरेको प्रसंगले यतिबेला सर्वसाधारण जिब्रो टोक्न बाध्य भएका छन् ।
पूर्वमन्त्री पासवानले शिक्षण अस्पताल महाराजगन्ज, भारतको मेदान्त अस्पतालमा खर्च भएको रकममात्र होइन, कालोबजारमा भारतीय रुपैयाँ साटेको कमिसनसमेत सरकारसँग माग गरेका छन् । पासवानले उपचार गर्दा लागेको खर्चभन्दा दोब्बर बिल पेस गरेका छन्, जसमा चियाखाजा र होटल खर्चमात्र १८ लाख ७३ हजार ६ सय छ भने यातायातमा ८ लाख ९१ हजार ५७ रुपैयाँ खर्च भएको मागदाबी छ । गरिब जनताले आधारभूत उपचारसमेत गर्न कठिन भइरहेको सन्दर्भमा पूवमन्त्री पासवान एक पात्रमात्र हुन् । विभिन्न बहानामा राष्ट्रिय ढुकुटी रित्याउन दलका नेताहरु, विशिष्टहरु, पूर्वविशिष्टहरु, कर्मचारीहरु लागिपरिरहेकै छन् । सत्तामा पुगेपछि जुनसुकै सरकारले पनि राष्ट्रिय ढुकुटीमाथि ब्रह्मलुट मच्चाउँदै आएको छ । सर्वसाधारण नागरिकले सामान्य उपचार नपाएर जीवन गुमाउनु पर्दा तिनै नेताहरु विदेशमा महँगो उपचार खर्च बेहोरेर राष्ट्रदोहनमा अग्रसर भइरहेका छन् । प्यांक्रियाजमा समस्या देखिएर उपचार सुरू गरेका पासवानले औषधि उपचार, खाजा खाएको, यात्रा गरेको र अन्य खर्च पनि माग गरेर बेथितिको प्रमाण पेश गरेका छन् । सरकारले पूर्वविशिष्ट र विशिष्टका नाममा सुविधा बढाउँदै जाने, विदेश उपचारका नाममा मनलाग्दी खर्चको भर्पाइ दिने प्रवृत्ति झनै बढेर गएको छ ।
सरकार जनताको सेवासुविधाका विषयमा गम्भीर हुनुपर्ने अवस्थामा आफ्नै सेवासुविधा आफैँले बढाउन उद्यत छ । राज्यकोषबाट कसले रकम लिए भन्ने कुरा प्रमुख होइन, उपचार खर्चका नाममा कसले मोटो रकम असुले भन्ने कुरा मुख्य विषय भएको छ । अहिले अवस्था यस्तोसम्म देखिएको छ कि, उपचार खर्च कसले बढी लिने भन्ने होडवाजी नै चल्न थालेको छ । मुलुकको हित चाहने र राष्ट्रलाई अनावश्यक व्ययभार पार्नबाट बचाउने सोच भएका एउटै नेता नेपालमा भेट्न गाह्रो भएको छ । जतिसुकै राष्ट्रवादी कुरा गरे पनि उपचारका लागि विदेश शयर गर्ने एउटा परम्पराजस्तै बनिसकेको छ । देशभित्रै उपचार सम्भव हुँदाहुँदै पनि राष्ट्रलाई अनावश्यक व्ययभार थपेर विदेशमा उपचार गराएका उच्चपदस्थको विवरण लामो छ । देशको स्वास्थ्य अवस्था सहरकेन्द्रित र सर्वसाधारणको पहुँचभन्दा बाहिर रहेको सन्दर्भमा सरकारले नीति र कार्यविधिसमेत मिचेर नेताहरुको स्वास्थ्य उपचारमा राज्यकोषबाट रकम निकासा दिँदै आएको देखिन्छ ।
पहँुच र प्रभाव हुनेका लागि कुनै पनि विधि र विधान हेर्न नपर्ने जुन प्रवृत्ति छ, यसले आगामी दिनमा राष्ट्रदोहन अझै बढाउने स्पष्ट छ । करोडौँको सम्पत्ति, घरजग्गा र गाडी भएका विशिष्टहरुले आफैँले पनि करोडौँ खर्च गर्नसक्ने ‘औकात’ राख्छन् । तर, पहुँचवालाले राज्यको ढुकुटीमा ब्रह्मलुट मच्चाउने श्रृंखला चलिरहेकै छ । उच्चपदस्थ राजनीतिक दलका नेताहरु नेपालको स्वास्थ्य सेवाप्रति विश्वस्त नभएसम्म र नेताहरुले राज्यकोषको ढुकुटी रित्याउने कदम नरोक्दासम्म गरिब नेपालीले उपचार गर्न नसकेर अस्पतालको छतबाट आत्महत्या गर्न विवश हुनेछन् । यसतर्फ देश र जनताका लागि राजनीति गर्छौं भन्ने नेताहरुले गम्भीर मनन गर्नु जरूरी देखिएको छ ।

Comments

About the author

चितवन पोष्ट