गृह » तराईमा बढ्दो महिला हिंसा
सम्पादकीय

तराईमा बढ्दो महिला हिंसा

तराईका जिल्लाहरुमा दिन प्रतिदिन महिला हत्या, हिंसा र सामाजिक उत्पीडनका घटनाहरु बढ्दै गएको पाइन्छ । तराईमा बढेको हिंसालाई प्रमाणित गर्न धनुषाको भर्खरै घटित एक दृष्टान्त काफी छ । पतिसँग सम्बन्धविच्छेद गर्न नमान्दा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–८ हार्सरकी २० वर्षीया हजरा खातुनलाई घरपरिवारले जीउमा मट्टीतेल खन्याएर हत्या गर्ने प्रयास गरे । टाउकोभन्दा तल शरीरका सबै भाग जलेर गम्भीर घाइते भएकी हजराको अहिले काठमाडौँको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । तराईका जिल्लाहरुमा दहेज (दाइजो)को निहुँमा जिउँदै जलाएर मारेका कैयौँ दुष्टान्त छन् । पूर्व मेचीदेखि पश्चिम महाकाली अञ्चलसम्मका सार्वजनिक सञ्चारमाध्यमहरुमा प्रकाशित यस्ता घटनाहरुको मात्र विश्लेषण गर्ने हो भने पनि त्यही वास्तविकतालाई पुष्टि गरिरहेको छ । सम्बन्धविच्छेद गर्न नमान्दा परिवारका सदस्य मिलेर हत्या नै गर्ने उद्देश्यले एउटी युवतीलाई जिउँदै जलाउने कुकृत्य गरे, यसले सभ्य समाज निर्माणमा पटाक्षेपमात्र गरेको छैन तराईमा महिलाहरु कतिसम्म असुरक्षित रहेछन् भन्ने पनि देखाएको छ ।
दिनहुँजसो अखबारका पानाहरुमा तराईमा बढ्दै गएका महिला हिंसासम्बन्धी घटनाहरु समाचार बनेर प्रकाशित भैरहेका छन् । अशिक्षा, गरिबी, अन्धविश्वास र दाइजो ल्याउन नसकेका कारण महिला हिंसाले प्रश्रय पाइरहेको अनुमान गर्न सकिन्छ । मुलुकमा अपराध नियन्त्रण गर्ने कानुन भएता पनि त्यसको उचित कार्यान्वयन र दोषीमाथि कारबाही नहुँदा महिला हिंसाका घटनाहरु बढ्दै गएको हुन सक्छ । प्रहरी अनुसन्धान फितलो भएर पनि दोषीहरुले सजाय नपाएको पीडितपक्षको गुनासो सुनिन्छ । तराईमा महिला हिंसासम्बन्धी अधिकांश घटनाहरु गाउँमै पीडितपक्षलाई आर्थिक प्रलोभनमा पारेर मिलापत्र गर्ने घृणित परम्परा पनि जीवितै रहेको छ । कानुनसम्बन्धी अज्ञानता, चेतनाको कमी र अपराध सहने प्रवृत्तिजस्ता कारणले महिला हिंसालाई निरन्तरता दिइरहेको अनुभव गरिएको छ ।
प्रत्येक जिल्लामा प्रहरी सक्रियता बढाइएको दाबी गरिएता पनि महिला हिंसा न्यूनीकरण हुन नसक्नुमा जरो गाडेर बसेको बोक्सी प्रथासम्बन्धी अन्धविश्वास र दाइजो नै प्रमुख कारण भएको घटनाक्रमहरुले देखाएको छ । महिला हकहितको सुरक्षा र लैंगिक समानताको पक्षमा वकालत गर्न पीडितलाई न्याय दिलाउन राष्ट्रिय महिला आयोग बनेको छ । तर, ग्रामीण स्तरमा दिनहुँजसो घटिरहने महिला हिंसा रोक्न र पीडितलाई न्याय दिलाउन यो आयोग अपेक्षित मात्रामा सफल हुन सकेको छैन । शिक्षित महिलाहरु बसोबास गर्ने राजधानी र अन्य प्रमुख सहरहरुमा लैंगिक समानतासम्बन्धी गोष्ठीहरु गरेरमात्र यो आयोगले आफ्नो अस्तित्व धानिरहेको छ । त्यसको सट्टा तराईका गाउँगाउँमा दाइजो प्रथा र बोक्सी प्रथाजस्ता सामाजिक कलंकका विरूद्ध चेतना जागृत गराउने खालका कार्यक्रमहरुको आयोजना गर्न सकिएमा भविष्यमा धेरै हदसम्म अपराधको मात्रा घट्ने अनुमान गर्न सकिन्छ । यसतर्फ सरोकारवाला सबैको ध्यान जानु अति जरूरी भैसकेको छ ।

 

Comments

About the author

चितवन पोष्ट