गृह » कञ्चटमा पेस्तोल तेर्सिदा यसरी बाँचे म
विचार

कञ्चटमा पेस्तोल तेर्सिदा यसरी बाँचे म

–रामचन्द्र भट्ट
bhattarc@gmail.com 
एक दिनको अन्तरमा अमेरिकामा दुई नेपालीको ज्यान गयो । त्यो पनि अनाहक अर्थात अकालमा । गत साताको शनिबार राति कामकै सिलसिलामा ड्यालसमा मनीष पाण्डेको हत्या भएको छ । आफन्तकै ग्यास स्टेशनमा काम गर्दागर्दै लुटेराको बन्दुक प्रहारबाट ३५ वर्षीय पाण्डेको ज्यान गएको छ ।उता बिहीबार नर्थ क्यारोलाइनको रेलेग सहरमा नेपाली युवा रुपेश उप्रेतीको सवारी दुर्घटनामा निधन भयो । राति कामबाट फर्कदै गर्दा उनका सहकर्मीले गल्तीवशः वान–वे (एकतर्फी) हाइवेमा कारलाई लैजाँदा अर्को दिशाबाट आएको पिकअपले ठक्कर दिएको थियो । दुर्घटनामा दुईजनाले ज्यान गुमाए ।अमेरिकामा नेपालीहरुको संख्या बढेसँगै हरेक साता कसैको अकालमा त कसैको कालगतिले निधन हुनेक्रम निरन्तर बढ्दो छ । अमेरिकामा झण्डै तीनलाख नेपालीहरु रहेको अनुमान छ । एनआरएन अमेरिकाले गत वर्ष निकालेको तथ्यांकअनुसार साढे दुईलाख नेपालीहरु रहेको देखाएको थियो । “मानिस जन्मेपछि एकपटक मर्नैपर्छ । तर अमेरिकामा रहेका कतिपय घटना, दुर्घटनालाई हेर्दा मृत्युको कारण अमेरिका आगमननै हो कि भन्ने पनि परेको छ,” आइतबार एकाबिहानै ड्यालसका एक समाजसेवी यो टिप्पणीकारसँग भन्दै थिए । हुन पनि घटना, दुर्घटनालाई सुक्ष्म रुपमा हेर्दा अमेरिका नआएको भए अकाल मृत्युको मुखमा धेरैजना पर्नुपर्ने अवस्था आउने थिएन कि भन्ने पनि लाग्छ । जस्तो कि, शनिबार राति ग्यास स्टेशनमा लुटेराको गोलीबाट मारिएका पाण्डे अमेरिका नआएको भए शायद अकाल मृत्यु हुने थिएन । तर यो नै सत्य भने होइन ।
हुन त सवारी दुर्घटना, गोलीकाण्ड नेपालमा पनि नहुने भन्ने होइन । तथापि यी दुई घटनामा नेपालीको निधन हुनुमा अमेरिका आगमनभन्दा पनि अलिकति ‘ओभर कन्फिडेन्स’ हो कि भन्ने लाग्छ । जुन ओभर कन्फिडेन्सलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ । न्यूनीकरण गर्ने अरु कसैले होइन, सम्बन्धित व्यक्ति आफैँले हो । त्यस्तो न्यूनीकरण गर्दा आफ्नो ज्यानमात्र जोगिने होइन कि परिवारलाई समेत खुशी दिइरहन सकिन्छ ।यो टिप्पणीकार पनि त्यस्तै एउटा कालको मुखबाट बाँचेर आएको हुँदा त्यो अनुभव साट्दा अरुका लागि पनि शिक्षा हुने ठानेर सार्वजनिक गर्दैछु ।सन् २०१४ को नोभेम्बर महिना । जतिखेर म ड्यालसबाट दुईसय माइल उत्तरतर्फ रहेको ओक्लाहोमा सिटीमा बस्थेँ । आम नेपाली जसरी म पनि सुरूवाती दिनमा ग्यास स्टेशनमा क्लर्कका रुपमा काम गर्दै्थिएँ ।नोभेम्बरको अन्तिम साता थियो । साँझ ७ बजेपछि अँध्यारोले छोपिसक्थ्यो । समय साँझ साढे आठको सेरोफेरोमा थियो । ग्राहक नभएको समय मिलाएर म डेलिभरी आएका सामानहरु मिलाउने, सामानमा धुलो टक्टकाउने काम गर्र्दै िथएँ । त्यतिखेरै दुईजना व्यक्तिहरु स्टोरभित्र छिरे । ढोकाको एलार्मले उनीहरु छिरेको संकेत ग¥यो । मैले उनीहरुतर्फ आँखा पु¥याउन नपाउँदै कालो हुडी लगाएको एउटाचाहिँ बिजुलीको गतिमा म भएपट्टि आइपुग्यो । सामान्य अवस्थामा स्टोरमा सामान किन्न आएका ग्राहकहरु सामान लिएर काउण्टर अघिल्तिर उभिन्छन् । क्लर्क या क्यासिएर नभएको अवस्थामा पनि कुर्छन् ग्राहकले ।
लगभग २२÷२३ वर्षको, कालो वर्णको त्यो व्यक्ति म भएपतिर झम्टिएर आउनुले नै मैले अनुमान लगाइसकेको थिएँ कि यो लुटेरानै हो भनेर । उसले एक्कासी मेरो कठालो समात्यो । मसँग प्रतिकार गर्ने नत बल, नत स्रोत–साधन नै थियो त्यतिखेर ।
‘के चाहन्छस् तँ’ मैले सोधेँ । उसै त अफ्रिकी मुलका अमेरिकनहरुले बोलेको अंग्रेजी बुझ्न हम्मेहम्मे पर्ने र अनुमानको भरमा बुझ्नुपर्छ । त्यसमाथि डरको समय भएकोले उसले बोलेका ७५ प्रतिशत शब्द मैले बुझिन । यतिमात्र मैले बुझेँ–‘तँ यहाँ हामीलाई ठगेर बसिरहेको छस् । खुरुक्क नगद निकाल ।’मैले दुवै हातमाथि उठाएँ । उसले मलाई घोक्राउँदै काउण्टरमा पु¥यायो । कारोबार गर्ने रजिष्टर मैले खोलिदिएँ । त्यसबेला त्यहाँ ७÷८ सय डलर नगद हुनुपर्छ । हातमा पञ्जा लगाएको अर्को चाहिले रजिष्टरबाट नगद निकाल्यो । क्वाटर, डायम, निकल, पेनी जस्ता खुद्रा छाडेर उसले त्यहाँबाट सबै नगद निकाल्यो ।
‘अरु पनि निकाल् । होइन भने यही मारिदिन्छु’ भन्दै दायाँ कञ्चटमा पेस्तोल तेस्र्यायो । मलाई लाग्यो– ‘शायद मेरो अन्तिम दिन आजै हो ।’ मैले अरु नगद छैन भनेर अडान लिएँ । दुईमध्ये एउटाले मुड्की कसेर मेरो दायाँ कञ्चटमा हान्यो । अर्को मुड्की फेरि बायाँपट्टिको गालामा हान्यो । म ढलमलाउँदै कुनामा पुगेर ढलेँ । त्यसपछि पनि ढाडमा लात्तीले हिर्काइ नै रह्यो । मुखमा लात्तीले हानेपछि मलाई लाग्यो– ‘मेरो कुनै दाँत बाँकी छैनन् अब ।’
ज्यानभन्दा ठूलो चिज केही होइन । आफन्तको स्टोरमा काम गर्थें । आफ्नैजस्तो ठानेर काम गर्थें । जहाँ जुन ठाउँमा काम गरे पनि मेरो एउटै शुत्र रहिआएको छ– इमान्दारिता । जहाँ, जुन दिनसम्म जे काम गरिन्छ, इमान्दारिताका साथ गर्ने मेरो सुरूदेखिकै आदत हो । ता कि काम छाडेर जाँदा पनि ‘फलानो त मान्छे ठीक थियो’ भन्ने धारणा हाकिमदेखि लिएर मेनेजर तहका व्यक्तिसम्म रहिरहोस् भन्ने मेरो ध्येय रहँदै आएको छ ।त्यसदिन पनि मैले एकहजार ६ सय डलर सेफमा ड्रप गर्नुअघि छुट्टै ठाउँमा राखेको थिएँ । बिहानदेखि रातिसम्मको कारोबार भएको नगद राति एकैपटक सेफमा ड्रप गर्ने चलन पहिलेदेखिकै रहेछ मैले काम गर्ने स्टोरमा । म पहिलोपटक ग्यास स्टेसनसहितको कन्भिनेन्स स्टोरमा काम गरेको हुँदा अरु स्टोरका नियम पनि जानकारी थिएन ।
लुटेराहरुले सबैतिर खानतलास गर्ने क्रममा सेफनजिकै कागजको बक्समा राखेको एकहजार ६ सय डलर पनि फेला पा¥यो । म उनीहरुको प्रहारले गर्दा घाइते भएको थिएँ । झण्डै दुईहजार ६ सय डलर नगद पाएपछि त अब त मलाई केही नगर्ला कि भन्ने आशा जाग्यो ।फेरि अर्को लुटेराले ढाडमा लात्ती हान्दै भन्यो– ‘सेफको चाबी दे । होइन भने मारिदिन्छौँ ।’ मैले आफूसँग सेफको चाबी नभएको बताएँ । लुटेराहरुले पत्याउँदै पत्याएनन् । अन्तिममा मैले मसँग यही चाबी छ ल खोल भन्दै लडिरहेकै अवस्थामा पाइन्टको खल्तीबाट एउटा चाबी निकालेर उनीहरु भएतिर मिल्काएँ । त्यो चाबी सेफको नभएर भर्खरै किनिएको होण्डा सिआरभीको थियो ।
‘म…फ…(लेख्न नमिल्ने शब्द) यो चाबी भनेको होइन । सेफको चाबी दे भनेको,’ दुईमध्ये एउटा चिच्यायो । मैले मसँग भएको चाबी त्यही हो भनेपछि उनीहरु एक्कासी त्यहाँबाट निस्किए । ‘यहाँबाट बाहिर निस्किइस् भने तलाईं पछि आएर सिध्याइदिन्छु नि !’ अन्तिम वाक्य यसो भन्दै दुवै जना बाहिरिए । म भने अबचाहिँ बाँचे भन्दै मनमनै भगवान्लाई पुकार्दै त्यहीँ लडिरहेँ ।तुरुन्तै एकजना व्यक्ति स्टोरमा बसेको संकेत एलार्मले ग¥यो । उसले मलाई बोलायो । म बल्लतल्ल आवाज निकाल्न सक्ने अवस्थामा थिएँ । मुखबाट रगत ह्वालह्वाल्ती आइरहेको थियो । त्यो मान्छे स्टोरमा नियमित आइरहने ग्राहक रहेछ । ऊ नजिकैको रेष्टुरेन्टमा काम गथ्र्यो । उसैले मलाई उठायो । म बल्लतल्ल उठेँ ।
दुईजना मान्छे स्टोरबाट निस्किएर बेपत्तासँग दौडिएको देखेर त्यो नियमित ग्राहकले समेत केही अनिष्ट भएको संकेत पाइसकेको रहेछ ।९११ मा फोन गरेर उसैले पुलिसलाई बोलायो । पाँच मिनेटभित्र एम्बुलेन्ससहित पुलिस आइपुगे । मेरो मुखबाट रगत बगिरहेको थियो । दाँत सबै झरेकोजस्तो लागेको थियो । तर, एउटाचाहिँ अलिकति हल्लिएको रहेछ ।एम्बुलेन्समा राखेर प्राथमिक उपचार भयो । त्यस्तो अवस्थामा पनि मेरो ब्लड प्रेसर नर्मल देखेर उनीहरुले भने– ‘तिम्रो विलपावर गज्जबको रहेछ ।’नेपालमा छँदा सधैँ अरूको समाचार लेखिरहने म त्यो घटनाले अमेरिका आएपछि समाचारको पात्र भएँ । अर्थात् एकसाताभरि ओक्लाहोमाबाट निस्कने पत्रिकाहरु, टिभीमा मेरो कोर्ट (भनाइ) राखेर समाचार प्रकाशन÷प्रशारण भई नै रहे ।
ग्यास स्टेसन लुटपाटका घटनामा धेरैको ज्यान जाने गरेको छ । मैले ग्यास स्टेशनमा काम गर्न सुरू गर्दा स्टोरको पुरानो धनि टम नाम गरेको भियतनामीसँग वरिपरीको अवस्थाका बारेमा जानकारी लिएको थिएँ । उसले भनेको थियो–‘अहिलेसम्म त केही भएको छैन । तर केही भन्न सकिँदैन । लुटेरा आइहालेको अवस्थामा दुवै हात ठड्याएर जे लैजान्छस् लैजा भनेर दिनु । उनीहरुसँग कुनै पनि प्रकारको भीडन्त गर्ने, प्रतिकार गर्ने वा ओभरस्मार्ट हुने काम गर्दै नगर्नु ।’
हुन पनि हो । नगदबाहेक स्टोरका सबै सामानको बीमा गरिएको हुन्छ । लुटिएको सामानको क्षतिपूर्ति साहुले बीमा कम्पनीसँग मज्जासँग पाउने भएकाले ज्यान बाजी राखेर लुटेराहरुसँग माथापच्ची गर्नुको कुनै तुक छैन । नगदको भने बीमा नहुने भएकाले अधिकांश स्टोरहरुले रजिष्टरमा दुईसय डलरमात्र राखेर बाँकी अरु सबै सेफमा ड्रप गर्ने चलन हुनेरहेछ । जुन कुरा मलाई यो घटनापछिमात्र जानकारी भयो ।
मैले काम गर्ने स्टोरमा पहिलेदेखि नै राति एकैपटक नगद सेफबक्समा खसाल्ने चलनले गर्दा पनि मैले त्यसैलाई फलो गरेको थिएँ । त्यही कारणले गर्दा लुटेरा २६ सय डलर लुट्न सफल भयो । नभए त्यति पनि लुट्न पाउने थिएनन् । किनकि सेफबक्स फुटाएर नगद लैजान सम्भव नै हुँदैन ।त्यो घटनापछि म झण्डै एकसातासम्म काममा जान सकिनँ । म क्राइम भिक्टिम (अपराध पीडित) भएकोले अस्पतालको इमरजेन्सीमा गएर उपचार गरेको ठूलो रकम सरकारले तिरिदिएको थियो । त्यस्तो केसमा पीडितले सरकारी सुविधा पाउने भए पनि मैले अस्पतालको बिलबाहेक अरु कुनैमा पनि दाबी पनि गरिनँ र निवेदन पनि दिइनँ ।
सायद त्यो घटनामा ओभरस्मार्ट भएर लुटेराहरुसँग भिडेको भए यतिखेर मेरो तेस्रो वर्षको पनि श्राद्ध भैसक्ने थियो कि ! पुरानो साहु टमले भनेको र स्टोरमा काम गर्ने अरुबाट ‘भीडन्त गर्दै नगर्नु, लुटेराले जे लैजान्छ त्यो दिनु’ भन्ने शुत्रले मेरो ज्यान त्यस दिन बाँचेको हो भन्ने मलाई लाग्छ । नभए कन्चटमा पेस्तोल तेर्सिइसकेको थियो । उसले पेस्तोलको ट्रिगरमा रहेको दायाँ हातको माइली औँला दबाइदिएको भए मेरो प्राण पखेरु ‘अन दी स्पट’ उँड्ने पक्का थियो ।
घटनाक्रमहरुलाई हेर्दा धेरै ग्यास स्टेशनहरुमा लुटेराहरु मार्ने नियतले भन्दा पनि लुट्ने नियतले आउने गरेको देखिन्छ । लुट्दालुट्दै असुरक्षित महसुस भएमा, त्यतिखेर स्टोरमा ड्युटीमा रहेकाहरुले भीड्न खोजेमा, तत्काल पुलिसलाई खबर गर्ने प्रयास गरेमा, लुटेराको पहिचान खुल्ने अवस्था आएमा काम गर्नेमाथि गोली हानेका घटनाहरु धेरै छन् ।चाहे ग्यास स्टोर हुन् या कन्भिनेन्स स्टोर या नगदको कारोबार हुने अरु थलो । अमेरिकामा ती ठाउँहरु बढी असुरक्षित ठानिन्छन् । त्यसो हुँदा जोखिम कम गर्न बीमा गरिएको हुन्छ ।
धेरै नवआगन्तुक नेपालीहरुले सुरूवाती चरणमा काम गर्ने भनेको ग्यास स्टेशन, कन्भिनेन्स स्टोर नै हुन् । सामान्य अंग्रेजी भए चल्ने, गर्न सकेजति घण्टा पाइने, खासै गाह«ो काम पनि नभएकोले स्टोरहरु नेपालीहरुको पहिलो रोजाईमा पर्ने गरेको छ । धेरै राज्यहरुमा नेपालीहरुले गर्ने रोजगारी भनेकै ग्यास स्टेशन नै हुन् । हरेक दिन ग्यास स्टेशनहरुमा लुटपाट भइरहेकै हुन्छ । त्यस्तो अवस्थामा साहुको प्रियपात्र बन्छु, लुटेरासँग भिडेर बहादुर हुन्छु भन्ने दुष्प्रयास नगर्दा ज्यान जोगाउन सकिन्छ । एउटा नेपाली भनाइ नै छ नि– ‘अनिकालमा बीउ जोगाउनु, हुलमुलमा ज्यान जोगाउनु ।’ हो, यो भनाइजस्तै त्यस्तो लुटपाटमा जसरी हुन्छ ज्यान जोगाउनेतिर लाग्नु बढ्ता श्रेयष्कर हुनेछ ।ज्यान जोगियो भने ग्यास स्टेशनको काम छाडेर भोलि कम्पनीहरुमा काम पाउन सकिन्छ । ग्यास स्टेशन नै पहिलो र अन्तिम रोजगारीको विकल्प होइन अमेरिकामा ।

Comments

About the author

चितवन पोष्ट