गृह » त्रिनेत्रधाममा चौथो दिन २१ लाख संकलन
अर्थ समाचार समाज

त्रिनेत्रधाममा चौथो दिन २१ लाख संकलन

कावासोती । त्रिनेत्रेश्वरधाम जिमिरेभारमा सञ्चालित शिव पुराण धनधान्याञ्चल महायज्ञको चौथो दिन २१ लाख दुई हजार १३३ रुपैयाँ आर्थिक दान संकलन भएको छ ।चौथो दिन मंगलबार सभानायकको रुपमा जीवन कामु, विनोद नेपाल र कर्णबहादुर ढेगा रहेका थिए ।
जीवन कामुबाट दुई लाख ११ हजार १११ रुपैयाँ, विनोद नेपालबाट दुई लाख ११ हजार १११ रुपैयाँ र कर्णबहादुर ढेगाबाट दुई लाख ११ हजार १११ रुपैयाँ आर्थिक दान उपलब्ध भएको आर्थिक संयोजक चिरञ्जीवी सुवेदीले जानकारी दिए । साथै प्रतिनिधिसभाका सांसद हृदयेश त्रिपाठीले संसदीय विकास कोषबाट ११ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरे । साथै अन्य दानदातासहित २१ लाख २ हजार १३३ रुपैयाँ आर्थिक दान संकलन भएको सुवेदीले जानकारी दिए । चौथोे दिन वाणी भाष्कर पण्डित भुवन घिमिरेले शिवपुराण कथा प्रवचन दिएका थिए भने कलाकारहरुले सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरेका थिए । महायज्ञमा कथा श्रवणका लागि स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो ।
यसैगरी, बर्दघाट–११ मौराहाटाँडीमा सञ्चालित श्रीमद्भागवत् धनधान्याञ्चल पितृमुक्ति विराट ज्ञानमहायज्ञको दोस्रो दिन मंगलबारसम्म भूमिदानसहित ३२ लाख आर्थिक संकलन  भएको आर्थिक समिति संयोजक ऋषिराम काफ्लेले जानकारी दिए । महायज्ञमा बालव्यास नारायण न्यौपानेबाट कथा प्रवचन भएको थियो । यस्तै, पञ्चेश्वर महादेव मन्दिर गोपीगञ्जमा भएको महायज्ञ मंगलबार तेस्रो दिन १ लाख आर्थिक दान संकलन भएको बजार विकास समितिका अध्यक्ष गणेश पाखरेलले बताएका थिए । महायज्ञमा कथा शिरोमणि पण्डित दीपकप्रसाद पौड्यालले वाचन गरेका थिए । महायज्ञमा कथा श्रवणका लागि स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो ।

Comments

About the author

चितवन पोष्ट