गृह » आँपटारी–देवघाट सडक विस्तारमा अलमल, वनले अवरोध ग¥यो : विकास समिति, प्रक्रिया पु¥याउनुपर्छ : वन कार्यालय 
प्रमुख समाचार

आँपटारी–देवघाट सडक विस्तारमा अलमल, वनले अवरोध ग¥यो : विकास समिति, प्रक्रिया पु¥याउनुपर्छ : वन कार्यालय 

–किशोर खनाल
देवघाट । आँपटारी–देवघाट सडक विस्तारमा अवरोध सिर्जना भएको छ । देवघाट पुग्ने आँपटारीको सडक साँघुरो भएको हुनाले देवघाट क्षेत्र विकास समितिले विस्तारको प्रक्रिया अघि बढाएको छ । यो सडक दुई लेनको बनाउने प्रक्रिया अघि बढ्दाबढ्दै अवरोध सिर्जना भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।
‘सडक विस्तारको सम्पूर्ण प्रक्रिया अघि बढेको छ, तर वन कार्यालयका कारणले रुख कटान गर्न पाइएको छैन’ देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले भने, ‘वनले रोकेको कारणले आँपटारी–देवघाट सडक विस्तारको काम अघि बढ्न नसकेको हो ।’
हाल आँपटारी–देवघाट सडकमा एउटा मात्र गाडी पास हुन्छ । यो सडकलाई दुई लेनको बनाउन देवघाट क्षेत्र विकास समितिले प्रक्रिया अघि बढाएको छ । ‘सडक विस्तारको लागि ईआईए पनि सम्पन्न भएको छ । भौतिक तथा यातायात मन्त्रालयले बजेट विनियोजन पनि गरिसकेको छ’ अध्यक्ष पौडेलले भने, ‘तर वन कार्यालयले रुख काट्न किन नदिएको हो, बुझ्न सकिएको छैन ।’
अध्यक्ष पौडेलका अनुसार आँपटारी देवघाट सडक विस्तार गर्दा करिब ५४ वटा कुकाठहरु काट्नुपर्छ । तीमध्ये ४६ वटा सालका रुखहरु पर्छन् । काठ काट्न नदिएर सडक विस्तार गर्नमा अवरोध पु¥याउन नहुने पौडेलले बताए । चितवनबाट देवघाट पुग्ने मुख्य चार सडकमध्ये आँपटारीको सडक सबैभन्दा बढी चल्ने सडक हो । पूर्व तथा पश्चिमबाट आएका भक्तजनहरु यही सडकबाट पवित्र धार्मिकस्थल देवघाट पुग्ने गर्छन् ।
देवघाट–आँपटारी सडक विस्तारको लागि ६८ लाखको टेण्डर खोल्ने प्रक्रिया अघि बढेको क्षेत्र विकास समितिले जनाएको छ । यसको लागि भौतिक तथा यातायात मन्त्रालयले बजेट विनियोजन गर्ने देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।
आँपटारी देवघाट सडकमा ढ्याग्रेखोलाको साँघुरो मोडमा बढी रुखहरु काट्नुपर्ने हुन्छ । यो मोडको दायाँतर्फ रिटेलिङ वाल लगाएर सडक चौडा पार्नुपर्छ । ‘सम्पूर्ण काम पूरा भएर टेण्डर खोल्ने काम मुखमा पुगेपछि अवरोध भएको छ, यसलाई छिटो वनले फुकुवा गरिदिनुपर्छ’ अध्यक्ष पौडेलले भने । आँपटारीदेखि वागेश्वरीसम्म कुनै रुख पनि काट्न नपर्ने अध्यक्ष पौडेलको भनाइ थियो ।
जिल्ला वन कार्यालय चितवनले कसैले पनि कानुन मिचेर काम गर्न नपाइने जनाएको छ । ‘नीतिनियममा छिरेर वनले काम गर्छ, नीति मिचेर काम गर्न पाइँदैन’ जिल्ला वन कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले भने, ‘देवघाट क्षेत्र विकास समिति प्रक्रिया पूरा गरेर आए हामीले रोक्ने कुरा आउँदैन ।’ उनले कुनै पनि विकासको काममा वन कार्यालय तगारो नबन्ने बताए । ‘कि क्याबिनेटबाट सोझै निर्णय गरेर आउनुप¥यो, कि प्रक्रिया पूरा गर्नुप¥यो’ पौडेलले भने, ‘सालका रुख काट्ने नियम अति कडा भएकाले वन कार्यालयले सम्पूर्ण कागजात हेर्छ । सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्छ ।’
‘विधि र नीतिमा टेकेर आउनुप¥यो, प्रक्रिया पूरा गरेर आउनुप¥यो । वन कार्यालयले यसअघि पनि ठाउँठाउँमा रुख काट्ने अनुमति दिइरहेको छ’ पौडेलले भने ।

Comments

About the author

चितवन पोष्ट