गृह » ‘नारायणी टुडे’को सत्रौँ वार्षिकोत्सवको अवसरमा थाइल्यान्ड भ्रमण
विचार

‘नारायणी टुडे’को सत्रौँ वार्षिकोत्सवको अवसरमा थाइल्यान्ड भ्रमण

– वीरेन्द्रमणि पौडेल
नारायणी टुडेको इतिहाससँग मेरो नाम जोडिएको छ । जोडिन त यसको पहिलो वार्षिक सदस्य भरतपुर महानगरपालिका–७ का खेमराज ओस्ती, दोस्रो रोहिणीप्रसाद अधिकारी र तेस्रो सदस्य नारायणगढका महेन्द्रलाल प्रधानको पनि यो मासिक नारायणी टुडेसँग इतिहास जोडिएको छ । चितवनमा १७ वर्षअघि जन्मिएको नारायणी टुडेको उत्पत्ति २०५६ सालमा भएको हो । कुनै बेला मेरो मन–मस्तिष्कलाई झट्का लाग्ने खालको एउटा कथा पढ्न पुगेँ । कतै लेखिएको थियो– “देशले तिमीलाई के दियो होइन, देशलाई तिमीले के दियौ त्यो मह¤वपूर्ण हुन्छ ।” ठ्याक्कै यिनै शब्दहरु नभए पनि आशय बिल्कुल यही थियो कि देशले के दिन्छ भन्ने आशा गर्नुहुन्न, जेजति सकिन्छ देशलाई दिनुपर्छ भन्ने थियो । त्यतिबेलादेखि नै मेरो आत्मामा जेजति सकिन्छ देशका लागि सहयोग गर्नुपर्छ भन्ने आयो र बुझ्दै जाँदा अरु पेसाभन्दा पत्रकारितामार्फत राष्ट्रलाई मह¤वपूर्ण योगदान दिन सकिने ठम्याएपछि म यतातिर लस्किएँ ।
नारायणी टुडे सत्र वर्षसम्म बाँचिरहेको छ । विज्ञहरु भन्छन्– “संसारमा सबैभन्दा गाह्रोमध्येको गाह्रो काम पत्रपत्रिका प्रकाशन गर्ने हो, त्यसमाथि पनि निरन्तर प्रकाशन गर्ने काम त झनै गाह्रो हुन्छ ।” तर खासगरी चितवनका जनताको सामाजिक, आर्थिक, राजनीतिक चेतनास्तर ह्वात्तै उकासिएको कारण नारायणी टुडे कहिलेकाहीँ धर्मराएर पनि बाँच्यो, बन्द भएन । मेरो मेहनत आफ्नै ठाउँमा होला तर चितवनका विभिन्न पेसाका नागरिकहरुको सहयोग नभएको भए नारायणी टुडे उहिल्यै बन्द भइसक्थ्यो, यसमा मलाई कत्ति पनि शंका छैन । आवश्यकताले नै होला चितवनका जनताले नारायणी टुडेलाई आजसम्म जीवित राखेका छन्, सबै खाले सहयोग उपलब्ध गराएर । नारायणी टुडे पत्रिकाले कसैलाई पनि आजसम्म भेदभाव गरेको छैन । झुक्किएर पनि पत्रकारिता आचारसंहिता तोड्न हुन्न भन्ने हामीलाई राम्रोसँग थाहा छ । आफ्नो कर्तव्यलाई पहिलो प्राथमिकता दिएर नारायणी टुडे अघि बढ्दै गयो । प्रत्येक वर्ष आफ्नो सबै खाले हैसियतअनुसार वार्षिकोत्सव पनि मनाउँदै गयो । वार्षिकोत्सव मनाउनुको अर्थ हामी जीवित छौँ, नारायणी टुडे जीवित छ र यसले जनताको सुसूचित हुने अधिकारको पक्षमा काम गरिरहेको छ भन्ने सन्देश दिनु थियो । १६ औँ वार्षिकोत्सव नेपालभित्रै मनायौँ ।
एकदिन मेरो मनमा एउटा संकल्प चल्यो । विदेशमा नारायणी टुडेको वार्षिकोत्सव मनाउने संकल्प, यस्तो संकल्प चल्नुको अरु कारण थिएन । थियो त, नेपाल र अरु देशको विकास, निर्माण र प्रगतिको अनुभव साटासाट गर्ने र सिक्ने सिकाउने प्रक्रियामा सहयोग पु¥याउने । हामी विदेश जाँदा हामीले अरु देश किन विकसित भए, कसरी आर्थिक समृद्धि हासिल गरे, केकस्ता चुनौती र कठिनाइहरुसँग सामना गरे ? भन्ने जानकारी प्राप्त गर्न सक्छौँ भने अरु देशलाई हाम्रो देशको कला, संस्कृति, इतिहास, प्राकृतिक सम्पदा आदिबारे जानकारी गराएर हार्दिकता विकास गर्न सकिन्छ । यही मेसोमा विदेशीहरुलाई पर्यटकका रुपमा भित्र्याउन सकिन्छ र आर्थिक समृद्धिको ढोका खोल्न सकिन्छ । विभिन्न कोणबाट फेरि सोचेपछि निष्कर्ष सकारात्मक आउने बुझेपछि म सबैभन्दा पहिले नारायणी टुडेको वार्षिकोत्सव थाइल्यान्डमा मनाउने निष्कर्षमा पुगेँ । थाइल्यान्ड नेपालबाट धेरै टाढा छैन । जेट विमानको उडानमा ३ घन्टामा थाइल्यान्ड पुगिन्छ । खर्चका हिसाबले पनि अरु देशको तुलनामा थाइल्यान्ड सस्तो छ । थाइल्यान्डबारे मैले त्यहाँ घुमेर आएका मेरा शुभचिन्तक मित्रहरुबाट जानकारी लिएको थिएँ, तर जानकारी लिएरमात्रै पर्याप्त हुने कुरा भएन । आफ्नो भौतिक उपस्थितिले जति सहयोग प्राप्त हुन्छ, उति सुनेकै भरमा हुने कुरा होइन । त्यस कारण, म वार्षिकोत्सव पूर्वतयारीका लागि पहिलोपटक थाइल्यान्ड गएँ । करिब १ हप्ता बसेर फर्किएँ । मलाई आत्मविश्वास पलायो । अब म वार्षिकोत्सव मनाउन थाइल्यान्ड जान सक्छु भन्ने लाग्यो ।
नेपाल फर्किएपछि मैले मेरा मित्रहरुसँग छलफल र सरसल्लाह गरेँ । करिब ५० जना वार्षिकोत्सवमा सरिक हुन राजी भए । पासपोर्ट, आवश्यक कागजपत्र र रूपैयाँ संकलन प्रक्रिया सुरू भयो । तर एउटा नरमाइलो अवस्था के सिर्जना भयो भने नारायणगढका मेरा हितैसी मित्रहरुमध्ये सचिन बानियाँको पासपोर्ट ठीक समयमा बनेन । बनाउन दिएको पासपोर्टको फोटोमा थोप्लाथोप्ली देखियो भन्ने रिपोर्टका साथ पासपोर्ट बनाउनका लागि फेरि प्रक्रिया अगाडि बढाउन पर्ने भयो । तोकिएको समय नजिक आएको कारण उहाँलाई पर्खिन सकिएन । नारायणगढका साथीहरुले एउटा साथीलाई छाडेर जाने कुरा पनि आएन । सनदकुमार पिया, वामदेव शर्मा, रमेश जोशी, मणिभद्र कँडेल, सचिन बानियाँ, मुक्तिलाल पिया, राजु पिया, राजु कार्कीलगायत करिब ९ जना साथीहरु वार्षिकोत्सवमा सरिक हुन नसक्ने अवस्था आयो । यो संस्मरण लेखिरहँदा चितवनमा प्रमुख जिल्ला अधिकारीको रुपमा नारायण भट्ट आउनुभएको छ । नारायणी टुडेको वार्षिकोत्सव प्रक्रिया अघि बढ्दा विनोदप्रकाश सिंह प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो । उहाँलाई हामीले वार्षिकोत्सवमा सहभागी हुनका लागि निम्ता दिएका थियौँ । उहाँले मिलेसम्म जाने बताउनुभयो र उहाँ र उहाँको श्रीमतीको पासपोर्ट दिनुभयो । तर, विशेष कारणवश उहाँहरु जान सक्नुभएन । पत्रकार नवराज ढकालले पासपोर्ट बुझाएको १ हप्तापछि “म त जान नसक्ने भएँ” भने । अर्को एक जना अर्याल थरका पत्रकारले कहिले जाने कहिले नजाने भन्दै अन्तिम समयमा आएर जाने भनेर पासपोर्ट बुझाए । भिसा लागेर आयो, तर फेरि “मेरो त जग्गासम्बन्धी कारोबार सल्ट्याउन पर्ने भयो, म त जान्नँ” भने । आफ्नै विचारमा पिङ खेल्ने साथीले रमाइलो ठट्टा गरे । तैपनि, दुःख लागेन । किनभने, तिनी मेरा सम्भावित मलामी हुन् । मैले एक जना औधी मेहनती, साहसी, चौपट्टै बाठी पत्रकार महिलालाई वार्षिकोत्सव मनाउने सिलसिलामा थाइल्याण्ड जान अनुरोध गरेको थिएँ । जाने जाने खालको कुरा गर्दै थिइन्, तर उनी पनि गइनन् । एकलट मैले वार्षिकोत्सवमा जसरी पनि जानुपर्छ है भनेर कृष्ण गिरी, रमेशकुमार पौडेल, सूर्यप्रकाश कँडेल, एकल सिलवाललाई अनुरोध गर्ने सोच बनाएको थिएँ तर हुलमुलमा मैले भनेँ कि भनिनँ, मलाई आज पनि याद छैन । मैले भन्न बिर्सेको भए पक्कै उनीहरुले त्यो शीर्षकमा चित्त दुखाएको हुनुपर्छ । जग्गा खरिद–बिक्रीकर्ताको पहिचान बनाएका समाजसेवी बाबुराम अधिकारीको पासपोर्टमा भिसा लाग्यो, तर अकस्मात् विशेष कार्यक्रम परेको बताएर उनी पनि थाइल्यान्ड गएनन् । यसरी मानिसहरु घट्दै घट्दै जेट प्लेन चढ्ने बेलासम्ममा जम्मा २८ जना भइयो । २८ जना थाइल्यान्ड पुगेर वार्षिकोत्सव मनाएर फर्कियौँ । थाइल्याण्ड जाने २८ जनामा जीतनारायण श्रेष्ठ (सभापति, नेपाली कांग्रेस चितवन), यमबहादुर परियार (नेकपा माओवादी केन्द्र, चितवन प्रमुख), हरिकला कँडेल (क्यानडियन नेपाली), श्रीमती सिर्जना पौडेल घिमिरे (सामाजिक कार्यकर्ता), विराट घिमिरे (इन्जिनियर भरतपुर महानगरपालिका), खिलबहादुर भण्डारी (उपाध्यक्ष नेपाल पत्रकार महासंघ, केन्द्रीय कार्यसमिति), दीपक आचार्य (प्रेस युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष), सुरेशचन्द्र अधिकारी (केन्द्रीय कोषाध्यक्ष, प्रेस सेन्टर नेपाल), सरोज ढकाल (श्री मेडिकल एण्ड टेक्निकल कलेजप्रमुख), हरिप्रसाद पोखरेल –अध्यक्ष, नेपाल पत्रकार महासंघ, चितवन), डा. बालकृष्ण थापा (न्यूरो सर्जन, क्यान्सर अस्पताल भरतपुर), नारायणप्रसाद अधिकारी (प्रेस युनियन चितवन, अध्यक्ष), तीर्थ नेपाल (प्रेस चौतारी चितवन, अध्यक्ष), श्रीमती विष्णु सापकोटा गौतम (सामाजिक कार्यकर्ता), कल्की काफ्ले (डा. कृष्ण काफ्ले र हरिकलाकी छोरी), आहव गौतम (बालक, डा. शुभ र विष्णु सापकोटाको छोरा), डा. कृष्ण काफ्ले (भेटेरिनरी सेन्टर, सहप्राध्यापक रामपुर क्याम्पस, कृषि पशुविज्ञान अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय), डा. शुभकान्त शर्मा गौतम (छालारोग विशेषज्ञ) नारायण ढुंगाना (पत्रकार, रासस) वसन्त पराजुली (पत्रकार), इन्द्रप्रसाद अधिकारी (फर्निचर व्यवसायी), श्रीकृष्णप्रसाद तिमल्सिना (पोल्ट्री व्यवसायी), मिलन सुवेदी (प्याथोलोजिस्ट), प्रकाश सुवेदी (थाइभाषा विज्ञ, सामाजिक कार्यकर्ता), रीता पोखरेल (सामाजिक कार्यकर्ता) र म वीरेन्द्रमणि पौडेल थियौं । जाने र आउने दिनसम्ममा निकै रमाइला र घतलाग्दा संस्मरणहरु यस्ता छन्, जसलाई छोटाछोटा शीर्षकमा व्याख्या गर्ने प्रयत्न गरिएको छ, ताकि पाठकहरुलाई बुझ्न सजिलो होस् र थाइल्यान्डसँग सरोकार राख्ने विभिन्न विषयमा जानकारी हासिल गर्न मद्दत मिलोस् ।
१. प्रमुखअतिथिको खडेरी
थाइल्याण्डको राजधानी बैंककस्थित होटल हाउवार्ड स्क्वायरमा मंसिर ७ गते १७ औँ वार्षिकोत्सव मनाउने निर्णय गरिएको थियो । हामी ठीक समयमा तयार हुन नसकेका कारण समय तालिका परिवर्तन गर्न प¥यो र ९ गते पताया सिटीमा वार्षिकोत्सव आयोजना गरिने भइयो । प्रमुखअतिथि कसलाई बनाउँदा ठीक होला भन्ने छलफल चलाउँदा साथीहरुले सबैभन्दा पहिले भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेलाई अनुरोध गर्ने कुरा भयो र सोहीबमोजिम ईश्वर जोशी, दीपक आचार्य, हरिप्रसाद पोखरेल र म मन्त्रीलाई भेट्न कालिका एफएमको पछाडिपट्टिको घरमा गयौँ । सबै कुरा सकारात्मक भयो । तर, उहाँले प्रमुखअतिथिका रुपमा थाइल्यान्ड जान सक्छु÷सक्दिनँ अहिल्यै भन्न सक्दिनँ भन्नुभयो । हामीले आशा त गरेका थियौँ, तर उहाँ पछि जान नसक्ने भन्नुभयो । उपराष्ट्रपति नन्दबहादुर पुनलाई अनुरोध गर्ने कुरा गर्दा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष खिलबहादुर भण्डारीले खर्च धेरै लाग्छ भन्ने सल्लाह दिनुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टलाई प्रमुखअतिथि बनाउन हामीले खुब जोडबल ग¥यौँ, तर जुनदिन हाम्रो फ्लाइट थियो त्यसदिनको २ बजेसम्म उहाँको जरूरी काम थियो, त्यसैले सम्भव भएन । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबरा पनि जान नपाउने हुनुभयो । थाइल्यान्डमा नेपाली राजदूतलाई बोलाउने कुरा भयो, तर पताया पुगिएका कारण त्यो पनि सम्भव भएन र हामीले एन.आर.एन.ए. थाइल्यान्डका उपाध्यक्ष महेन्द्र श्रेष्ठलाई प्रमुखअतिथिको रुपमा स्वागत ग¥यौँ र कार्यक्रम सम्पन्न ग¥यौँ ।
२. डलर साट्ने चटारो
लट लटमा पासपोर्ट पठाइएको हुँदा भोलिपल्ट ११ः३० को फ्लाइट छ, तर साँझ ५ बजेसम्म १० जनाको भिसा लागेको छैन । ट्राभल एजेन्सीका लक्ष्मण लम्सालजीले एक हप्ता ढिला गरौँ सजिलो हुन्छ भन्दै हुनुहुन्थ्यो, तर हाम्रा साथीहरुले जसरी पनि ठीक टाइममा जानुपर्छ, कुर्न सकिन्न भन्न थालेपछि उहाँले हतार हतार आरएनएसीको टिकट मिलाउनुभयो । यसरी मिलाउँदा पाँच जनाको टिकटचाहिँ विजनेस क्लासको पर्न गएछ । यो टिकट महँगो हुन्छ । सामान्य अतिरिक्त सुविधा पनि उपलब्ध हुने हुँदा महँगो हुने रहेछ । डा. बालकृष्ण थापा, दीपक आचार्य, बसन्त पराजुली, वीरेन्द्रमणि पौडेल र हरिकला कँडेलको टिकट विजनेस क्लासको रहेछ । यो विषयमा मलाई कत्ति पनि जानकारी थिएन । झन्, अरुलाई जानकारी हुने त कुरै भएन । यो परिस्थिति सिर्जना हुँदा केही साथीहरुले सामान्य चित्त पनि दुखाए होलान् । तर म र अरु चार जना बिल्कुल यो मामलामा निर्दोष थियौँ । धन कमाएका पत्रकार हुन्, नकमाएका हुन् वा मध्यम स्तरीय आर्थिक अवस्थाका किन नहून्, पत्रकारहरुको चिनाजानी बाक्लै हुन्छ । यस कारण, प्रायः पत्रकारहरुले चिनाजानीकै आधारमा डलरको लागि केही बैंक मेनेजरहरुलाई अनुरोध गरेका रहेछन् । तर, ५ बजेर घडीको सुई ६ तिर अघि बढिसक्यो, थाई एम्बेसीबाट भिसा लागेर पासपोर्ट आएको छैन । भिसा लागेका साथीहरु पासपोर्ट बोकेर डलर साट्न हिँडिसके । बाँकीहरु कोहीको ओठ सुकेको छ, कोही व्यवस्थापन कमजोर भयो भनेर मलाई सरापिरहेका छन् । कोही कतै भौँतारिएका छन्, झन्डै दुई घन्टाभन्दा ज्यादा समय हाम्रा लागि तनावपूर्ण रह्यो । बल्लबल्ल ६ बज्नै लाग्दा भिसा लागेर बाँकी साथीहरुको पासपोर्ट आइपुग्यो । साथीहरु दौडादौड गरेर डलर साट्न गए । त्यसदिन धेरै साथीहरु ठमेलको बुद्ध गार्डन होटलमा बस्यौँ । त्यो होटल मेरो बाल्यकालको साथी अनिक थापाले सञ्चालन गरेका छन् । प्रतिष्ठित कहलिएको त्यो होटल सञ्चालनमा साथी अनिकले गतिलै मेहनत गरेका रहेछन् । मलाई औधी खुशी लाग्यो । भोलिपल्ट बिहान आठै बजे एयरपोर्ट पुग्न पर्ने भएको हुँदा सबै जना हतार हतार गन्तव्यतिर जान तयार भयौँ । मेरो ध्यान भने मान्छे संख्या गन्नमै थियो, कतै कोही छलिए भने गालजति सबै आफ्नै टाउकामाथि आइलाग्ने हुँदा मेरो अतिरिक्त ड्युटी पनि थपिएको थियो ।
३. ठीक समयमा भएको उडान
यसपटक हामी छक्क प¥यौँ । नेपाल एयरलाइन्सको काठमाण्डौँ–बैंकक फ्लाइट तोकिएकै समयमा भयो । यसो भन्ने गरिएको छ कि हाम्रो एयरलाइन्सको उडान कहिल्यै पनि ठीक समयमा हुँदैन । सधैँभरि एक–दुई घन्टा ढिलो हुन्छ, तर यसपटक त्यसो भएन । उडानअघि दीपक आचार्य र मेरो भेट भूतपूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसँग भयो । राजनीति र निर्वाचनसम्बन्धी केही कुराकानी भए । उप्रेतीले मुलुकको अवस्था चित्तबझ्दो नभएको प्रतिक्रिया दिए, साथमा आशावादी हुनुपर्छ पनि भने । हामीले दीपकजीको मोबाइलबाट उहाँसँग बसेर फोटो खिच्यौँ । जेट विमान थाइल्यान्डतर्फ उड्यो । विजनेस क्लासमा आफू बस्दा र अन्य मित्रहरु पछाडितिर बसेको देख्दा मनमा काउकुती लागिरहेको थियो, तैपनि जेजस्तो परिस्थिति आए पनि सम्हाल्नु र सम्हालिनुपर्छ भन्ने मैले पढेको पुरानो विद्या सम्झिएँ र डा. बालकृष्ण थापासँग भलाकुसारी गर्न लागेँ ।
४. सुवर्णभूमि एयरपोर्ट
तीन घन्टा ५ मिनेटको उडानपछि हामी बैंककको सुवर्णभूमि एयरपोर्टमा पुग्यौँ । त्यो एयरपोर्टको नाम “सुवर्णभूमि” नेपालका राजा वीरेन्द्रले राखिदिएको हल्ला हामीले पहिले पहिले पनि सुनेका थियौँ, तर हो÷होइन खुट्याउने यन्त्र हामीसँग छैन । सुनौलो जमिन भन्ने अर्थ सीधै लाग्ने भएको हुँदा थाई भाषा प्रयोग नभएको कारण नेपालकै राजाले त्यो एयरपोर्टको नाम राखिदिएको पनि हुनसक्छ । किनकि, उतिबेला नेपालमा राजतन्त्र कायम थियो । हाम्रो राजतन्त्र र त्यहाँको राजतन्त्रबीच साइनो र दोस्ती त पक्कै हुँदो हो । सुवर्णभूमि एयरपोर्टको झिलिमिली देखेर हाम्रो टोलीका सदस्यहरु चकित परे । ८० प्रतिशतभन्दा ज्यादा सहभागीहरु पहिलोपटक थाइल्यान्ड गएका थिए । मनमनै हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र थाइल्यान्डको सुवर्णभूमि एयरपोर्टको भौतिक उपस्थिति दाँजे होलान् र नरमाइलो माने होलान् । कुनै बेला एकैदिन एउटै मितिमा थाइल्यान्ड र नेपालले एउटा एउटा जेट विमान खरिद गरेर सञ्चालन गरेका थिए । थाईहरुले मेहनत गरेर, व्यवस्थापन गतिलो गरेर आज १०० ओटा जेट विमान सञ्चालन गर्न सफल भएका छन् तर नेपालसँग भने जम्मा तीन ओटा जेट विमान छ, त्यो पनि बिग्रिरहने, ग्राउन्डेड भइरहने, तीन ओटा विमानमा तीनै ओटाचाहिँ कहिल्यै सञ्चालनमा नआउने, बढीमा दुई ओटा चल्ने, नभए एउटामात्रै । प्रत्येक दिनको विदेश फ्लाइट नहुने, हप्तामा तीन दिनमात्रै हुने । थाई एयरपोर्टभित्रको चमकदार बत्तीहरुले दिएको उज्यालोका बाबजुद हाम्रो मन पूरा हाँस्न पाएको थिएन, किनकि हाम्रो यात्राको उद्देश्य पूरा भएको थिएन । मनमा खुल्दुली र बेचैनी बढेको थियो ।
५. पताया सिटी प्रस्थान
४ बजेको हाराहारीमा सुवर्णभूमि एयरपोर्ट बैंकक ओर्लिएका हामी पौने ५ बजेतिर पताया सिटी प्रस्थान ग¥यौँ । दुईतले बसको अगाडिको सिसाभित्र कागजमा “वीरेन्द्रमणि पौडेल” अंग्रेजीमा लेखिएको रहेछ । त्यो देखेर धेरै साथीहरु हाँसे । केही साथीहरुले त्यो नामको मोबाइलबाट फोटोसमेत खिचे । सबै जना गाडीभित्र पस्दा नौलो अनुभूति भयो । हामीलाई पतायामा ४ रात ३ दिन घुमाउने जिम्मा महिला गाइड ‘सुशी’को रहेछ । राम्रो अंग्रेजी बोल्ने तिनले आफ्नो खास नाम सुशी रहेको तर पर्यटकहरुले ‘ला’ थपिदिएर ‘सुशीला’ बनाइदिएका छन् भनिन् । तिनले हामीलाई इन्डियन टुरिस्ट भन्ठानेकी रहिछन् । हामी नेपाली हौँ, नेपालबाट आएका भन्दा तिनी अकमकाइन् । तिनले त्यो तरिकाले बुझ्नु पनि एककिसिमले ठिकै हो, किनभने १ लाख भारतीय पर्यटक थाइल्यान्ड घुम्न जाँदा मुस्किलले १० जना नेपाली थाइल्यान्ड घुम्न जाँदा रहेछन् । सुशीलाले माइकमा बोल्दै हामीलाई आज यो होटलमा यतिबजे पुग्ने, भोलि यतिबजे यो कार्यक्रम, यतिबजे नारायणी टुडेको कार्यक्रम भन्दै ब्रिफिङ गर्न थालिन् । हामीले ध्यानपूर्वक सुन्यौँ । ब्रिफिङ सकिएपछि तिनी चुप लागिन् । पत्रकार दीपेन्द्र अधिकारी ठट्टा गर्न लागे । तिनले सुशीलाले नेपाली भाषा नबुझ्ने भएको हुँदा “मोटी सुशीला दिदी” भन्दै जिस्क्याउँथे । दीपेन्द्र थाकेर चुप लागेपछि मिलन सुवेदी ठट्यौली गीत गाउँदै अघि आए । मिलन सुस्ताएपछि डाक्टर बालकृष्ण थापा जोक भन्न अघि सरे । डा. थापा संसारमै दुर्लभ मानिस हुन् । त्यस्तो न्यूरो सर्जनको संख्या संसारमै औँलामा गन्न सकिने खालको छ । फेरि यिनी साहित्यतर्फ पनि रूचि राख्छन् । कविता र लेखरचना पनि थुप्रै लेखेका छन् यिनले । डा. थापाले पनि गाडीभित्र भएकाहरुलाई खुब हँसाए । नबुझे पनि गाइड सुशीला सबै जना हाँसेपछि हाम्रो अनुहार हेर्दै हाँस्दै गर्थिन्, मैले पनि एउटा जोक सुनाएँ । जोक यस्तो थियो– “रामपुरको एउटा चोकमा थोत्रो गाडी लिलाम बढाबढ भइरहेको थियो । १५ लाख, २५ लाख, ४० लाख भन्दै थिए । मान्छेहरुले ठूलो–ठूलो रकम बोलिरहेका थिए । भीड देखेर सिडिओसापले ड्राइभरलाई गाडी रोक्न लगाएर भीड छिचोलेर अघि बढ्नुभो । थोत्रो गाडीलाई मच्ची मच्ची ठूलो रकम बोलिरहेको देखेर सिडियोसापले “यो थोत्रो गाडीलाई किन यति धेरै रकम बोलेका होलान् ?” सोध्नुभो । भीडबाट एउटाले जवाफ दियो– ‘पाँचपटक एक्सिडेन्ट पर्दा श्रीमतीचाहिँ बितेकी रहिछन् ।’ त्यसपछि सिडिओसापले हतारिएर बोली लगाउनुभो– “रू. ८० लाख ।”
करिब २ घन्टा बसयात्रापछि हामी पताया पुग्यौँ । हामीलाई रूम नम्बर र दुई–दुई जनाका लागि एउटा कोठा र परिवारका लागि एउटा एउटा कोठाको बन्दोबस्त गरेर को कहाँ बस्ने निधो गरिदिएर गाइड सुशीला आफ्नो बासस्थान गइन् । होटल “गोल्डन ट्युलिप” थियो । थाकेका साथीहरु सुते । जाँगरिलाहरु बजार घुम्न निस्किए ।
६. होटल गोल्डन ट्युलिप ः
दुई ओटा लिफ्ट जडान गरिएको, ७ तले होटल गोल्डन ट्युलिप सुविधाजनक थियो । रिसेप्सनमा थाई केटीहरु दुई–दुई जनाको दरले बस्दा रहेछन् । पाहुनाहरुलाई केही असुविधा हुन्छ कि भन्ने त्रासमा सधैँ बस्दा रहेछन् । कसैले केही सोध्न खोज्यो भने निकै हतारिएर सावधानीपूर्वक बुझ्न खोज्ने र बुझाउन खोज्ने गर्दारहेछन् । त्यो रात थकान र टेन्सनले होला, प्रेसर हाई भएको अनुभव भयो । बिहान ३ बजेसम्म सुत्न सकिनँ । निकै अप्ठ्यारो महसुस भयो । ज्वाइँ इन्द्रप्रसाद अधिकारीले हात मसारमुसुर पारिदिनुभयो । केही राहत मिल्यो । पानी पिएर सिलिङमा हेरेर सुतिरहेको थिएँ । कतिखेर निदाएछु, पत्तै भएन । एकैपटक सात बजे टेलिफोनमा घन्टी बजेपछिमात्रै आँखा खुल्यो । नुहाइधुहाइ सकेर तल ओर्लिंदा प्रायः सबै साथीहरु ब्रेकफास्टका लागि कुर्सीमा बसिसकेका रहेछन् ।
७. ८ बजेको वार्षिकोत्सव कार्यक्रम ११ः३० बजे
मंसिर ९ गते बिहान ८ बजे वार्षिकोत्सव समारोह आयोजना गरिने तय भएको थियो, तर तयारी पूरा गर्न सकिएन । ११ बजेतिर कार्यक्रम आयोजना गर्ने कुरा भयो । हामीले हाम्रो समयअनुसार होटलको रिसेप्सनिस्टलाई कार्यक्रम हल तयार गर्न भन्यौँ । तिनीहरुले बिहान हामीले ब्रेकफास्ट लिएको ठाउँलाई यसरी तयार गरेछन् कि त्यो ठाउँ रेस्टुरेन्टको रुपमा प्रयोग गरिएको थियो, कसैले अन्दाज गर्न नसक्ने गरी समारोह स्थल बनाएछन् । कति मेहनती र कस्तो गज्जबको आइडिया ! उनीहरुले मलाई कार्यक्रम स्थल सजाएर कहाँ कमजोरी छ बताउन भने । मैले सोचेभन्दा राम्रो बनाएका रहेछन् । ठीक छ भनेँ । ब्यानर पनि उनीहरु आफैँले सेट गरिदिए । सबै कुर्सीहरुका अगाडि पानीका बोतल र कापीकलमहरु सजाएका थिए । मैले प्रत्येक सहभागीहरुका अगाडि टेबुलमा एउटा एउटा नारायणी टुडे राखिदिएँ । कार्यक्रम पत्रकार दीपेन्द्र अधिकारीले सञ्चालन गरे । मेरो सभापतित्वमा आयोजना भएको नारायणी टुडेको सत्रौँ वार्षिकोत्सव समारोहको प्रमुखअतिथिका रुपमा एन.आर.एन.ए. थाइल्यान्डका उपाध्यक्ष महेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो । विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष खिलबहादुर भण्डारी, नेपाल प्रेस युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेकपा माओवादी केन्द्र चितवनका प्रमुख यमबहादुर परियार, न्यूरो सर्जन डा. बालकृष्ण थापा, श्री मेडिकल एण्ड टेक्निकल कलेजप्रमुख सरोज ढकाल हुनुहुन्थ्यो । बाँकी सहभागीहरु सबैलाई अतिथिका रुपमा आसन ग्रहण गराइयो । सत्रौँ वार्षिकोत्सवका अवसरमा कदरपत्रद्वारा तीन जना पत्रकार दीपक आचार्य, ईश्वर जोशी र हरिप्रसाद पोखरेललाई सम्मानित गरियो । भेटेरिनरी सेक्टरबाट डा. कृष्ण काफ्लेलाई सम्मानित गरियो । प्रमुखअतिथि महेन्द्र श्रेष्ठद्वारा कदरपत्र प्रदान गरिएको वार्षिकोत्सव समारोहलाई विशिष्ट अतिथिहरु र अतिथिहरुले सम्बोधन गर्ने क्रममा नारायणी टुडेको वार्षिकोत्सव मनाउने तरिकालाई आँट र साहसका रुपमा व्याख्या गरियो । करिब २ घन्टामा सकिएको वार्षिकोत्सव समारोहपछि सहभागीहरु सबैको अनुहार निकै उज्यालिएको थियो । जुन मुख्य उद्देश्य लिएर थाइल्यान्ड आएका थियौँ, त्यो सम्पन्न भएको खुसी सबैको अनुहारमा प्रस्ट देख्न सकिन्थ्यो ।
८. नेपालमा हल्लीखल्ली
सामाजिक सञ्जाल र अनलाइन खबरमा नारायणी टुडेको वार्षिकोत्सव थाइल्यान्डको राजधानी बैंककबाट १७० किलोमिटर टाढाको पताया सिटीमा भएको खबर फैलिएपछि नेपालमा एकप्रकारको हल्लीखल्ली भएको हामीले उतै थाहा पायौँ । नेपालको इतिहासमा कुनै पत्रिकाले विदेशमा वार्षिकोत्सव मनाएको यो नै पहिलोपटक भन्ने चर्चा पनि चल्न थाल्यो । साथीहरुको मोबाइलमा जापान र अस्टे«लियाबाट पनि घन्टी बज्न थाल्यो । वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न भएकोमा सहभागी साथीहरुले मलाई बधाई दिए ।
९. समुद्री यात्रा
भोलिपल्ट बिहान हामीलाई गाइडले ८ बजेतिर तयार हुनु भनेकी थिइन्, तर समुद्री यात्रामा निस्कँदा ८ः३० भइसकेको थियो । दुई ओटा मोटरबोटमा हामीलाई समुद्रमा लगियो । समुद्रमा स्टेसन बनाइएको रहेछ । त्यहाँ मोटर बोटको मद्दतले ठूलो छाता प्रयोग गरेर एकपटकमा एक जनालाई आकाशमा उडाइँदो रहेछ । सुरेशचन्द्र अधिकारी, मिलन सुवेदी र श्रीमती विष्णु सापकोटा गौतम आकाशमा उडे । बाँकी हामी सबैले हेरेरै आनन्द लियौँ । केहीबेरपछि हामीलाई मोटरबोटमा चढ्न भनियो र कोरला आइल्यान्डतिर लगियो । समुद्रको पल्लो भित्तोमा पु¥याएर रोकियो । घुम्न, समुद्रमा पौडी खेल्न, इच्छा लागेको चीज किनेर खान, किनमेल गर्न हामीलाई एक घन्टाको समय दिएर समुद्रको किनारमा छाडियो । धेरै साथीहरु पौडी खेल्न तम्सिए । आफू कार्यक्रमको संयोजक भएको हुँदा मलाई त्यो मौका जुरेन । म त साथीहरुको मोबाइल, घडी र कपडा कुर्न खटिएँ । तोकिएको समय सकिएपछि सुशीला कराउन थालिन् । सबै जना भेला हुनुप¥यो भन्न थालिन्, हामी पताया फर्कियौं । थकाइ लागेकाहरु होटलमै बसे, फूर्तिलाहरु सिटी घुम्न निस्किए ।
१०. रात्रि जीवन
पतायाको रात्रि जीवन हेर्ने इच्छा भए हिँड म देखाइदिन्छु, गाइडले भनेपछि हामी करिब १० जना पुरूषहरु नाइट लाइफ हेर्न गयौँ । खानेहरुले बियर÷वाइन खाने, छोटाछोटा कपडा लाएर केटीहरु नाच्ने गर्दारहेछन् । नाचगान हेरेर करिब २ घन्टापछि हामी होटल फर्कियौँ । छोटा कपडा लाएर नाच्ने केटीहरुको फोटो खिच्न नपाइने रहेछ । हाम्रो सबै मोबाइल सुशीलाले प्लास्टिकमा पोको पारेर बाहिर बसेकी थिइन् । हामी हलभित्र थियौँ ।
११. सिसाभित्र सजाइएका राम्रीहरु
गाँजेमाँजे गरे जात जाने हो, सिसाबाहिरैबाट राम्रीहरुलाई हेर्दा त के फरक प¥यो र ! भन्ने भएपछि राम्रीहरुलाई हेर्दै हाँस्दै गर्न थाल्यौँ । धन्न त्यसरी सिसाबाहिरबाट हेर्दा पैसा तिर्न नपर्ने रहेछ । पैसा तिरेर गाँजेमाँजे नगर्नेहरुलाई धेरै बेर त्यहाँ बस्नचाहिँ नदिने रहेछन् । “तिमीहरु त दर्शकमात्रै रहेछौ, अब तिमीहरु जाओ”– एक जना मोटेले हिन्दी भाषामा भनेपछि हामी फर्कियौँ ।
१२. मसाज सेन्टरहरु
सयौँ सयौँको संख्यामा लस्करै मसाज सेन्टरहरु हुँदारहेछन्, पताया र बैंककमा पनि । सहरबजार घुम्दाघुम्दै गोडा दुख्यो, ज्यान दुख्यो भने मान्छेहरु मसाज सेन्टरमा जाँदा रहेछन् । फुट मसाज, ओइल मसाज, थाईमसाज भन्दा रहेछन् । मसाज सेन्टरमा प्रायः महिला नै बस्दा रहेछन् । फुट मसाज भनेको घुँडाभन्दामुनिको भाग मसाज गर्ने, ओइल मसाज भनेको तेल घसेर ज्यानभरि मालिस गर्ने बुझिँदोरहेछ भने थाईमसाज भनेको उही नेपालमा श्रीमतीलाई जाँगर चल्दा यसो मालिस ग¥याजस्तो हुँदोरहेछ । अरु अरुले मसाज गरेको देख्दा हामी त्यही बुझ्थ्यौँ । मसाज गर्दाको सेवा शुल्क भने १५० भाटदेखि ३ सय भाटसम्म पर्दोरहेछ ।
१३. बालबालिकाहरु बाटो वा वरिपरि कतै पनि देखिएनन् ः
हामी जति पनि ठाउँहरुमा घुम्न गयौँ, सानासाना बालबालिकाहरु कतै पनि देखिएनन् । साह्रै बूढाबूढी भएका मानिसहरु पनि हामीले देखेनौँ । त्यो देशमा बालबालिका र बूढाबूढीहरुलाई त्यही तरिकाले व्यवस्थापन गरिएको पो थियो कि !
१४. टिप्स माग्दैनन्÷चोर्दैनन्
थाईहरुले कतै पनि यस्सो दुई–चार भाट भनेर टिप्स मागेनन् । बुझियो, त्यहाँ कसैको कसैले चोर्ने काम गर्दा रहेनछन् । चोर्ने कुरा त तिनको कल्पनामा पनि हुँदैन जस्तो लाग्थ्यो । नरम बोल्ने, असाध्यै सहयोगी स्वभावका हुँदारहेछन् तिनीहरु ।
१५. नेपालीलाई भारतीय हुन् भन्ने भ्रम
गाइडले मात्रै होइन सपिङ गर्दा पनि व्यापारीहरुले “इधर उधर चलो” भन्ने गर्थे । हामीले हामी इन्डियन होइन नेपाली हो भन्दा एकैछिन टोलाउँथे । त्यसको अर्थ के बुझिन्थ्यो भने तिनले नेपाल भन्ने देश कमै सुनेका रहेछन् । पर्यटकको संख्या पनि नेपालीभन्दा भारतीयहरु बग्रेल्ती देखिन्थे । कारण त्यो पनि हुनसक्छ ।
१६. गौतम बुद्ध भारतमा जन्मिएको भ्रम ः
थाई जनतालाई गौतम बुद्ध भारतमा जन्मिएका हुन् भन्ने भ्रम रहेछ । यस्तो भ्रम कसले फिजायो, थाहा छैन । तर हामीले जति पनि गौतम बुद्धसम्बन्धी कुरा भयो, त्यतिबेला गौतम बुद्धको जन्म हाम्रो देश नेपालमा भएको हो भन्यौँ ।
१७. राजालाई भगवानैसरह मान्ने चलन
संसारमा राजतन्त्र उन्मूलन हुँदै गएका छन् । तर, अचम्म लाग्ने विषयचाहिँ के रहेछ भने थाई जनताले आफ्नो देशको राजालाई भगवानैसरह मान्दा रहेछन् । गाडीमा राजाको फोटो, भित्तामा, रेस्टुरेन्टमा, होटलमा, पार्कमा, सरकारी भवनहरुमा जताततै राजा भूमिबोल अदुल्यादेजको फोटो टाँसिएको रहेछ । तर, दुर्भाग्यचाहिँ त्यो बखत के भएको थियो भने तिनै राजाको निधन भएको करिब २ महिना भएको थियो । हामीले राजा किन यति पपुलर ? भन्ने प्रश्न सोद्धा गाइडले यसो भनेकी थिइन्– “एकपटक एउटा डाक्टरलाई सरकारी कर्मचारीले खेतमा काम गर्न हिँड भने । म त डाक्टर हुँ, खेतमा जान्नँ तिनले भने । सरकारी कर्मचारीले बलजफ्ती डाक्टरलाई खेतमा काम गर्न लगे । रिसाइरिसाई डाक्टर खेतमा गएका थिए, तर उसलाई के अचम्म लाग्यो भने खेतमा त राजारानी दुवै जना काम गर्दै रहेछन् । राजा हुनु त यस्तो पो राजा ! भन्ने प्रमाणित भएपछि त्यो देशमा राजालाई त्यो हदसम्म मान्ने र सम्मान गर्ने गरिएको रहेछ । यो कथा सुनाउँदै गर्दा ती महिला गाइड सुशीलाको आँखाबाट आँसुको भेल बगेको थियो । यी वचन र त्यो दृश्य देख्दा हामीलाई पनि नरमाइलो लाग्यो ।
१८. डल्फिन शो र हात्तीद्वारा मसाज
त्यो देशको एउटा पार्कमा यस्तो अचम्मको खेल देखाइन्छ कि समुद्रमा पाइने डल्फिनले अनेकथरी क्रियाकलाप प्रस्तुत गर्छ, त्यो देख्दा जिब्रो बाहिर ननिकाल्ने मान्छे कमै हुन्छन् । फेरि अर्को अपत्यारिलो विषयचाहिँ के पनि देखिन्छ भने मान्छेलाई भुइँमा सुताइन्छ । कपडा ओढाइन्छ र त्यहाँमाथि हात्तीलाई मालिस गर्न आदेश दिइन्छ । हात्तीले अड्कलेर अलक्क मालिस गरेको देख्दा दंग नपर्ने मान्छे संसारमै भेटिँदैन ।
१९. मुख्य आम्दानी पर्यटन व्यवसाय र ज्वेलरी व्यापार ः
थाईहरु आफैँमा ज्यादै मेहनती रहेछन् । देश बनाउने मामलामा उनीहरुको मन मिलेको सजिलै महसुस गर्न सकिन्छ । महिलाहरु अगाडि बढे देश विकास हुन्छ भन्ने यिनले राम्ररी बुझेका रहेछन् । त्यस कारण पनि जताततै महिलैमहिलाले काम गरिरहेका हामीले भेट्यौँ ।
२०. उद्देश्य÷निष्कर्ष
निष्कर्षमा यात्राका अनेकअनेक कठिनाइका बाबजुद हामी थाईल्यान्डमा नारायणी टुडेको सत्रौँ वार्षिकोत्सव सफलतापूर्वक मनाएर फर्कियौँ । हाम्रो उद्देश्य समाजका विभिन्न पेसामा आबद्ध जिम्मेवार नागरिकहरुलाई अरु देशको भ्रमण गराउँदा त्यहाँको भौतिक विकास, रहनसहन, मानिसका क्रियाकलाप आदिबारे जानकारी मिल्ने र तिनै जानकारी यताको समाज विकास र भौतिक उन्नतिका लागि सहयोग मिल्न सक्छ भन्ने सोचका साथ मैले सत्रौँ वार्षिकोत्सव थाइल्यान्डमा मनाउने निधो गरेको थिएँ । यो भ्रमणबाट हामीलाई हौसला मिलेको छ । अब प्रत्येक वर्ष एकपटक वार्षिकोत्सव मनाउन हामी कुनै न कुनै देश जानेछौँ । कुनै कारणवश कुनै देश दोहोरिन पनि सक्ला, तर वर्षभरि देशमा काम गर्ने र एकपटक केही दिनका लागि हामी विदेश भ्रमण भने अवश्य गर्ने छौँ । भ्रमणको नाम “नारायणी टुडेको वार्षिकोत्सव” हुने छ । भ्रमणबाट पक्कै पनि यो मुलुकलाई थोरै भए पनि लाभ प्राप्त हुनेछ ।

Comments

About the author

चितवन पोष्ट