गृह » भरतपुरमा क्यान इन्फोटेक सुरू, ‘प्रविधिको विकासबाट समृद्धि सम्भव’ 
प्रमुख समाचार प्रविधि

भरतपुरमा क्यान इन्फोटेक सुरू, ‘प्रविधिको विकासबाट समृद्धि सम्भव’ 

किशोर खनाल
भरतपुर । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) चितवन शाखाले भरतपुरमा डिजीकम क्यान इन्फोटेक सुरू गरेको छ । तेस्रो संस्करणको रुपमा सात वर्षपछि चितवन एक्स्पो सेन्टरमा आईटी मेला आयोजना गरिएको हो । मेला माघ २९ गतेसम्म चल्नेछ । यसअघि चितवनमै ०६५ साल र ०६७ सालमा क्यान इन्फोटेक मेला गरिएको थियो ।
मेलाको उद्घाटन रोबर्टबाट गरिएको थियो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सांसद कृष्णभक्त पोख्रेलले सूचना प्रविधिको विकासबाट नै समृद्धि सम्भव रहेको बताए । उनले सूचना प्रविधिले फड्कोसँगै देशले विकासमा पनि फड्को मार्ने बताए । सूचना प्रविधिको विकासबाटै अन्य देशहरु अघि बढेको बताए ।
मेलाको अवलोकन गरी नयाँ प्रविधिको बारेमा जानकारी लिन आउनेहरुको बाक्लै भीड थियो । कार्यक्रममा विभिन्न स्कुलहरुबाट विद्यार्थीहरु सहभागी भएका थिए । ‘चितवनको समृद्धिः सूचना प्रविधि’ भन्ने मूल नाराका साथ सुरू भएको मेलामा ८० वटा स्टलहरु रहेका क्यानका चितवन अध्यक्ष भानु शर्माले जानकारी दिए ।
मेलामा कम्प्युटर, मोबाइल, ल्यापटप, प्रिन्टर, नेटवर्किङ प्रडक्ट, इन्टरनेट, सेवाप्रदायक, स्मार्ट टिभी, सफ्टवेयर, आईटी, कम्प्युटर इन्जिनियरिङ कलेज, सेक्युरिटी कन्सल्टेन्सीलगायतका स्टलहरु रहेका अध्यक्ष शर्माले बताए ।
कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले सूचना प्रविधिको मेलाले अहिलेको नयाँ पुस्तालाई क्रियटिभ बनाउनेमात्र नभई देश समृद्ध बन्ने बताए । अक्सफोर्ड कलेजका प्राचार्य इञ्जिनियर हरि भण्डारीले यस्ता खालका मेलाले सूचना प्रविधिमा अघि बढ्न सकिने बताए । कार्यक्रममा क्यान महासंघका अध्यक्ष हेमन्तकुमार चौरासिया, उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष चुननारायण श्रेष्ठलगायतका वक्ताहरुले मन्तव्य दिएका थिए ।
क्यान महासंघ चितवनका सचिव सन्तोष भुसालले मेलामा २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको बताए । उनले भने, ‘इन्फोटेकले चितवन जिल्लामा सूचना एवम् सञ्चार प्रविधिको प्रवद्र्धन एवम् जनचेतना अभिवृद्धि गर्नेछ ।’
मेलाको प्रमुख आकर्षणमा विभिन्न प्रविधिको प्रदर्शनी गरिएको छ । मेला सम्पन्न गर्न ७१ लाख खर्च हुने अनुमान गरिएको छ । अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँनयाँ प्रविधि, उपकरणको अवलोकन तथा खरिदसमेत गर्न पाएका छन् ।
मेलामा चितवनका १० कलेजका विद्यार्थीहरुले स्मार्ट सिटी सम्बन्धी नयाँ–नयाँ प्रविधिहरु प्रस्तुत गर्ने छन् । कुनै पनि सामुदायिक विद्यालयले विद्यालयको सिफारिसमा सामूहिकरुपमा आए प्रवेश शुल्क नलाग्ने क्यान चितवनले जनाएको छ । आफ्ना प्रडक्ट र सेवाहरु विस्तार गर्ने उद्देश्यसहित सहभागी भएका कम्पनीहरुले छुट र अफरहरु सार्वजनिक गरेका छन् ।
काठमाडौँमा इन्फोटेक मेला सकिएको एक सातापछि चितवनमा गरिएको क्यान महासंघका केन्द्रीय अध्यक्ष हेमन्त चौरसियाले बताए । उनले चितवनपछि बुटवल, पोखरा र सुनसरीमा मेला आयोजना गरिने बताए ।

Comments

About the author

चितवन पोष्ट