गृह » पार्टी एकता लम्बिदैन, टुंगिदैछ : प्रचण्ड 
प्रमुख समाचार राजनीति

पार्टी एकता लम्बिदैन, टुंगिदैछ : प्रचण्ड 

भरतपुर । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र आफ्नो पार्टीबीचको एकता अब धेरै नलम्बिने र केही दिनभित्रै टुङ्गोमा पुग्ने बताएका छन् ।
आइतबार भरतपुरमा आयोजित खेलकूद प्रतियोगिताको उद्घाटनपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै नेता दाहालले सो कुरा राखेका हुन् ।
तीन दिन पहिले चितवन आएका दाहालले शनिबार एउटा कार्यक्रममा ‘अर्को फड्को हान्न बेर मान्दिन’ भनेपछि वाम गठबन्धन धरापमा परेको र पार्टी एकता टरेर जान थालेको अड्कल सुरू नभएको हैन । तर, आइतबार पत्रकारहरुसँग कुरा गर्दा दाहालले त्यो भाषणलाई समसामायिक परिवेशसँग नजोड्न आग्रह गरे ।
‘त्यो कुरा मैले समग्रतामा भनेको हो । नेपालको राजनीतिमा राष्ट्रको आवश्यकता र जनताको आवश्यकताअनुसार जस्तोसुकै निर्णय लिन पनि म सक्छु भन्ने सन्दर्भमा भनेको हो । अहिले नै अर्को राजनीतिक अर्थ नलगाउनु होला’ दाहालले भने । पार्टी एकीकरणका लागि आइतबार नै काठमाडौं फर्केपछि तदारूकताका साथ काम गर्ने प्रचण्डले बताए ।
‘आजै नै काठमाडौँ गएर कुराकानी गर्ने छु । मलाई जहाँसम्म लाग्छ र मेरो चाहना पनि छ कि दुई तीन दिनभित्रै यो कुरा अब टुङ्गिनु पर्छ । अब नलम्बियोस् भन्नेमा छु म’ दाहालले भने । संविधान जारी गर्दा र संविधान आएपछि सरकार बनाउँदा एमालेसँग साथसाथै रहेका दाहाल केही समयपछि नै एमाले छाडेर कांग्रेससँग समिकरण बनाई प्रधानमन्त्री भएका थिए ।
कांग्रेससँग सत्ता समिकरण बनाएर स्थानीय तहको निर्वाचन गराई कांग्रेसलाई नै वाचाअनुरुप प्रधानमन्त्री सुम्पेका दाहालले संघीय र प्रदेश संसदको चुनाव हुँदै गर्दा एकाएक एमालेसँग तालमेल गरेका थिए । स्थानीय तह निर्वाचनमा कांग्रेससँग मिलेर चुनाव लडेको माओवादी र एमालेबीच तिक्ततापूर्ण सम्बन्ध रहेका बेलामा नै फेरि एमालेसँग तालमेल जुरेको थियो ।
एमालेसँग चुनावी तालमेलमात्रै नगरेर पार्टी नै एकीकरण गर्ने घोषणा गरेका थिए । वाम गठबन्धन बनाएर चुनावमा होमिएका एमाले र माओवादीले जनमत पनि पाएका छन् । तर, अहिलेसम्म न सरकार गठन भएको छ, न पार्टी एकीकरणका विषयमा नै ठोस निर्णय भएको छ । पार्टीको अध्यक्ष को बन्ने, प्रधानमन्त्री को बन्ने, आलोपालो गर्ने वा नगर्नेजस्ता विवादका विषय सतहमा आएका छन् ।
पछिल्लोपटक भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल भ्रमणमा आएर फर्केपछि एकीकरणको सम्भावना क्षीण हुँदै गएको अड्कल पनि चल्दै आएको छ । यस्तो अवस्थामा शनिबार साँझ प्रचण्डले ‘जुनसुकै बेला फड्को मार्ने’ कुरा गरेपछि एमाले र माओवादीबीचको एकता र सहकार्य टुट्न त लागेको हैन भनेर अड्कलबाजी सुरू भएको हो । तर, प्रचण्डले त्यसरी नसोच्न आग्रह भने गरे ।
तर, चितवन आउँदा हरेकपल्ट प्रचण्डले अब एकता चाँडै हुने बताउने गरेका छन् । आइतबार पनि पत्रकारहरुले तपाइँले यो प्रक्रिया नलम्बियोस् भने पनि लम्बिने सम्भावना त कायमै छ नि ? भन्ने प्रश्न राखे । जसमा प्रचण्डको उत्तर थियो ‘हैन लम्बिएलाजस्तो भन्दा पनि अब टुङ्गिएलाजस्तो देखेको छु मैले ।’
प्रचण्ड फागुन ७ गते फेरि चितवन आउँदै छन् । आइतबार उनले गरेको कुराअनुसार त्यो समयभित्र पार्टी एकीकरणको विषय लगभग टुङ्गिनुपर्ने हुन्छ । तर, त्यो बेला आउँदा प्रचण्डले कस्तो खबर ल्याउने हुन् ? प्रतीक्षाको विषय बनेको छ ।
क्यान इन्फोटेक मेला अवलोकन
माघ २५ गते बिहीबारदेखि सुरू भएको तेस्रो डिजीकम क्यान इन्फोटेक मेलाको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार अवलोकन गरेका छन् ।
मेलाको अवलोकन गर्दै प्रचण्डले वर्तमान युग सूचना प्रविधिको युग रहेकाले चितवनमा आयोजित क्यान मेलाले आफू उत्साहित भएको बताए । उनले सूचना प्रविधिको विकासबाट मात्रै देशको विकास सम्भव भएको बताए । ‘प्रर्दशनी केन्द्र निर्माण गर्न मेरो भूमिका छ’, प्रचण्डले भने, ‘यो निर्माण सम्पन्न भएपछि चितवनमा व्यवसायिक विकास हुनेछ ।’

Comments

About the author

चितवन पोष्ट