गृह » सौराहा फुड फेष्टिबलको तयारी तीव्र
अर्थ समाचार समाज

सौराहा फुड फेष्टिबलको तयारी तीव्र

रत्ननगर । रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (क्षेत्रीय रेवान) सौराहाको आयोजना सौराहामा हुने १२ औँ सौराहा फुड फेष्टिबलको तयारी तीव्र पारिएको छ ।
भ्यालेन्टाइन डेको अवसर पारेर यही माघ २८ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुने सो फेष्टिबल सम्पन्न गर्न स्टल तथा स्टेज निर्माण, प्रचारप्रसार तथा स्वागत गेट निर्माणको काम तीव्ररुपमा भइरहेको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए ।
रत्ननगर–७ स्थित सिसुवार चौरमा हुने फेष्टिबलमा करिब ७० वटा स्टल राख्ने तयारी छ । जसमा खानाका मात्रै करिब ५० वटा स्टल रहने रेवानका अध्यक्ष गिरीले बताए ।
यसपटक विषेशगरी थारु र नेवार समुदायको खानाका परिकारका स्टल रहनेछन् । स्वदेशी र विदेशी खानाका परिकारको समेत स्वाद चाख्न पाउने अध्यक्ष गिरीले जानकारी दिए । फेष्टिबलमा सबै प्रकारका खानाका परिकार पाइने र एकै प्रकारका खानाहरु बढीमा दुई वटा स्टलमा मात्रै राख्न पाइने व्यवस्था मिलाइएको छ ।
फेष्टिबलको अन्य दिन ५० र विद्यार्थीलाई २५ रूपैयाँ भए पनि भ्यालेन्टाइन डेको दिन १०० रूपैयाँको टिकट व्यवस्था गरिएको फेष्टिबलका संयोजक कपिल रेग्मीले जानकारी दिए । स्वदेशी तथा विदेशी पर्यटक गरी फेष्टिबलमा करिब ५ लाखले अवलोकन गर्ने अनुमान गरिएको छ । फेष्टिबलबाट भएको बचतमध्ये केही रकम उज्यालो सौराहा,अपाङ्ग तथा वृद्ववृद्वा, सौराहाको सरसफाइ, घुम्ती शौचालय निर्माणका लागि छुट्याइने आयोजकले जनाएको छ ।
फेष्टिबलमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ । राष्ट्रिय कलाकार प्रजापति पराजुली, रमेशराज भट्टराई, दुर्गा सापकोटा, प्रमोद खरेल, कमल खत्री, पूर्णकला बिसी, सम्झना भण्डारी, चोलेन्द्र पौडेल, मनोज महतोलगायतका कलाकारको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक नवीन नेपालले जानकारी दिए । स्वदेशी तथा विदेशी पर्यटक प्रवद्र्वन गर्ने उद्देश्यका साथ रेवान सौराहाले प्रत्येक वर्ष फेष्टिबल गर्दै आएको छ ।

 

Comments

About the author

चितवन पोष्ट