गृह » सन्यासीको भिक्षाले बदलियो देवघाट 
प्रमुख समाचार

सन्यासीको भिक्षाले बदलियो देवघाट 

बसन्त पराजुली
देवघाट । ‘खान नपाएर जोगी भयो । जोगी भएको भोलिपल्ट भोकै रह्यो’ भन्ने उखान हाम्रो समाजमा प्रख्यात छ । घर व्यवहार र परिवारबाट बिरक्तिएपछि मानिस सन्यास ग्रहण (जोगी ) हुन्छन् भन्ने मान्यताबाट यो उखान बनेको देखिन्छ । तर, धार्मिक क्षेत्र देवघाटमा योगी सन्यासीका हकमा यो उखान उल्टो सावित हुन्छ । यहाँका जोगी सन्यासीहरु आफूले मात्रै खादैनन् देवघाट आउने जो कोही हजारौ मानिसलाई दैनिक निःशुल्क भोजनको व्यवस्था गर्दै आइरहेका छन् । यसमा सन्यासीहरुले सञ्चालन गरेका आश्रमहरुको भूमिका छ ।

गलेश्वर आश्रमद्वारा सञ्चालित अन्न भण्डारमा खाना खाने तयारीमा वृद्धवृद्धा तथा अनाथहरु । यहाँ हरेक दिन निःशुल्क खाना खुवाइन्छ ।

‘गलेश्वर आश्रमले सदावर्त अन्नभण्डार सञ्चालन गरेको छ । हरिहर आश्रम र महेश सन्यास आश्रममा पनि आउने जो कोही भक्तजन भोको पेट लिएर फर्कनु पर्दैन’, देवघाटका स्थानीय शिक्षक केशव काफ्लेले भने । यी तिनै आश्रम सन्यासीहरुले चलाएका हुन् ।
देवघाटमा रहेका आश्रमहरुले सन्यासीहरुको भिक्षा, दानदातव्य रकमबाट भोजन मात्रै हैन शिक्षा, स्वास्थ्य र आवासको व्यवस्थासमेत निःशुल्क गराएका छन् । दामोदर कुण्डबाट आएको त्रिशूली र मुक्तिनाथ हँुदै आएकी कालिगण्डकी नदीको संगम भएका कारण पनि देवघाटको बेनी धार्मिकरुपमा मह¤वपूर्ण मानिन्छ । सूर्य मकर राशीमा भई उत्तरायण हुने माघे संक्रान्तिका दिन त देवघाटमा आएर बेनीमा स्नान गरे मनोकांक्षा पूरा हुने विश्वासले देशविदेशका हिन्दू धर्मालम्बीहरु यो दिन देवघाटमा स्नान गर्न आउने गर्छन् । अझै यो राति देवता आएर देवघाटमा शयर गर्ने विश्वाससमेत सर्वसाधारणमा छ । साउनको सोमबार पनि पछिल्ला वर्षहरुमा भक्तजनको भीड लाग्ने गर्छ ।
देवघाटमा रहेका मठमन्दिर तथा पुरातात्विक वस्तुहरु पनि आकर्षणका केन्द्र छन् । सीता भासिएको गुफा, दिनदिनै शीला बढ्ने विश्वास गरिएको मणि मुकुन्दसेन चक्रवर्ती महादेव मन्दिर र यो सँगै रहेको पुष्प बाटिकाले जो कोही आउने पर्यटकको मन तान्न सफल हुन्छ । जीवनको उत्तरार्धमा त देवघाट आएर जीवन त्याग गर्न चाहनेको संख्या बढ्दो छ । उनीहरु कल्पवास र वृद्धाश्रममा आएर बस्ने गर्छन् । यिनै कल्पवास र वृद्धाश्रममा बस्ने वृद्धवृद्धा, विद्यापीठमा अध्ययन गर्ने विद्यार्थी र देवघाट आउने भक्तजनलाई यहाँका आश्रमहरुले आवाससहितको खाना, स्वास्थ्य र शिक्षा दिने गरेका हुन् ।
गलेश्वर आश्रमका सचिव महेन्द्र प्याकुरेल आश्रम स्थापनादेखि नै देवघाटको सामाजिक विकासमा लागेको बताउँछन् । ‘अहिले गलेश्वर आश्रमले वृद्धवृद्धा राख्न कल्पवासका साथै वृद्धाश्रम सञ्चालनमा ल्याएको छ, उनीहरुको खानाका लागि सदार्वत भोजनको लागि अन्न भण्डार हरेक दिन खुला छ । स्वास्थ्य सेवाका लागि धर्माथ अस्पताल सञ्चालनमा छ’ प्याकुरेलले भने, ‘देवघाट घुम्न आउनेलाई धर्मशाला र विद्यार्थीका लागि विद्यापीठ पनि आश्रमले सञ्चालन गरिरहेको छ ।’
उसो त आइतबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वामी महामण्डलेश्वर आत्मानन्द गिरी महाराजको अध्यक्षतामा सञ्चालित गलेश्वर आश्रमद्वारा ८ करोड लागतमा निर्मित नर्वेदेश्वर पञ्चायन महादेव मन्दिर र साढे दुई करोडमा निर्मित धर्मशालाको उद्घाटन गरेका थिए भने सोमबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वेदवेदाङ्ग विद्यालयको शिल्यान्यास गरे । यही आश्रममा फागुन २ गते प्रधानमन्त्री शेरबहादुर देउवा पनि आउँदै छन् । देशकै विशिष्ट व्यक्तिहरुबाटै मह¤व दिइएका कारण पनि देवघाटका आश्रमले विकास निर्माणमा प्रभावकारी भूमिका निर्वाह गरेको देखिन्छ ।
यता हरिहर आश्रमले शास्त्री (ब्याचलर) सम्म र महेश सन्यास आश्रमले आचार्य (मास्टर) सम्मको शिक्षा दिनका लागि आवास सहितको विद्यापीठ सञ्चालनमा ल्याइरहेका छन् । गलेश्वर आश्रमले सञ्चालन गरेको विद्यापीठमा १०० जना, हरिहर आश्रमको पिद्यापीठमा १५० जना र स्व. स्वामी रामानन्द गिरीले स्थापना गरेको महेश सन्यास आश्रमको विद्यापीठमा २५० जना विद्यार्थी अहिले पनि अध्यनरत छन् । संस्कृत विश्वविद्यालयसँग सम्बन्ध लिएर सञ्चालनमा ल्याइएका यी विद्यापीठहरुले संस्कृतका साथै समय सापेक्ष अंग्रेजी र कम्युटरमा पनि विद्यार्थीलाई अध्ययन गराइरहेका छन् ।
महेश सन्यास आश्रमका प्रध्यापक डा गुरुप्रसाद सुवेदी देवघाटका सन्यासीहरुले सरकारले गर्न नसकेको काम गरिरहेको तर्क गर्छन् । ‘घर ब्यवहार र परिवार छाडेर सन्यास ग्रहण गरेका योगीहरु विरक्त भएर हिड्छन् भन्ने जुन मान्यता छ देवघाटमा यसको ठिक विपरीत कार्य भइरहेको छ’, सुवेदीले भने, ‘यहाँका सन्यासीहरु देवघाटको संरक्षण र विकास कसरी गर्न सकिन्छ भनेर लागेका छन् ।’
उनका अनुसार देवघाट धामको पहिचान गलेश्वर बाबा –ईश्वरानन्द ब्रम्हचारी ) ले गराएका हुन् । विसं १९९२ मा गलेश्वर आश्रम स्थापना गरेर देवघाटको संरक्षण र प्रवद्र्धनमा लागेका गलेश्वर बाबापछि आएका योगी सन्यासीहरुले यसको विकासमा लागे । देवघाटमा विद्यालय, खानेपानी सडक जस्ता विकासका पूर्वाधारहरु पनि यिनै योगी सन्यासीहरुको पहलमा भएको देखिन्छ । तनहूँको देवघाटतर्फ विशेष तीन आश्रमको बढी योगदान भए जस्तै चितवनतर्फ शिक्षा र पूर्वाधार विकासमा स्वामी डिल्लीराम बाबा (दण्डी स्वामी ) को पहल बढी छ । गलेश्वर आश्रमले भने विकासको फड्को मार्न लागेको वर्तमान पिठाधीश आत्मनन्द गिरीको पालादेखि हो । विसं २०५३ चैत २९ गतेवाट गलेश्वर आश्रममा स्वामी आत्मानन्द गिरी जी महाराज पिठाधीश भएर आएपछि यहाँ विद्यापीठदेखि धर्माथा औषधालय र वृद्धाश्रमदेखि धर्मशालासम्मको निर्माण भएको हो’, आश्रमका सचिव महेन्द्र प्याकुरेलले भने ।
महेश सन्यास आश्रमले सञ्चालन गरेको गुरुकुल स्व स्वामी रामानन्द गिरी र हरिहर सन्यास आश्रमको विद्यापीठ स्व स्वामी परमानन्द सरस्वतीले स्थापना गरेका हुन् । अहिले हरिहर आश्रमका पिठाधीश स्वामी ज्ञानानन्द स्वरस्वती र महेश सन्यास आश्रमका पिठाधीश स्वामी रमणानन्द गिरी छन् ।
योगी सन्यासीहरुले सरकारले नै गर्न नसकेको विकासका काम गर्नका लागि बजेटको व्यवस्था भने उनीहरुले नै गरेका प्रवचनहरुबाट उठेका दान र भिक्षा नै हो । ‘विकास निर्माण र पूर्वाधारको विकास बाहेक एउटा गलेश्वर आश्रमको मात्रै खर्च महिनामा १० लाख बढी छ । यस्ता ठूला आश्रम देवघाटमा तीनवटा छन्’ । प्रध्यापक गुरुप्रसाद सुवेदीले भने, ‘घर गृहस्थ नै त्यागेका योगी सन्यासीहरु प्रति सर्वधारणको पनि विश्वास बढी भयो र विकास निर्माणका लागि दान सहयोग र भिक्षाबाटै बजेटको पनि ब्यवस्था हुँदै गयो ।’
सरकारले देवघाटको विकासका लागि देवघाट क्षेत्र विकास समिति गठन गरेको छ । क्षेत्र विकास समितिले गर्न नसकेका पूर्वाधार विकासका काम यहाँका योगी सन्यासीहरुले गरिरहेका छन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकप्रसाद पौडेल सन्यासीको पहलको प्रशंसा गर्दै अब क्षेत्र विकास र आश्रमको साझा एजेण्डा देवघाटको धार्मिक पर्यटकीय क्षेत्रको विकासमा लाग्नुपर्ने धारणा राख्छन् ।
‘अब समग्र देवघाटको विकासमा लाग्नुपर्छ’, उनले भने, ‘आश्रमहरुले गरेका विकासका कामलाई योजनाबद्धरुपमा विकास निर्माणको दीर्घकालीन कार्यक्रम भित्र समेट्दै लैजानुपर्छ ।’
प्रध्यापक सुवेदी पनि देवघाटका आश्रमहरुले पनि अब दिर्घकालीन योजनाहरु अगाडि बढाउनुपर्ने तर्क गर्छन् । उनले भने, ‘अहिले योगी सन्यासीको प्रवचन र भिक्षा मागेकै भरमा सञ्चालनमा आइरहेका आश्रमहरुलाई अब दीर्घकालीन योजनाका साथ अगाडि बढाउनुपर्ने जरुरी छ । जसले देवघाटको थप विकासमा टेवा पुग्ने छ ।’

Comments

About the author

चितवन पोष्ट