गृह » डिजिकम क्यान इन्फोटेक मेलाको तयारी तीव्र
प्रविधि समाचार समाज

डिजिकम क्यान इन्फोटेक मेलाको तयारी तीव्र

भरतपुर । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) चितवन शाखाले सूचना प्रविधिसम्बन्धी मेलाको तयारी तीव्र पारेको छ । भरतपुरस्थित नवनिर्मित चितवन एक्स्पो सेन्टरमा हुन लागेको ‘तेस्रो डिजिकम क्यान इन्फो–टेक मेला २०७४’ को मिति नजिकिँदै गर्दा आयोजकले तयारी तीव्र पारेको जनाएको हो । सूचना प्रविधिसम्बन्धी ज्ञान लिन चाहने व्यक्तिको लागि मेला बढी फलदायी हुनेछ ।
यही माघ २५ देखि २९ गतेसम्म आयोजना गरिने मेलामा ८० वटा स्टल रहने छन् । कम्प्युटर, ल्यापटप, मोबाइललगायत सबैखालका सूचना र प्रविधिसँग सम्बन्धित स्टलहरू रहने मेला संयोजक एवम् आयोजक संस्थाका अध्यक्ष भानु शर्माले जानकारी दिए । ‘मेलामा कम्प्युटर हार्डवेयर, सफ्टवेयर, सुरक्षा सम्बन्धी सामाग्री, मोबाइल, टिभी, उच्च शिक्षा सम्बन्धी सेवा प्रदान गर्ने कलेज एवम् परामर्शदाताहरूका स्टलहरू रहनेछन्,’ संयोजक शर्माले भने, ‘आइटी सम्बन्धि जनचेतनामुलक सेमिनार, गोष्ठी, रोबोटिक प्रदर्शनी तथा अन्तर विद्यालय र अन्तर कलेजस्तरीय क्वीज कम्पिटिसन पनि हुनेछ ।’
मेलाबाटै आवश्यक सूचना प्रविधिसम्बन्धी सामान खरिद गर्न पाइने र आवश्यक जानकारी लिन पाइने व्यवस्था मिलाइएको संस्थाका सचिव सन्तोषजनक भुसालले बताए । ‘चितवनको समृद्धि, सूचना प्रविधि’ भन्ने मूल नारासहित मेला आयोजना गर्न लागिएको हो । पछिल्लो समय सूचनाबिना हरेक कार्य अधुरो हुने हुँदा समयअनुसारको सूचना र प्रविधिको आवश्यक पर्ने भएकोले छोटो समयको लागि भए पनि मेला आयोजना गरेर एकैस्थानबाट सबै जानकारी दिने प्रयास गरिएको क्यान चितवनका सदस्य टेकलाल भुसालले बताए ।
मेला सम्पन्न गर्नको लागि करिब ७१ लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । मेलामा करिब दुई लाखभन्दा बढी दर्शकहरूले अवलोकन गर्ने अनुमान गरिएको संस्थाका सचिव सन्तोषजनक भुसालले जानकारी दिए । मेला अवलोकन गर्नको लागि ५० रूपैयाँ टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । कुनै पनि सामुदायिक विद्यालयले विद्यालयको सिफारिसमा सामूहिक रूपमा आएमा निःशुल्क प्रवेश दिइने सचिव भुसालले बताए । यसअघि २०६५ र २०६७ सालमा मेला आयोजना गरिएको थियो ।

Comments

About the author

चितवन पोष्ट