गृह » श्रीकृष्णको सपना पूरा गर्न नयाँ चलचित्र : स्वेता
कला

श्रीकृष्णको सपना पूरा गर्न नयाँ चलचित्र : स्वेता

–तुलमान गुरूङ
भरतपुर । निकै प्रतिक्षित मानिएको नेपाली कथानक चलचित्र ‘कान्छी’ युनिट यतिबेला प्रचारप्रसारको क्रममा छन् ।
प्रचारप्रसारकै क्रममा नायिका श्वेता खड्का र अभिनेता दयाहाङ राई आइतबार चितवनमा देखिए । श्रीमान् श्रीकृष्ण श्रेष्ठको निधनपछि पहिलो पटक चलचित्र लिएर आएकी नायिका श्वेता आफ््नो चलचित यही फागुन ४ गतेबाट देशभरका हलहरूबाट एकसाथ दर्शकमाझ आउने भएपछि प्रचारप्रसारको लागि अभिनेता राईसँग चितवन आएकी हुन् । उनले चितवनलाई राजधानीपछिको सबैभन्दा धेरै दर्शक भएको जिल्लाको रूपमा व्याख्या गरिन् । चितवनकै निर्देशक शिव रेग्मीको निर्देशनबाट आफूले चलचित्र क्षेत्रमा प्रवेश गरेको भन्दै स्वर्गीय रेग्मीलाई पनि सम्झिइन् । ‘मैले मेरो कलाकारिताको लागि चितवनलाई जन्मघरको रूपमा लिएकी छु,’ उनले भनिन् ।
आकाश अधिकारी निर्देशित चलचित्र ‘कोहीनुर’ व्यवसायिक हिसाबले सफल भए पनि दर्शकको मायाको अनुभूति गर्न नपाएको भन्दै उनले भनिन्, ‘मैले ‘कहाँ भेटिएला’ पछि चलचित्र ‘कान्छी’बाट बल्ल दर्शकको मायाको अनुभूति गर्दैछु । किनकि यो फिल्मको ‘चरी चट्ट परि भुरूरू’ बोलको गीतलाई धेरै दर्शकहरूले रूचाइदिनुभएको छ । त्यसैले मलाई र मेरो कामलाई दर्शकले कति माया गर्नुभएको छ भन्ने प्रष्ट हुन्छ ।’ अहिले श्रीमान्को सपनालाई सँगै लिएर हिँडेको उनले प्रष्ट पारिन् । पछिल्लो समय विभिन्न सञ्चार माध्यमबाट विवाहको चर्चा भइरकेको प्रसंगमा आफूले जहिल्यै पनि वर्तमान समयलाई मात्रै हेर्ने गरेको प्रतिक्रिया दिइन् । ‘भविष्य कसले देखेको छ र ? त्यही भएर म वर्तमानलाई मात्रै हेर्छु,’ उनले भनिन्, ‘मलाई एक्लै भएको देख्दा नजिकका आफन्त र घरपरिवारबाट विवाहको कुरा नभएको पनि होइन । तर, अहिलेलाई मैले मेरो परिवारलाई पनि कन्भिन्स गरिसकेकी छु ।’
अहिले चलचित्र क्षेत्रमै आफू रमाइरहेको बताइन् । जसकारण ‘कान्छी’ चलचित्र निर्माण गरेको बताइन् । दर्शकहरूको माग र श्रीमान्को सपना पूरा गर्नको लागि राम्रो काम गरेको उनले बताइन् । यसमा घरपरिवारको पनि राम्रो साथ रहेको उनले बताइन् । राम्रो काम गर्दा बजेट पनि राम्रै खर्च हुने भन्दै चलचित्र ‘कान्छी’मा अन्य फिल्ममा भन्दा ठूलो लगानी रहेको दाबी गरिन् । तर, कति बजेटमा निर्माण भएको हो भन्ने कुरा भने खोलिनन् । समग्रमा चलचित्र राम्रो बनेकोले पनि दर्शकहरूलाई हलसम्म पुगेर सहयोग गरिदिन पनि उनले आग्रह गरिन् ।
उनीसँगै आएका अहिलेका व्यस्त अभनेता दयाहाङ राईले पनि चलचित्रको कथावस्तु नयाँ नभए पनि चलचित्र उत्कृष्ट बनेको दाबी गरे । ‘कथा नौलो होइन,’ उनले भने, ‘नेपाली जनजीवनमा घटेका घटना नै यो फिल्मको मुख्य कथावस्तु हो । तै पनि हामीले धेरै मिहेनत गरेकोले चलचित्र राम्रो बनेको छ ।’ स्वर्गीय निर्देशक शिव रेग्मी र नायक श्रीकृष्ण श्रेष्ठको कामलाई तारिफ गर्दै उनले भने, ‘उहाँहरूसँग मलाई दाँज्न सुहाउँदैन । किनकी उहाँहरूको स्थानमा म पुगेकै छैन ।’ अहिले बजारमा श्रीकृष्ण श्रेष्ठको विरासत धान्न सक्लान् त भनेर प्रश्न उठिरहेको प्रसंगमा उनले थपे, ‘यसरी प्रश्न उठ्नु स्वभाविक पनि हो । किनकी हिजो श्वेता जी र श्री दाइको जोडीलाई दर्शकले औधी रूचाउनुभएकै हो ।’
कार्यक्रममा स्वर्गीय निर्देशक शिव रेग्मीकी धर्मपत्नी ज्ञानु रेग्मी, उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष राजन गौतम पनि उपस्थित भएका थिए । नायक श्रीकृष्णको बचनलाई पूरा गर्नको लागि नयाँ चलचित्र लिएर दर्शकसामु आएको देख्दा आफूलाई पनि खुसी लागेको भन्दै स्वर्गीय निर्देशक शिव रेग्मी पत्नी ज्ञानु रेग्मीले नायिका श्वेतालाई बधाइ दिइन् । एकल महिला भएकै कारण धेरै समस्या खेप्नुपर्ने भन्दै सोच विचार गरेर काम गर्न श्वेतालाई सुझाव दिइन् । उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष गौतमले पनि चलचित्रको सफलताको शुभकामना दिए । आकाश अधिकारीको निर्देशनमा बनेको चलचित्र ‘कान्छी’ नायिका श्वेता र उनका भाइ शैलेश खड्काले निर्माण गरेका हुन् ।

 

Comments

About the author

चितवन पोष्ट