गृह » जिप त्रिशूलीमा खस्दा सिँचाइ सचिव यादवको मृत्यु  ,छोरी अन्माउने सपना अधुरै 
प्रमुख समाचार

जिप त्रिशूलीमा खस्दा सिँचाइ सचिव यादवको मृत्यु  ,छोरी अन्माउने सपना अधुरै 

केशव अधिकारी
धादिङ । सिँचाइ मन्त्रालयका सचिव ५७ वर्षीय रामानन्द यादव चढेको जिप त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा उनको मृत्यु भएको छ । सोही दुर्घटनामा परी सचिव यादवका छोरा हराइरहेका छन् ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ स्थित घर गएर काठमाडौं फर्कदै गर्दा यादव चढेको जिप शनिबार बिहान दुर्घटनामा परेको हो । फागुन  ११ गते छोरी रञ्जनाको विवाह भैरहवाका डा रणधिर यादवसँग गर्ने पक्का गरेर काठमाडौं फर्कर्दै गरेका सचिव यादव काठमाडौं पुग्न नभ्याउँदै दुर्घटनामा परेका हुन् । उनी सवार  बा २ झ ३१४० नम्बरको जिप पृथ्वी राजमार्गअन्तर्गत धादिङको सलाङघाट नजिकै पृथ्वीराजमार्गबाट शनिबार बिहान ३ बजे तिर सडकदेखि ५० मिटर तल त्रिशूली नदीमा खसेको थियो । दुर्घटनापछि घटनास्थल पुगेको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयहरु उद्धारमा खटिएका थिए । उद्धार टोलीले सिँचाइ सचिव  यादवलाई जिपमा चालकको सिटमा सिट बेल्ट लगाएको अवस्थामा  मृत भेटेको थियो । यादवसँगै बेपत्ता अन्य दुई जना मध्ये उनका २२ वर्षीय छोरा सन्तोषको अवस्था भने अझै अज्ञात छ ।  दुर्घटनामा  १५ वर्षीय उन्नती गुप्ताको शव भेटिएको छ । उन्नतीको शव गाडी भित्रै रहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिपका चालक निरञ्जन यादव घाइते भएका छन् । सिट बेल्ट  लगाइएको अवस्थामा चालकको सिटबाट जिपभित्र नै सचिव यादवलाई सशस्त्र प्रहरीका गोताखोरहरुले फेला पारेकोले दुर्घटनाको समयमा सचिव यादवले सवारी चलाएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाले जानकारी दिए । नदीमा डुबेको जिपलाई क्रेनको सहायताले बाहिर निकालिएको छ भने सचिव यादवका छोरा सन्तोषको खोजी कार्य भइरहेको छ ।
माइली छोरी डा रञ्जना यादवको विवाहको लागि सचिव यादव कपिलवस्तु चन्द्रौटा स्थित घर गएका थिए । विवाहका लागि फेरि फर्कने गरी काठमाडौं आउँदै गर्दा सचिव यादव चढेको जिप शनिबार बिहान सडकबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको हो ।  पिता महाविर यादव र माता धन्जावती यादवका तीन भाई छोरा मध्ये सचिव यादव माइला छोरा थिए ।यादवका कान्छभाई बृजाप्रसाद यादवको ५ वर्ष पहिले निधन भइसकेको छ भने दाजु छेदीप्रसाद यादव मात्र रहेका छन् । दुर्घटनामा चालक निराजन यादव घाइते भएका छन् । उनलाई यसअघि नै उद्धार गरेर ट्रमा सेन्टर काठमाडौं लगिएको छ  ।
प्रहरीका अनुसार, दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । घाइते गाडी चालकको काठमाडौं स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ । दुर्घटनाको समयमा जिप सचिव यादवले नै चलाएको पाइएको प्रहरीले जनाएको छ ।
त्रिशूलीमा हराइरहेकाको खोजीका लागि गएका सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका गोताखोर तारानाथ चापाइँ पानीमा डुबेर घाइते भएका छन् । उनको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडांै लगिएको छ ।

Comments

About the author

चितवन पोष्ट