गृह » अचेत होइन, सचेत बनौँ
विचार

अचेत होइन, सचेत बनौँ

— आचार्य लक्ष्मण भण्डारी
acharyalb@gmail.com

‘नशा तत्कालीन आत्महत्या हो, त्यसबाट प्राप्त सुख नकारात्मक छ ।’— बर्टान्ड रसेल ।
‘नशामा क्रोधमा जस्तै ग्लानिको वेग पनि रहेको हुन्छ ।’— प्रेमचन्द
‘संसारका सम्पूर्ण सेनाहरु मिलेर त्यति धेरै मानिस र सम्पत्ति नष्ट गर्न सक्दैनन् जति रक्सी पिउने आदतले गर्दछ ।’— जोन मिल्टन
‘नशामा मदहोस मानिसको अनुहार उसकी आमालाई पनि नराम्रो लाग्दछ ।’— तिरूबल्लुबर
‘रक्सीको उपयोग त केवल स्वयम्लाई भुलाउनका लागि हो, स्मरण गर्नका लागि होइन । जीवनको सिर्जनात्मक विकास आत्मचेतनामा नै सम्भव छ ।’— महादेवी बर्मा
प्रसिद्ध विद्वान्का यी कुनै पनि भनाइले नशालाई जीवनको आवश्यकता र अपरिहार्य विषयका रुपमा व्याख्या गरेका छैनन् । बरू, सबैका विचारहरु नशाका विरूद्ध देखिन्छन् । रसेलले नशालाई क्षणिक आत्महत्या मान्दै त्यसबाट प्राप्त सुखलाई पनि नकारात्मक भनेका छन् भने प्रेमचन्दले नशामा क्रोधमा जस्तै ग्लानि हुने कुरा बताएका छन् । जोन मिल्टनले त संसारभरको सैन्य शक्तिले पनि नष्ट गर्न नसक्ने मानिस र धनसम्पत्ति रक्सीको आदतले गर्न सक्छ भन्ने विचार व्यक्त गरेका छन् ।
तिरूबल्लुबरलाई नशा कुरुपताको जननी हो भन्ने लाग्दछ । उनका अनुसार हरेक आमाहरुलाई नशामा बाँचेको सन्ततिको अनुहार नराम्रो लाग्दछ । महादेवी बर्माले रक्सी पिउनु स्वयम्लाई भुल्ने प्रयास हो भनेर भनेकी छिन् । आत्मजागरण र चेतनामा नै सिर्जनात्मक विकासको सम्भावना देख्ने महादेवी रक्सीको उपयोग जीवनबाट पलायनको दुष्प्रयत्न हो भन्छिन् ।
मनुष्यजीवन जीवनहरुको पनि जीवन हो । थाहा छैन, हामीले मानिस हुनुपूर्व कुनकुन जीवन यापन ग¥यौँ, तर आज हामीसँग मनुष्यजीवन छ । संसार हेर्ने सुन्दर दृष्टि छ भने संसार बदल्ने अदम्य उत्साह र साहस छ । उचित÷अनुचितको विश्लेषण गर्दै सन्मार्गतिर उन्मुख हुन प्रेरित गर्ने विवेक हाम्रो जीवनको सबैभन्दा सुन्दर र दुर्लभ प्राप्ति हो ।
हाम्रा हातहरु समुद्रको गहिराइबाट हीरा र मोती टिपेर ल्याउन मात्र होइन, अविच्छिन्न कर्मयोगमा तल्लीन हुन सधैँ तयार छन् । यिनकै प्रयोगमा हामी सफलता र सिद्धिका अनेक सिँढी चढ्न लायक बन्दछौँ । पूर्वजन्मका अभाव र आवश्यकता पूर्तिका लागि पनि हामी मनुष्य बनेर जन्मिएका छौँ । वर्तमान विगतका अभावलाई पूर्ति गर्ने सुन्दर अवसर हो । वर्तमान नै हाम्रो जीवन भएकाले हिजोका आवश्यकता र त्रुटिलाई पूरा गर्दै भोलिका लागि सम्भावनाका अनेक आधार तयार पार्नका लागि पनि मानवजीवन मह¤वपूर्ण छ ।
आज नशा जीवन भुलाउने साधन बनेको छ । नशामा व्यक्तिले आपूmलाई बिर्सन्छ । आपूmलाई बिर्सने भनेको विभिन्न किसिमका पीर, चिन्ता, तनाव, व्यथा, अप्ठ्यारा र अभावहरुलाई बिर्सनु हो, किनभने हामी भनेकै हामीसँग भएका राम्रा÷नराम्रा परिणामका भोक्ता हौँ । जीवन भोगाइका क्रममा आउने सुख र दुःखका परिणामहरुलाई स्वाभाविक रुपले ग्रहण गर्न नसक्दा व्यक्ति नशाको शरणमा जाने गर्दछ ।
रक्सीको सेवनकर्तालाई रक्सीले नै समस्याबाट मुक्त गराउँछ भन्ने भ्रम छ । उसले आपूmलाई भन्दा धेरै विश्वास रक्सीलाई गरेको छ । त्यसैले, ऊ रक्सीको दुष्प्रभावबाट पनि मुक्त हुन सकेको छैन । रक्सी सेवनका कारण ऊ स्वयम्लाई गुमाउँदै समाज र सम्बन्धहरुबाट पनि टाढाटाढा हुन बाध्य बनेको छ ।
हामी संसारमा जे पनि गर्न सक्दछौँ । मनुष्य नै सभ्यता र विकासको मूल हो । हाम्रा पाखुरीका अगाडि कुनै पनि अभाव र अप्ठ्याराहरु टिक्न सक्दैनन् । हाम्रा विचार र सङ्कल्पकै बलमा ग्रह र नक्षत्रहरु पनि हाम्रा पैतालामुनि टेकिन आइपुग्छन् । हाम्रै अदम्य साहस र उत्साहका कारण सगरमाथा पनि हाम्रो पैताला आफ्नो शिरमा राख्न पाउँदा धन्य बन्दछ । जीवनयात्राका क्रममा अवरोध बन्न आइपुगेका ठूलाठूला चट्टान र पर्वतहरु पनि हाम्रा पाखुरीका कारण धूलोमा परिणत भएका छन् र हामीलाई अगाडिको यात्राका लागि बाटो खुला गरिदिएका छन् ।

यति धेरै शक्ति, शौर्य र सम्पत्तिका मालिक भएर पनि हामी आज सानामसिना दुःखका कारण विचलित भएका छौँ । घरपरिवारमा उत्पन्न हुने बेमेल, सामाजिक अवस्था, धनसम्पत्ति र वैभवको अभाव वा प्राकृतिक विपत्तिका कारण हुने विनाश र शारीरिक स्वास्थ्यलगायत अनेक समस्याहरु हाम्रो टाउको दुखाइका कारण बनेका छन् । जब हामी यी समस्याहरुलाई स्वाभाविक ठानेर यिनको सहज समाधानका लागि असफल बन्दछौँ अनि जीवनबाट निराश हुन पुग्दछौँ । जीवनको यही निराशाबाट बच्न अन्ततः आजको मान्छे नशाको शरणमा जाने गरेको छ ।
नशामा त्यस्तो कुनै शक्ति छैन, जसले हामीलाई आशाको देशमा लिएर जओस् । न त नसामा हामीलाई सुख र आनन्दको वैभव प्रदान गर्न सक्ने सामथ्र्य नै छ । रक्सी वा अन्य लागूपदार्थको नशा क्षणिक हुन्छ । यसको उपयोग केही घन्टाका लागि मात्र हो । लागूपदार्थ वा रक्सीको प्रयोगले हामी केही समय त दुःखलाई बिर्सन सफल होऊँला, तर जीवनको अधिकांश समय हामी हाम्रै यथार्थमा बाँच्न बाध्य छौँ । हामी सधैँ हाम्रा दुःख र चिन्ताबाट भाग्न सक्दैनौँ । एकछिन त हामी रक्सी खाएर समस्याबाट भागौँला, तर रक्सीको नशाले छोड्नेबित्तिकै अगाडि दुःखले मुख बाएर हाम्रो स्वागत गरिरहेको हुन्छ ।
जीवनका अप्ठ्याराहरुलाई बिर्सन नशाको शरण जानुको सट्टा बरू भगवान्को शरणमा जानु उत्तम हुन्छ । भगवान्को शरणमा जानुको अर्थ परम शक्ति र स्रष्टाको शरणमा जानु हो । आध्यात्मिक चिन्तन–मनन, पूजा, प्रार्थना, योग, ध्यान, प्राणायाम आदिको शरण नै जीवनको वास्तविक शरण हो । यसले हामीलाई जीवन बिर्सन होइन सम्झन सिकाउँछ, समस्याहरुसँग भाग्न होइन लड्न सिकाउँछ । भगवान्को नित्य स्मरण र वन्दनाले हामीलाई जीवनमा आउने अप्ठ्याराहरुप्रति तटस्थ रहन सक्ने शक्ति प्राप्त हुन्छ ।
तर, आज मान्छेलाई भगवान्मा भन्दा रक्सीमा धेरै विश्वास छ । भौतिकताको दुरूपयोगले आजको मान्छे यन्त्रवत् बनेको छ । ऊभित्र यान्त्रिकता हावी भएको छ । ईश्वरलाई भन्दा नश्वरलाई धेरै मह¤व दिनेहरुको भीडले समाज भरिएको छ । ईश्वरप्रतिको चरम नास्तिकताले उसलाई रक्सीको परम आस्तिक बनाइदिएको छ । उसको सम्पूर्ण वन्दना, पूजा, प्रार्थना र ध्यानको केन्द्र नै रक्सीको बोतल बनेको छ । भगवान् त उसका लागि कोरा कल्पनाको विषय हो । आजका रक्स्याहाहरु कुनै पनि भगवान्, धर्म, अध्यात्म वा योगध्यानको अस्तित्व स्वीकार्ने पक्षमा छैनन् । उनीहरुको परिभाषामा उनीहरु स्वयम् नै भगवान् हुन् । उनीहरु अमूर्त होइन, मूर्त ईश्वरको पक्षमा छन् । यसैले त उनीहरु सधैँ आँखाले देखिने, जिब्रोले स्वाद लिन सकिने र पिएपछि तत्काल प्रभावित हुन सकिने रक्सीको बोतलको पूजा गर्न रूचाउँछन् । बिहान, दिउँसो र बेलुकी तीनै समय रक्सीको स्तुति, पूजा र ‘भुजा’मा तल्लीन रक्सीभक्तहरुलाई पूजा गर्नासाथ रक्सीले जस्तै उत्तिखेरै केही पनि नदिने र नदेखिने भगवान्को के विश्वास ?!
रक्सीको भक्तिले अन्ततः आजको मान्छेलाई असमयमै मृत्युको मुखमा लिएर गएको छ । यो कुनै बहादुरी होइन, न त यो उच्च पुरूषार्थ नै हो । भगवान्ले भन्दा छिटो रक्सीले दुःख हटाउँछ भनेर रक्सीको शरण लिनु मरण लिनुबराबर हो । हामी आपूmलाई निकै बलशाली ठान्दछौँ । अब भगवान्लाई त केही नठान्ने हामी कमजोर हुने पनि कुरै भएन । तर अचम्म के छ भने यति बलिया भएर पनि हामी रक्सीसँग हारिरहेका छौँ, रक्सीले हामीलाई ‘उल्लु’ र ‘पङ्गु’ बनाएर मिल्क्याइदिएको छ, एउटा कुनामा । जतिसुकै ‘जिम’ गरेर शरीरभरि मासुको डल्लो जम्मा पारे पनि रक्सीका अगाडि थुरथुर काँप्ने कथित ‘पहलमान’ बनेका छौँ आज हामी ।
जबसम्म हामी रक्सी र चुरोटको तलतलबाट मुक्त हुन सक्दैनौँ, तबसम्म हाम्रो पहलमानीको कुनै अर्थ छैन । रक्सी खाएर तथानाम बर्बराउनु र चुरोटको धूवाँ अर्काको नाकतिर फ्याँक्नु कुनै पुरूषार्थ होइन । जीवनका लागि रक्सी, चुरोट, गाँजा र लागूपदार्थ हानिकारक छन् भन्ने कुरा सानासाना केटाकेटीलाई पनि थाहा छ । केटाकेटीलाई पनि थाहा भएको र उनीहरुले पनि प्रयोग नगर्ने कुरा बिर्सेर त्यसको प्रयोग गर्ने मान्छे ठूलो र सभ्य हुन सक्दैन । रक्सी, चुरोटलगायतका पदार्थ शरीर र मस्तिष्कका लागि कुनै पनि कोणबाट उपुयक्त छैनन् भन्ने यथार्थलाई बिर्सेर शरीरप्रति नै अन्याय गर्ने व्यक्ति चाहे नेता, शिक्षक, कार्यालयको हाकिम, पत्रकार, वकिल, डाक्टर वा जुनसुकै पेसाको किन नहोस्, त्योभन्दा असभ्य, जङ्गली र आफ्नै शरीरको अवमूल्यनकर्ता के अर्को कोही हुन सक्ला र ?
जीवनयापनका क्रममा आउने समस्याहरुको दीर्घकालीन समाधान रक्सीले गर्न सक्दैन । नसाभन्दा कमजोर त सायद संसारमा अर्को केही छैन । जसको आयु २४ घण्टाको भन्दा छैन के तपाईँ त्यसलाई बलशाली ठान्नुहुन्छ ? जसले हाम्रा दुःखहरुबाट भाग्न बल प्रदान गर्छ र झन् ठूलो दुःखको भुमरीमा लिएर जान्छ, के त्यसलाई हामी आनन्द र खुसीको कारण मान्न सक्छौँ ? एकछिन आँखा चिम्म गरेर बस्ने र जीवनलाई शाश्वत दृष्टि दिनेबित्तिकै हाम्रा समस्याहरु समाधानतर्फ अभिमुख हुन सक्छन् । जीवनलाई उत्सव मान्नुपर्छ भन्ने योगी, साधु, अध्यात्मपुरूष वा विद्वान्सँगको सत्सङ्गमा हाम्रा सबैसबै समस्याहरु समाधान गर्ने कला सिक्न सक्दछौँ ।
हामी एकान्तमा बसेर परामर्श लिन खोज्ने हो भने हाम्रो विवेकले नै हामीलाई सद्मार्गतिर निर्देश गरेर सहयोग गर्दछ । हाम्रो विवेक र चेतना नै हाम्रो जीवनका परामर्शदाता हुन् । हामीले रक्सीसँग जीवनका बारेमा परामर्श गर्न खोज्दछौँ र यहाँ कुरा बिग्रिएको छ । रक्सीको परामर्शले हामीलाई ‘बुद्धू’ बनाउँछ भने विवेकको परामर्शमा हामी ‘बुद्ध’ बन्न सक्दछौँ । हाम्रो विवेकले समाधान गर्न नसक्ने कुनै समस्या छैन र रक्सीले समाधान गर्न सक्ने कुनै समस्या छैन । दुःखबाट डराउनु र भाग्न खोज्नु आफैँमा समस्या हो भने त्यसलाई बिर्सन रक्सी वा नशाको उपयोग गर्नु झन् ठूलो समस्या हो ।
दुःख त जीवनको सौन्दर्य र आवश्यकता हो । यही दुःख छ र हामीलाई सुखको अनुभूति भएको छ । यही मृत्यु छ र त हामीलाई जीवन यति प्रिय लागेको छ । उकालो छ र त ओरालो प्रिय छ । अँध्यारो नभए उज्यालो कसरी होला र ? शिशिर थियो र न वसन्त यति प्रिय भयो ।
जीवनलाई प्रिय, अनमोल र भव्य बनाउने दुःख देखेर दुःखी बन्नु हुँदैन । वसन्तको यो भव्यताको पूर्वाधार बनेको शिशिरलाई देखेर किन नाक खुम्च्याउने ? उज्यालोको सङ्केत गर्ने अँध्यारोमा विश्राम गरौँ, गाली गरेर यसको अनादर नगरौँ । विवेक नै एकमात्र समस्याको समाधान हो । होस, जागरण र बोधको उज्यालोमा कुनै पनि दुःख, पीर र अवरोधको स्थान हुँदैन । हामी यसैले हाम्रो जीवनप्रति जागृत बन्नुछ र समस्याको समधान गर्नुछ ।
बेहोसी त समस्यैसमस्याको जन्मस्थान हो । रक्सीबाट हामीले यही बेहोसी खरिद गर्दछौँ । यो त शरीर र टाउको दुख्दा खाएको ‘पेनकिलर’ जस्तै हो, खाइन्जेल ठीक, छोडेपछि बेठीक । पेनकिलर खाएर कसको दुखाइ सधैँ कम भएको छ र ? रक्सी खाएर समस्याको समाधान गर्ने मान्छे खै संसारमा कहाँ छ ? हरेक समस्याको समाधान त उच्च चेतनाबाट नै सम्भव छ । चेतनालाई निष्क्रिय पारेर वा ‘कोमा’मा राखेर समस्याको ‘अप्रेसन’ गर्नुको कुनै अर्थ हुँदैन ।
रक्सी खाएपछि हाम्रो चेतना निष्क्रियप्रायः हुन्छ र हामी अचेत भएका हुन्छौँ । रक्सी खाएका बेलामा हामी ‘बर्बराउन’ सकौँला तर ‘बोल्न’ सक्दैनौँ । सहरबजारमा नाङ्गै हिँड्ने मानसिक सन्तुलन गुमेको मान्छेले पनि आपूmले ठीकै गरेको ठानेको हुन्छ । जाँडरक्सी खाने जँड्याहालाई पनि नशाका बेला बोलेका कुरा शतप्रतिशत ठीक लागेका हुन्छन्, तर चेतनजगत्का मान्छेका लागि अर्थहीन र बेतुका ।
हाम्रा दुःख र तमाम समस्याहरुको एकमात्र निकास जागरण हो, होस र चेतना हो । जसरी सूर्यको उज्यालोमा अँध्यारोको कुनै अस्तित्व शेष रहँदैन, बोध र जागरणको उज्यालोमा पनि दुःख र अप्ठ्यारारुपी अँध्याराहरु अर्थहीन भएर जान्छन् । सम्पूर्ण समस्याहरु हाम्रै कारण जन्मिएका हुन्छन् र तिनको समाधान पनि केवल हामीसँगै रहेको हुन्छ । अज्ञान हाम्रो समस्याको कारण हो भने ज्ञान समाधानको सूत्र । यही ज्ञानको दीप प्रज्वलन गर्नुछ र अज्ञानका कारण उत्पन्न दुःखरुपी अँध्यारोलाई समाप्त पार्नुछ ।
यही बोध वा चेतना नै सभ्यताको मूल पनि हो । रक्सीलाई सभ्यताको मूल ठान्नु ठूलो भूल हो । आज रक्सी, बियर र चुरोट सभ्यताका सबैभन्दा आधारभूत आवश्यता भएका छन् । कुनै पनि भोज रक्सी र चुरोटबिना सम्पन्न हुन सक्दैनन् । हामीकहाँ आयोजना गर्ने गरिएका धेरैभन्दा धेरै भोजहरुका शोभा भनेकै रक्सी र चुरोट हुन् । बेहोसीको मनोरञ्जनको के अर्थ हुन्छ र ? जहाँ नशालाई मनोरञ्जन र उत्सवको प्राथमिकता ठानिन्छ, त्यहाँ मनुष्यको सभ्यता स्थापित हुन सक्दैन । मनुष्य भनेकै चेतनाको पुञ्ज भएकाले चेतनालाई मारेर उसको सभ्यता विकसित हुन सक्दैन ।
दुःखबाट मुक्त हुन, सभ्य देखिन र मर्द हुन पनि नशाको प्रयोग गर्ने प्रवृत्ति देखिएको छ । आजभोलि यौनकार्यका समयमा पनि रक्सीसेवन गर्ने सेवनकर्ताहरुको बिगबिगी छ । ‘रक्सी वा बियर पिएर पुरूष यौनक्रियाकलापमा सहभागी हुँदा उसको तत्काल वीर्यस्खलन नहुने र यौनकार्यको समयसीमा लम्बिने’ मान्यतामा आज अधिकांश पुरूष सक्रिय छन् । आनन्द र मनोरञ्जन त उच्च चेतनाको प्रतिफल हो । रक्सी पिएपछि त बेहोसी पैदा हुन्छ । उचितानुचितको भेद गर्न पनि पुरूष असफल बनिदिन्छ । यसरी बेहोसमा गरिएको यौनकार्य पशुको भन्दा पनि निम्नस्तरको हुन्छ । रक्सी पिएर गरिएको यौनकार्य मनुष्यको जस्तो नभएर मेसिनको जस्तो हुन्छ । यो त नामर्दपनको पराकाष्ठा हो । पुरूषत्वको गम्भीर उल्लङ्घन हो । आफ्नी अर्धाङ्गिनीको सम्मान र सौभाग्यप्रतिको निष्ठा घटाउने उपाय हो । आज मान्छे कति नपुंसक भएछ, यौनका लागि पनि रक्सीको सहारा लिनुपर्ने !? हेर्दा हात्तीजस्तो शरीर भएर के हुँदोरहेछ र, यदि रक्सीलाई ‘पुरूषत्व’को प्रतीक ठान्ने हो भने ?
आज रक्सीलाई हामीले हाम्रो सभ्यता बनाएका छौँ, मनोरञ्जनको साधन र दुःखको निवारक बनाएका छौँ । तर, यो केवल भ्रममात्र हो भन्ने कुरा रक्सीले निम्त्याएका ठूलाठूला समस्या, अश्लीलता र जीवनको विनाशसम्मका अवस्थाहरुबाट नै स्पष्ट भएको छ । आजको मान्छेको रक्सीभक्तिले उसको घर टुक्रिएको छ, स्वास्थ्य भताभुङ्ग भएको छ, आयु छोटिएको छ र जीवनको मूल्य लगभग समाप्त भएर गएको छ । नशा वा बेहोसीलाई आफ्नो र विवेकलाई पराई ठान्दाको परिणाम यस्तै हुन्छ ।
यसैले आउनुस्, चेतना र बोधको यात्रा आरम्भ गरौँ । जीवन बाँच्न रक्सीको साथ ग्रहण गर्नु पुरूषार्थ हो या कायरता ? विचार गरौँ । जीवनका हरेक समस्याहरुसँग नबगौँ, तिनलाई साक्षी भएर प्रभावित नभई तटस्थसँग अवलोकन गरौँ । नशालाई जीवन नठानौँ । जीवन बाँच्न नशाको सहारा लिनुपर्ने अवस्था छैन, किनकि जीवन निकै सुन्दर छन् । समस्याहरुसँग भाग्ने विचार नगरौँ, किनकि हामी र हाम्रो विवेकभन्दा यी समस्याहरु बलिया र ठूला छैनन् । हामी नै सर्वस्व हौँ र जीवन नै सबैथोक हो । हाम्रो विवेक र बुद्धिले भन्दा रक्सीले हामीलाई प्रसन्न राख्न सक्दैन । यति सुन्दर जीवन बाँच्न रक्सीको शरणमा साष्टाङ्ग झुक्नुुजत्तिको कायरता सायद अर्को नहोला । रक्सी छोडौँ, स्वाभिमान, सार्थक पुरूषार्थ र चेतनाको यात्रा आरम्भ गरौँ, किनकि जीवनलाई बिर्सने होइन सम्झने हो; अचेत होइन सचेत हुने हो ।

Comments

About the author

चितवन पोष्ट