गृह » पूर्वप्रधानमन्त्री प्रचण्डले भने,  ‘किसानलाई प्रोत्साहन नभएकै हो’
प्रमुख समाचार

पूर्वप्रधानमन्त्री प्रचण्डले भने,  ‘किसानलाई प्रोत्साहन नभएकै हो’

रामनगर । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थीहरुले गठन गर्ने अबको सरकारले किसानको हितलाई प्रथामिकता दिने बताएका छन् ।
नेपाल अण्डा उत्पादक संघको भरतपुर–१ रामनगरमा रहेको जग्गामा बन्ने भवनको शनिबार शिलान्यास गर्दै राज्यले किसानलाई जति सहयोग गर्नुपर्ने हो त्यति नगरेको बताए । ‘सरकारले किसानलाई उत्साहित गर्नुपर्ने हो तर कतिपय सन्दर्भमा दुरुत्साहित गर्ने खालका कामहरु पनि भएका छन्’ प्रचण्डले भने ।
उनले चुनावको जनचाहना बमोजिम अब चाडै नै वामपन्थी सरकार बन्ने र त्यो सरकारले किसानका हर समस्याको ख्याल राख्ने बचन पनि दिए । कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी आवश्यक हो वा हैन भन्ने विषयमा पनि सरकारले ठोस निर्णय लिने प्रचण्डको भनाइ छ । वैदेशिक लगानीले देशको हित र रोजगार सिर्जनालाई सहयोग गर्न सक्नुपर्ने उनले बताए ।
प्रचण्डले भने ‘वैदेशिक लगानी आउँदा पनि राष्ट्रियहितलाई ख्याल राख्नै पर्छ । के केमा त्यस्तो लगानी चाहिने हो प्राथमिकता तय हुनुपर्छ । सबै क्षेत्रमा खुला गरिनु हुँदैन । कृषिमा त अझै विचार पु¥याउनुपर्छ । हामीले जहाँ सक्दैनौ त्यहाँ ल्याउनु पर्ला । जहाँ त्यही वैदेशिक लगानी ल्याए अर्थतन्त्र धरापमा पर्छ ।’ कार्यक्रममा बोल्नेहरुले कुखुरापालनमा वैदेशिक लगानी नचाहिने बताएका थिए ।
‘हिजो सानोसानो पूँजी जुटाएर कुखुरापालन सुरू गरेका हामीहरुले अहिले मासु, अण्डामा देशलाई आत्मनिर्भर बनाएका छौं । तर, अहिले वैदेशिक लगानीको कुरा गरिँदैछ । यहीको पूँजीले आत्मनिर्भर भएको व्यवसायमा यस्तो लगानी आवश्यक छैन’ पोल्ट्री व्यवसायी डा तिलचन्द्र भट्टराईले भने । यहाँका किसान वा व्यवसायीले गर्न नसक्ने काममा मात्रै यस्तो लगानी आउनुपर्ने उनले बताए ।
हाल प्रदेश सरकारका सचिव रहेका पशुपंक्षी मन्त्रालयका तत्कालीन सहसचिव वंशी शर्माले १५ करोड रुपैयाँभन्दा बढी लगानी वैदेशिक लगानी ल्याउने भन्ने विषयमा चर्चा भए पनि निर्णय नभएको बताए । पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले वैदेशिक लगानीका सम्बन्धमा कुनै नीति नबनेका कारण लगानी आउने सम्भावना नरहेको बताए ।
अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले अण्डाको मूल्य लगातार घटेका कारण किसानहरु मर्कामा परेको बताए । ‘तीन चार महिनाअघिको तुलनामा अहिले एक पेटी अण्डा (२१० गोटा)को मूल्य सात सय रुपैयाँसम्म कम भएको छ । दाना र औषधि तथा चल्लाको मूल्य बढेको बढ्यै छ । किसान मर्कामा छन् । यसरी सधै चल्दैन’ केसीले भने ।
उनले सरकारी निकाय, किसानका प्रतिनिधि र अण्डा बेच्ने वितरकका प्रतिनिधि सम्मिलित मूल्य निर्धारण संयन्त्र बन्नुपर्ने माग गरे । सो संयन्त्रले १५÷१५ दिनमा अण्डाको मूल्यका विषयमा समीक्षा गर्दै नयाँ दररेट तोक्नुपर्ने अवस्था आएमा लागत मूल्य पाउने गरेर मूल्य तोक्नुपर्ने उनले बताए । अहिले किसानले एउटा अण्डाको साढे आठ रुपैयाँ पाउने गरेका छन् । जब कि लागत मूल्य १० रूपैयाँभन्दा धेरै रहेको अध्यक्ष केसीले जानकारी दिए ।

Comments

About the author

चितवन पोष्ट