गृह » व्यक्ति उखान समष्टि अर्थमा चरितार्थ हुनु दुःखद
विचार

व्यक्ति उखान समष्टि अर्थमा चरितार्थ हुनु दुःखद

– डा. धनपति कोइराला
dpk2068@gmail.com
एकदिन नवलपुरको एउटा कलेजले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा विद्यार्थी लिएर म पनि सहभागी हुन पुगेको थिएँ । निर्धारित समयमा कार्यक्रम आरम्भ भएपछि प्रश्नहरु सोधिन थाल्यो । धेरैजसो प्रश्नको उत्तर आइरहे पनि केही प्रश्नको उत्तर भने दर्शक तथा श्रोतादीर्घाले पनि दिइरहेका थिए । त्यस्ता प्रश्नहरुमध्ये केही प्रश्न यस्ता थिए– जब भयो राति तब बूढी ताती भन्ने उखान कुन देशमा चरितार्थ हुन्छ ? पालो परेको समूहले तुरून्तै उत्तर दिइहाल्थ्यो, ‘नेपाल’ । अर्को प्रश्न पनि त्यस्तै खाले सोधियो । सहरमा आगो लागेपछि मात्र कुवा खन्न आदेश दिने देश कुन हो ? पालो परेको समूहले यसको पनि उत्तर तुरून्तै दिइहाल्थ्यो, ‘नेपाल’ । दिशा गरेपछि मात्र चर्पीको दैलो देख्ने नेतृत्व भएको देश कुन हो ? ‘नेपाल’ । अनुदान सहयोगमा आएको वस्तु बेलैमा वितरण नगर्ने, सडाएर फाल्ने अनि त्यही सडेको वस्तु पनि फालिएका ठाउँबाट उठाएर उपभोग गर्ने नागरिक भएको देश कुन हो ? ‘नेपाल’ ।
यो सवाल र जवाफले मलाई भित्रैबाट झक्झक्यायो । राति भएपछि मात्र बूढी तात्ने, आगलागी भएपछि मात्र कुवा खन्न तरखर गर्ने, दिशा गरिसकेपछि मात्र दैलो देख्ने भन्ने प्रवृत्ति व्यक्ति, व्यक्ति हुँदै समूह र समूह हुँदै जातीय संस्कृतिको रुप धारण गरिसकेको आभास प्रतियोगीले विनासमय लिएर तुरून्तै दिएको उत्तरबाट भयो ।
हुन पनि यस वर्ष शीतलहरले तराईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट आदि जिल्लामा कैयौँ दिन दिनभरि दिनभरिजसो घाम नलागेर जनजीवन कठ्याङ्ग्रियो । ओढ्ने, ओच्छ्याउने र लगाउने कपडाको अभावमा रक्तसञ्चार नै स्थिर भयो । यसले दुई दर्जनजति नागरिकको त ज्यान लियो । बल्ल दैवी प्रकोप राहत कोषका अधिकारीहरु चटपटाए । सरकारका कान र आँखा खोलिएजस्ता भए । मानौँ उनीहरु घोर कुम्भकर्ण निद्रामा लीन थिए । बल्ल रसास्वादनको सुवास महकिएपछि बल्ल ब्यँुझिए । तब करिब शीतलहरको कहर पनि झन्डै दुईतिहाई समाप्त भइसकेको थियो । पुलिस क्लब, सशस्त्र क्याम्प, राहत कोषका भण्डारहरुमा रहेका जगेडा सिरक, कम्बल, डस्ना, सुइटर आदि र राहत रकम लिएर तराई झरे । त्यही प्राप्त रकमबाट उनीहरुले आपूmलाई चाहिने न्याना कपडाहरु किन्ने हो । तर, अब कुन जाडोका लागि ? जुन रकम अझै पनि कतिपय जिल्लामा वितरण भएकै छैन ।
यस्तै स्थिति देखा प¥यो र अहिले पनि देखा परिरहेको छ, भूकम्पपीडितहरुलाई प्रदान गरिएका राहत वस्तु र घर बनाउनका निम्ति दिइने भनिएको आर्थिक सहयोगमा पनि । भूकम्प गएका बखत बिचल्ली भएका नेपाली नागरिकलाई विभिन्न व्यक्तिले लत्ताकपडा, चामल आदि वस्तु दिएर सक्दो सहयोग गरे । उद्योगपति, व्यवसायी, पुँ्जीपतिदेखि विभिन्न संघसंस्थाले पनि सक्दो सहयोग गरे । विभिन्न दातृ मुलुकले पनि जिन्सी सामग्री, खाद्यान्न, लत्ताकपडा, पाल आदि वस्तुहरु दिए । एकद्वार प्रणालीअनुसार वितरण गर्ने भन्दै निकै कडाइ पनि गरियो । कतिपयले आफैँ सम्बन्धित क्षेत्रमा गए र वितरण गरे । त्यसको फोटो खिचे र फेसबुकमा राखी साक्षी प्रमाण पनि प्रस्तुत गरे । कतिपयले राम्ररी वितरण गर्न नपाउँदै गाउँलेहरु आएर जफत गरिएको खबर पनि आयो ।
सरकारले भने ती सामग्रीहरुमध्ये केही मात्रामा वितरण ग¥यो, धेरैजसो वितरण गर्नुको सट्टा भण्डारण गरेर राख्यो । यस्तो नीति अपनाउँदा कतिपय सामग्रीहरु व्यक्तिको गोदाममा सङ्कलित हुनपुगे । यस्को एउटा साक्ष्य सिन्धुपालचोकका भूकम्पग्रस्त विद्यालयको पुनर्निर्माणका निम्ति दिइएको जस्तापाता तत्कालीन अर्थमन्त्री डा. रामशरण महतका स्वकीय सचिवले आप्mनो इच्छाइएको व्यक्तिको गोदाममा लगी भण्डारण गरेको रहस्य खुल्यो । यसपछि उनले स्वकीय सचिव पदबाटै राजीनामा दिनुप¥यो ।
भूकम्पपीडितहरुका नाममा आएका कतिपय वस्तुहरु सरकारले वितरण नगरीकन सुरक्षित गरेर राखिएको भनिए पनि असम्बन्धित व्यक्तिहरुका माझमा पनि भित्रभित्रै वितरण हुनेगरेको गुनासो पाइन्छ । यसबाट बचेका वस्तुहरु समयमै वितरण हुनुका सट्टा लगनपछिको पोतेसरह हुने गरेको छ । भूकम्पपीडितकै नाउँमा बङ्गलादेशले दिएको कैयौँ टन चामल वितरण नगरी पहिले भण्डारण गरी राखियो । केही बर्खामा भिजेर केही त्यसैको ओसले प्रभावित भएर, केही घून र कीरा लागेर खान नमिल्नेजस्तो अवस्थामा पुगेपछि सस्तोमा बिक्रीका लागि कालिकोट, आछाम, बझाङ, बाजुरा, हुम्ला आदि डिपोमा पठाइयो । तीमध्ये थोरै बिक्री भए पनि सडिसकेकाले बिक्री हुन सकेन र त्यसै फालिएको खबरले सञ्चारमाध्यममा प्राथमिकता पायो ।
यस्तै, २०६६ सालमा सप्तकोशीले मोरङ र सुनसरी जिल्लामा महाविपत्ति पैदा ग¥यो । हजारौँ नेपाली यसबाट प्रत्यक्ष प्रभावित भए । बाँध भत्कने अवस्था देखिँदादेखिँदै पनि सरकारले न जनतालाई सचेत तुल्यायो, न त उसले कोशी बाँधका ढोकाहरु नै खोल्न कुनै प्रयत्न ग¥यो । न त त्यसबेला दैवी विपत्ति हुने पूर्वाभास पाएर पनि विपत् व्यवस्थापन गर्न त्यसबेला पनि सरकारले कुनै त्यस्तो तयारी गरेको देखिएन । त्यसबेला पनि सरकारी पक्ष निकै मूकदर्शक बन्यो । बरू, गैरसरकारी सँंस्थाको सक्रियता निकै सराहनीय रह्यो । यद्यपि, बाढीमा फँसेकाहरुको उद्धारमा सेना र सशस्त्रका उद्धारकर्मीहरुले ज्यानको बाजी थापे र कैयौँलाई बचाए । तर, त्यसपछिको राहत तथा बसोबास व्यवस्थापनमा भने सरकार प्रभावकारी बन्न सकेन । पूर्वतयारी त कता हो कता, विपत्पछि गर्नुपर्ने कार्यमा समेत हाम्रो सरकार गँड्यौले चाल देखाउँछ ।
गर्मीमा नेपालगन्ज, धनगढी, जनकपुरजस्ता सहरको तापक्रम ४८÷४९ डिग्री सेल्सियससम्म पुग्छ । जाडोमा यी सहरहरु १५÷१६ डिग्रीसम्म र हिमाली क्षेत्रका जोमसोम, सोलुखम्बु, मुस्ताङमा माइनस ७÷८ भन्दा तल झर्छ । बर्खामा यहाँका नदीनालाहरु उर्लिएर आउँछन् । बाटो, पुलपुलेसा र बाँधहरुसमेत भत्काएर व्यापक धनजनको क्षति गराउँछन् । वसन्त ऋतुको आगमनसँगै उर्लने आँधीहुरीले वनमा मात्र नभई गाउँसहरसमेत आगलागी भई उजाड तुल्याउँछ । यस्तो विपत्ति हरेक वर्ष दोहोरिन्छ भन्ने तथ्यबाट सरकार, सम्बन्धित निकाय र स्वयं नागरिक अनभिज्ञ छैनन् । तर पनि सरकार कहिल्यै सजग र सचेत भएको जस्तो व्यवहार गर्दैन ।
अहिले त झन् स्थानीय तह क्रियाशील भएको छ । जनप्रतिनिधिहरु पनि भर्खरै निर्वाचित भएर आएका छन् । आपतविपत्मा खर्च गर्नका निम्ति बजेट पनि छ । जनताको सेवामा आपूmलाई समर्पित गर्ने अवसर पनि छ । तर पनि यो तह त्यति क्रियाशील देखिएन । क्रियाशील देखियो तर निकै ढिला गरी, चौतर्फी दबाब सिर्जना भएपछि मात्र । जाडोले कठ्याङ्ग्रिन लागियो, वीरगन्ज महानगरपालिका, जनकपुर उपमहानगर, गौर नगरपालिका आदि नगरपालिकाहरुले दाउरा, कम्बल आदि उपलब्ध गराएन भन्ने जनआवाज गुञ्जियो सञ्चारमाध्यमहरुमा । त्यसपछि बल्ल केही स्थानमा दाउरा उपलब्ध गराइयो । आखिर दिनैपर्ने भएपछि पहिले नै स्रोतको खोजी गरी तयारी अवस्थामा किन नराख्ने ? किन बच्चाले रोएपछि मात्र दूध खुवाउने प्रचलन अन्त्य गरी समस्या पैदा भएको अनुभूति हुनासाथ आफैँ अग्रसर भएर पहिले नै वितरण नगर्ने ? कम्तीमा पनि स्थानीय तहमा जनप्रतिनिधिहरु आएको आभास त दिनैपथ्र्यो । उनीहरुले आप्mना अभिभावक आएको अनुभूति गर्ने थिए ।
हो, स्थानीय तहमा पदाधिकारी भएकैले राहत वितरणमा निकै सरलता र पारदर्शिता भएको मानवाधिकार आयोगको टिप्पणी आयो । यो हर्षको विषय हो । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । केन्द्र सरकारभन्दा स्थानीय सरकार हरपल सँगसँगै रहने जनताका सुखदुःखका अभिभावक हुन् । आशा र भरोसाका धरोहरहरु हुन् । यसर्थ, जनताका पहिलो आशा र अपेक्षारुपी नजर यतैतिर टिकिरहन्छन् । यस तथ्यलाई जनप्रतिनिधिले अनदेखी गर्नुहुँदैन । सकेसम्म आप्mनो आर्थिक, भौतिक स्रोत र पहुँचअनुरुप सुविधा उपलब्ध गराउन कसैको मुख ताकिरहनु पर्दैन । यसका निम्ति मौसम र भौगोलिक परिवेशअनुरुप आप्mनो तहलाई आवश्यक पर्ने स्वास्थ्योपचार सामग्री, खाद्यान्न, पाल, लत्ताकपडा आदिको पूर्वतयारी गरिराख्नुपर्छ ।
जनताले पनि सरकारले दिएका सामग्रीको सदुपयोग गर्नु जरूरी छ । जाडो छल्न दिएका ब्ल्याङ्केट, कम्बल, सिरक, डस्ना आदि बस्तु पाहुनाका निम्ति भनेर साँची रातभरि जाडोले काँप्दै सोच्नु हितकर छैन । एकपटक दिएका सामग्री जतन गरेर चलाउँदा कम्तीमा ३÷४ वर्षको जाडो छल्छ । अर्को वर्ष जाडोमा दिइहाल्छ नि भन्दै जथाभावी फाल्ने, कसैलाई दिइहाल्ने गर्नुहुँदैन । त्यसको जगेर्ना गर्नुपर्छ । सधैँ मागेर काम चलाउने वा आशैआशामा बस्ने प्रवृत्ति छोड्नुपर्छ । जस्तो भए पनि आप्mनो जोहो आफैँ गर्नुपर्छ । आफ्नो श्रमबाट अर्जेका सामानको माया लाग्ने र जतन पनि गरिने हुँदा एक–दुई पैसा जोगाउँदै आपूmलाई चाहिने सामान किन्नुपर्छ ।
सरकारले हरेक वर्ष सामान किनेर दिनुभन्दा आफैँ सामान किन्न सक्ने वातावरण निर्माण गरिदिनुपर्छ । साथै, दिनैपर्ने सामान बेलैमा दिने, राहत रकम पनि बेलैमा उपलब्ध गराउने व्यवस्था मिलाए गरिब असहायले त्यसको उपयोग गर्नेथिए । सरकार हुनुको अनुभूति गर्नेथिए । सुशासन र सुव्यवस्था झल्कने थियो । बिचौलिया र भ्रष्ट मनोवृत्ति हट्तै गई स्वावलम्बी, राष्ट्रभक्त असल नागरिक बन्नेथिए । दिशा गरेपछि दैलो देख्ने, आगो लागेपछि कुवा खन्ने जस्ता उखान चरितार्थ हुने थिएन र हाजिरी जवाफमा यस्ता प्रश्न सोध्नुपर्ने स्थिति पनि रहने थिएन । हाम्रा मुलुकको नेतृत्वले प्रायः दक्षिण छिमेकीहरुसँग गरेका सन्धि सम्झौताहरु राष्ट्रघाती छन् । त्यो तथ्य सन्धि सम्झौता गर्दाताका वास्ता नगर्ने, तर विरोध भएपछि मात्र थाहा पाएर पछुताउने प्रवृत्तिले जरा गाडेको स्थिति छ । यस्ता प्रवृत्तिमा समेत सुधार गर्न नसक्ने हो भने मुलुक अझै अप्ठ्यारोमा परिरहन्छ । अबको बागडोर सम्हाल्ने नेतृत्वले दिशा गरेपछि मात्र दैलो देख्ने उखानलाई चरितार्थ हुन दिनुहुन्न । जबसम्म दैलो फेला पारिन्न, तबसम्म दिशा नगरी धैर्यतापूर्वक उज्यालोको प्रतीक्षा गर्ने नत्र बत्तीको व्यवस्थापन गरी दैलो फेला पारेरै शौच गर्ने प्रवृत्ति आरम्भ गर्नु आवश्यक छ ।

Comments

About the author

चितवन पोष्ट