गृह » म्युजिक भिडियोमा जम्दै एञ्जिला
कला समाचार समाज

म्युजिक भिडियोमा जम्दै एञ्जिला

–तुलमान गुरूङ
गैँडाकोट । युवावस्थामा प्रवेश गरिसकेपछि जोकोहीले पनि आफ्नो चाहनाअनुसारका अवसरहरू खोजिरहेका हुन्छन् । कतिपय सफल हुन्छन् त कतिपय असफल पनि । सफलता हासिल गर्नेले पनि कतिपयले त्यसलाई निरन्तरता दिएको पाइँदैन भने असफल भएरै पनि कतिपयले भने त्यसैलाई निरन्तरता दिइरहेका हुन्छन् । कसैको व्यवसाय गर्ने सोच हुन्छन् भने कसैको राजनीति गर्ने । कसैको कलाकारिता रोजाइमा पर्छन् भने कतिपयको वैदेशिक यात्रा ।
यस्तैयस्तै योजनामध्ये कलाकारिता क्षेत्रमा भविष्य खोजिरहेकी छिन् गैँडकोट–२, नवलपुरकी एञ्जिला धिताल । उमेरले उनी भरखर २० वर्ष पुगेकी छिन् । कलिलै उमेरमा उनले कलाकारितालाई रोजाइमा पारेकी छिन् । हुन त उनी विद्यालय पढ्दा नाचगानमा खासै सहभागी हुन्थिनन् । तर, एसएलसी परीक्षा दिइसकेपछि भने उनको सोचाइमा परिवर्तन आयो र कलाकारितामा पनि भविषय रहेछ भन्ने बुझिन् । फलस्वरूप २०७२ सालमा उनले ‘आँसु नै आँसु’ बोलको आधुनिक गीतमा अभिनय गर्ने अवसर पाइन् । त्यतिबेला उनी चितवनको एक टेलिभिजनमा काम गर्थिन् । टेलिभिजनमा काम गरिसकेपछि उनको चिनजान र नयाँ मानिसहरूसँगको सम्पर्क पनि बढ्दै गयो । त्यसैको आधारमा उनले म्युजिक भिडियोमा काम गर्ने मौका पाइन् ।
म्युजिक भिडियोको क्षेत्रमा प्रवेश गरेको दुईवर्ष नबित्दै उनले करिब दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । अध्ययनलाई पनि सँगसँगै अगाडि बढाइरहेकी उनले समयले भ्याएसम्म म्युजिक भिडियोमा काम गर्ने बताइन् । नेपाली मात्रै होइन, थारू भाषाको गीतमा समेत उनले अभिनय गरेकी छिन् । अहिले पनि उनलाई धेरै ठाउँबाट अभिनयको लागि प्रस्ताव आइरहेका छन् । तर, समय दिन नसकेको उनले बताइन् । उनी भन्छिन्, ‘प्रस्ताव त धेरै ठाउँबाट आइरहेको छ । तर, समय अभावले गर्दा काम गर्न सकिरहेकी छैन ।’
विगत दुईवर्षदेखि गैँडाकोटमै फेन्सी व्यवसाय पनि चलाइरहेकी छिन् । त्यसैले पनि समय दिन नभ्याएको उनले बताइन् । ‘आफ्नो व्यवसाय पनि हेर्नुपर्ने भएकोले टाढाटाढाबाट आएको प्रस्तावलाई स्वीकार्न सकेकी छैन,’ उनले भनिन्, ‘चितवन र नवलपुर आसपासमा सुटिङ भएका गीतहरूमा भने काम गरिरहेकी छु ।’ नारायणस्थित रोइल डान्स एकेडेमीबाट पनि छ महिनाको नृत्य प्रशिक्षण लिएकी धितालले व्यस्तताकै कारण चलचित्रको लागि आएको प्रस्ताव पनि स्वीकार्न नसकेको बताइन् । ‘काम गर्ने चाहना त छ, तर, समय नै मिलाउन सकिरहेकी छैन,’ केही दिनअघि मात्रै एउटा चलचित्रमा काम गर्ने प्रस्ताव आएको भन्दै उनले भनिन्, ‘अहिलेलाई कलाकारिताबाट पूर्णरूपमा खर्च व्यवस्थापन हुन नसक्ने भएकोले फुर्सदको समयमा मात्रै काम गरिरहेकी छु ।’
हालसम्म उनले ‘आँसु नै आँसु’, ‘यो दिलमा’, ‘बैशालु प्यास’ (लोकदोहोरी), सेक्सी जवानी, ‘चौँरी गाईको छुर्पी’, ‘तिम्रो एकै नजरले’, ‘अरे बोबी सउरी’ (थारू भाषा), ‘जाहीजाही’ (थारू भाषा)लगायताका गीतमा पनि अभिनय गरिसकेकी छिन् । यस्तै ‘बन्धकी’, ‘दिलको कसम’, ‘यो उमेरमा’लगायत उनले अभिनय गरेका म्युजिक भिडियो सार्वजनिक हुन बाँकी नै छ । यो क्षेत्रमा काम गरिसकेपछि नजिकका साथीहरूबाट पनि सकारात्मक प्रतिक्रिया आएकोले झनै हौसला मिलेको उनको भनाइ छ । घरपरिवारबाट पनि राम्रो साथ पाएको उनले बताइन् । साथीहरूको प्रशंसाले पनि यही क्षेत्रमा काम गर्ने रहर झनै बढ्दै गएको उनको भनाइ छ ।

Comments

About the author

चितवन पोष्ट