गृह » ‘एक हप्ता भित्र नयाँ सरकार ’
प्रमुख समाचार राजनीति

‘एक हप्ता भित्र नयाँ सरकार ’

होमनाथ सापकोटा
रत्ननगर । पूर्वअर्थमन्त्री तथा चितवन क्षेत्र नम्बर १ को प्रतिनिधिसभाका सांसद सुरेन्द्र पाण्डेले एक हप्ता भित्र मुलुकमा नयाँ सरकार गठन हुने बताएका छन् ।
सौराहामा आइतबारबाट सुरु भएको १२ औं सौराहा फुड फेष्टिबल तथा खाना महोत्सवको उद्घाटन गर्दै पूर्वअर्थमन्त्री पाण्डेले फागुन ५ गते भित्र निर्वाचन आयोगले गर्ने सबै काम सकिएपछि लगतै नयाँ सरकार बन्ने बताएका हुन् । उनले नयाँ सरकार गठनपछि विकासको नयाँ कोर्ष सुरू हुने दाबी गरे ।
‘देशमा राजनीतिक एजेण्डा सकिए’ उनले भने, ‘अब मुलुक आर्थिक उन्नतिको दिशातर्फ लम्कने छ ।’ नेता पाण्डेले तीन तहका सरकारको सहकार्यमा विकासको कामले गति लिने बताए । नेता पाण्डेले वर्तमान सरकारकै कारण मुग्लिन–नारायणगढ सडकखण्ड निर्माणमा ढिलाइ भएको बताए । नेपालकै महत्वपूर्ण राजमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले लापरबाही गर्दा पनि सरकारले केही गर्न नसकेको उनको भनाइ छ ।
मुग्लिन सडकखण्डका कारण चितवनको पर्यटनमा गम्भीर असर परेको भन्दै नेता पाण्डेले सडक निर्माणको काममा सरकार उत्तरदायी हुन नसकेको आरोप लगाए । नेता पाण्डेले सौराहामा अन्तर्राष्ट्रियस्तरको सभाहल निर्माण प्रक्रिया सुरू भइसकेको बताए । ‘अब केही दिनमा स्वाइल परीक्षणको काम सुरू हुन्छ’ उनले भने, ‘सभाहल बन्दैन कि भनेर शंका गर्ने पर्दैन ।’
कार्यक्रममा प्रदेशसभा सांसद कृष्णप्रसाद खनालले सौराहाको पर्यटन विकासको लागि पूर्वाधार निर्माण र सेवाको गुणस्तर सुधारलाई ध्यान दिनुपर्ने बताए । ‘सौराहामा पर्यटकको रुचि अनुसारको सेवा सुधार गर्न आवश्यक देखिएको छ’ उनले भने, ‘यसो गर्न सकियो भने मात्र परिर्वतित पर्यटन बजारसँग प्रतिस्पर्धा गर्न सकिने छ ।’
कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले विश्व पर्यटन बजारमा सौराहालाई परिचित गराउन आवश्यक रहेको बताए । त्यसका लागि उनले पर्यटन पूर्वाधार निर्माणलाई जोड दिनुपर्ने विचार राखे । सौराहाले प्रदान गर्ने सेवालाई सूचनाप्रविधिसँग जोडेर ग्लोबलाइज गर्न आवश्यक रहेको भन्दै उनले त्यसका लागि व्यवसायी र नगरपालिकाको सहकार्यका काम सुरू गर्ने दाबी गरे । उनले सौराहाको पर्यटनलाई मुलुककै आर्थिक उपार्जनको केन्द्र बनाउन सकिने बताए ।
सौराहामा सिटीहल, पर्यटन सूचना केन्द्र,रत्ननगर सांस्कृतिक गाउँ जस्ता पर्यटन पूर्वाधार निर्माणको योजना रहेको बताए । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले मुग्लिन–नारायणगढ सडकखण्ड निर्माणमा ढिलाइ गरिएका कारण सौराहाको पर्यटन माथि उठन नसकेको बताए । हवाइ सेवाले मात्र सौराहामा आउने पर्यटक थेग्न नसकेको भन्दै उनले मुग्लिन–नारायणगढ सडक निर्माणमा जोड दिन सरकारलाई आग्रह गरे ।
चितवनको पर्यटकीय नगरी सौराहामा रेष्टुरेण्ट एण्ड बार एशोसियसन (क्षेत्रीय रेवान) सौराहाले आयोजना गरेको सो खाना महोत्सवको पूर्वअर्थमन्त्री तथा चितवन क्षेत्र नंं.१ का प्रतिनिधि सभा सांसद सुरेन्द्र पाण्डेले उद्घाटन गरेका थिए । भ्यालेनटाइन डेको अवसर पारेर रत्ननगर–७ स्थित सिसुवार चौरमा सुरू भएको खाना महोत्सवमा करिब ७० वटा स्टल रहेका छन् । जसमा खानाका मात्रै करिब ५० वटा स्टल रहेको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए । यस पटक विषेशगरी थारु र नेवार समुदायको खानाका परिकारका स्टल राखिएको छ । खाना महोत्सवमा स्वदेशी र विदेशी खानाका परिकारको समेत स्वाद चाख्न पाउने अध्यक्ष गिरीले जानकारी दिए । महोत्सवमा सबै प्रकारका खानाका परिकार पाइने र एकै प्रकारका खानाहरु बढीमा दुई स्टलमा मात्रै राख्न पाइने व्यवस्था मिलाइएको छ ।
फेष्टिबलको अन्य दिन ५० र विद्यार्थीलाई २५ रूपैयाँ भए पनि भ्यालेनटाइन डेको दिन १०० रूपैयाँको टिकटको व्यवस्था गरिएको फेष्टिबलका संयोजक कपिल रेग्मीले जानकारी दिए । स्वदेशी तथा विदेशी पर्यटक गरी फेष्टिबलको करिव ५ लाखले अवलोकन गर्ने अनुमान गरिएको छ । फेष्टिबलबाट भएको बचत मध्ये केही रकम उज्यालो सौराहा, अपाङ्ग तथा वृद्धवृद्धा, सौराहाको सरसफाई, घुम्ती शौचालय निर्माणका लागि छुट्याइने आयोजकले जनाएको छ ।
फेष्टिबलमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ । राष्ट्रिय कलाकार प्रजापति पराजुली, रमेशराज भट्टराई, दुर्गा सापकोटा, प्रमोद खरेल, कमल खत्री, पूर्णकला विसी, सम्झना भण्डारी, चोलेन्द्र पौडेल, मनोज महतोलगायतका कलाकारहरुको प्रस्तुति रहने छ । स्वदेशी तथा विदेशी पर्यटक प्रवद्र्धन गर्ने उदेश्यका साथ रेवान सौराहाले प्रत्येक वर्ष फेष्टिबल गर्दै आएको छ । रेवान सौराहामा अध्यक्ष गोकर्ण गिरीको अध्यतामा भएको सो उद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिकाका उपमेयर विमला दुवाडी, रेवानका केन्द्रीय उपाध्यक्ष गोपीबहादुर भट्टराई, रेवान सौराहाका संस्थापक अध्यक्ष तथा वडा नं.६ का वडा अध्यक्ष बलराम दाहाल, रेवानका केन्द्रीय उपाध्यक्ष तथा वडा नं.७ का वडा अध्यक्ष राजन भट्ट, रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ, रेवान महिला समूह संयोजक माला दाहाल, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष बीपी चौधरी, खाना महोत्सवका संयोजक कपिल रेग्मीलगायतले मन्तव्य राखेका थिए ।

Comments

About the author

चितवन पोष्ट