गृह » डिजिकम क्यान इन्फोटेक मेला भोलिबाट,रोबोटबाट उद्घाटन गरिने
प्रविधि समाचार समाज

डिजिकम क्यान इन्फोटेक मेला भोलिबाट,रोबोटबाट उद्घाटन गरिने

–तुलमान गुरूङ
भरतपुर । भोलि बिहीबारबाट भरतपुरमा हुन लागेको डिजिकम क्यान इन्फोटेक मेला फरक तरिकाले उद्घाटन गरिने भएको छ ।
सामान्यतयाः कुनै पनि कार्यक्रमको उद्घाटन दीप प्रज्ज्वलन गरेर, गमलामा पानी हालेर, ब्यानर पढ्नेलगायतका तरिकाबाट हुँदै आएको हामीले देख्दै आएका छौँ । तर, कम्प्युटर एशोसियसन (क्यान) चितवन शाखाले आयोजना गर्न लागेको डिजिकम क्यान इन्फोटेक मेला–२०७४ को उद्घाटन भने चितवनका प्राविधिक विद्यार्थीहरूद्वारा निर्माण गरिएको रोबोटबाट उद्घाटन गरिने भएको छ । मंगलबार मेलाको तयारी अन्तिम चरणमा पुगेको भन्दै पत्रकार सम्मेलन गरेर रोबोटबाट मेलाको औपचारिक उद्घाटन गर्न लागेको जानकारी गराएको हो ।
सूचना प्रविधिसँग सम्बन्धित मेला भएकोले नयाँ ढंगले मेलाको उद्घाटन गर्ने तयारी गरिएको क्यान चितवनका अध्यक्ष भानु शर्माले जानकारी दिए । पछिल्लो समय आयोजकले कार्यक्रमलाई फरक देखाउनको लागि फरकफरक तरिकाबाट उद्घाटन गर्ने उपाय खोजिरहेका छन् । सोही अनुरूप क्यान चितवनले पनि फरक तरिकाबाट मेला उद्घाटन गर्न लागेको हो । प्रविधिको विकाससँगै विद्यार्थीहरूले बनाइएको रोबोटलाई प्रदर्शनी गर्ने उद्देश्यले रोबोटबाट उद्घाटन गर्ने तयारी गरिएको अध्यक्ष शर्माले बताए । ‘चितवनका विद्यार्थीले गरेको विकासलाई प्रत्यक्ष रूपमा देखाउनको लागि पनि हामीले यो तरिका अपनाएका हौँ,’ उनले भने, ‘किनकी हामीले राम्रो काम गर्नेको प्रशंसा गर्नैपर्छ ।’ रोबोटको बटन भने चितवन क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले दबाउनेछन् ।
भरतपुरस्थित निर्माणाधीन चितवन एक्स्पो सेन्टरमा हुन लागेको मेलामा सूचना प्रविधिका ८० वटा स्टल रहने क्यान चितवनका सचिव सन्तोषजनक भुसालले बताए । उनका अनुसार मेलामा चितवन, काठमाडौँलगायतका जिल्लाका सूचना प्रविधि सम्बन्धी स्टल रहनेछन् । सूचना र प्रविधिको क्षेत्रमा पनि चितवनलाई चिनाउने उद्देश्यले मेलाको आयोजना गरिएको हो । मेलामा सूचना प्रविधिसँग सम्बन्धित विभिन्न क्याम्पसहरूले पनि सहभागिता जनाउनेछन् । सूचना प्रविधिको विकाससँगै जिल्लाको आर्थिक विकासको लागि पनि मेलाले मह¤वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ । सूचना र प्रविधिको विकासले देशको आर्थिक विकासको दायरा पनि फराकिलो बन्दै जाने अध्यक्ष शर्माको भनाइ छ । मेलाबाट चितवन, नवलपुर र आसपासका शिक्षक, विद्यार्थी, उद्यमी, व्यवसायीलगायत सर्वसाधारणलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास लिइएको छ । प्रायः सबै उमेर र योग्यता हासिल गरेका मानिसहरूले मेलाबाट प्रत्यक्ष फाइदा लिन सक्नेछन् ।
‘तैपनि सबैभन्दा बढी फाइदा युवापुस्तालाई हुने देखिएको छ,’ अध्यक्ष शर्माले भने । सूचना र प्रविधिमार्फत समाजमा जनचेतना फैलाउनको लागि पनि मेला फलदायी हुने उनले बताए । मेला सुरू हुनुपूर्व मोटरसाइकल ¥याली निकाल्ने तयारी भइरहेको क्यान चितवनका सदस्य टेकलाल भुसालले बताए । नारायणगढको लायन्सचोकबाट सुरू हुने ¥याली क्षेत्रपुर हुँदै पोखरा बसपार्क पुगेर पुलचोक, शहीदचोक, लायन्सचोक, चौबीसकोठी हुँदै केन्द्रीय बस टर्मिनलबाट चितवन एक्स्पो सेन्टरमा आएर टुङ्गिने उनले बताए ।

Comments

About the author

चितवन पोष्ट