गृह » साधुवाद धुर्मुस–सुन्तली !
सम्पादकीय

साधुवाद धुर्मुस–सुन्तली !

धुर्मुस–सुन्तली फाउन्डेसनले रौतहटको सन्तपुरमा एकीकृत नमुना दलित बस्ती हस्तान्तरण गरेको छ । कलाकार दम्पती सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले चन्द्रपुर नगरपालिका–८ स्थित सन्तपुरका बाढीपीडित दलित परिवारका लागि भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न ४७ घर निर्माण गरेर फेरि एकपटक चर्चाको शिखरमा पुगेका छन् । सो एकीकृत नमुना बस्ती मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले हस्तान्तरण गर्दै देशलाई समृद्ध बनाउने काम सरकारको भए पनि धुर्मुस–सुन्तलीले राज्यले गर्नुपर्ने काम गरेको भन्दै उक्त कार्य अतुलनीय रहेको बताइन् । हुन पनि सभ्य र न्यायपूर्र्ण समाजका लागि कलाकार दम्पतीको सक्रियतामा जुन काम भएको छ, त्यो प्रशंसायोग्य मात्र होइन उदाहरणीय पनि छ । सुन्तली फाउन्डेसनले चौँथो परियोजनाअन्तर्गत दलित बस्तीको निर्माण गरेको हो । बस्ती निर्माण गरेर धुर्मुस–सुन्तलीले दुःखको बिम्ब बनेको १०७ वर्षीया रामकली हजारा पासवानको अनुहारमा अपूर्व खुशी थमाइदिए । कलाकार दम्पती आफैँ खटिएर सामुदायिक भवन, मन्दिर, क्लब र दृश्यावलोकन स्तम्भसहित बस्तीलाई विकलांगमैत्री, बालमैत्री र वातावरणमैत्री बनाएर बाढीको डुबानमा परेको बस्तीको रुप नै फेरिदिए ।
नेपालमा समाजसेवा भन्ने आदर्श शब्दलाई समेत केही व्यक्तिले व्यापारको माध्यमजस्तो बनाइरहेको वर्तमान परिप्रेक्ष्यमा निस्वार्थ सेवाको भावना लिएर धुर्मुस–सुन्तलीले जति समाजसेवा गरेर देखाएका छन्, त्यो आफैँमा अनुकरणीय सावित भएको छ । समाजसेवाको उच्च भावना, दृढ इच्छाशक्ति र निरन्तर लगनशीलताको त्रिवेणीले जस्तोसुकै असहज काम पनि सजिलै सम्पन्न हुन सक्छ भन्ने कुरा यो फाउन्डेसनले प्रमाणित गरेर देखाएको छ । करिब पाँच करोड ९५ लाख रूपैयाँको लागतमा बस्ती निर्माण गरेर धुर्मुस–सुन्तलीले असम्भव केही रहेनछ भन्ने पुष्टि गरेका छन् । धुर्मुस–सुन्तलीले सो बस्ती निर्माण सबै सहयोगी हातबाट सम्भव भएको जनाएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित परिवारलाई अझैसम्म उचित व्यवस्थापन गर्न नसकेको वर्तमान अवस्थामा सो फाउन्डेसनको अनुकरणीय कार्य देखिएको छ । समाजसेवीको बिल्ला भिरेर हिँड्नेहरुका लागि धुर्मुस–सुन्तलीले शिक्षा दिएको अनुभव गरिएको छ ।
नेपालका राजनीतिक दलहरु सत्ताको खेलमा फोहोरी र प्रदूषित राजनीतिमै लिप्त छन् । लोककल्याणकारी राज्यले जनताका आधारभूत आवश्यकता पूरा गर्न ध्यान दिन नसकिरहेको सन्दर्भमा औपचारिक शिक्षा कम पाएका र राजनीतिको मैदानमा पनि नउत्रेका हास्यकलाकारद्वयले आफ्नो नियमित कार्यक्रमबाट टाढा रहेर भूकम्पपीडित तथा बाढीपीडित क्षेत्रमा गएर आफैँ ढुंगा बोक्नेसम्मको काम गरेका छन्, जुन दृश्यले उनीहरुमा मानवीय संवेदना कति जागृत भएको छ भन्ने सहजै बुझ्न सकिन्छ । उनीहरुको प्रशंसनीय कार्य देखेर उदार र समाजसेवी भावना भएका व्यक्तिहरुले आवश्यक रकम जुटाउन सहयोग गरेका थिए । सहयोग जुटाएरै राज्यले गर्नुपर्ने काम धुर्मुस–सुन्तलीले गरेका छन्, यो समृद्ध नेपाल निर्माणका लागि उदाहरणीय बन्न पुगेको छ । प्राकृतिक विपत्तिमा परेका प्रभावितलाई पुनःस्थापित गर्न सरकारी निकाय निष्क्रिय बनेपछि धुर्मुस–सुन्तली फाउन्डेसनले समाजसेवाको मैदानमा उत्रिएर सरकारको आँखा खोल्ने काम गरेको अनुभव गरिएको छ । जनताका कलाकार दम्पती धुर्मुस–सुन्तलीलाई साधुवाद !

Comments

About the author

चितवन पोष्ट