गृह » हिउँदको घाम, घुमघामको याम
कला विचार समाचार समाज

हिउँदको घाम, घुमघामको याम

–किशोर खनाल
भरतपुर । ‘प्रेमका लागि संसार सबैभन्दा सानो छ । सानो संसारमा प्रेम गर्ने ठाउँ शान्त, रमणीय, शितल र सुन्दर हुन जरुरी छ’ महान् नाटककार सेक्सपियरले भनेका उक्ति हुन् यी । प्रेमलाई गाढा बनाउन पनि अहिलेको युवा पुस्ताले घुमघामलाई समय दिइरहेका छन् । पारिवारिक मिलनमा पनि घुमघामलाई प्राथमिकतामा राखिन्छ । समूह बनाएर पिकनिक जाने प्रचलन पनि यो हिउँदको समयमा बढी नै हुन्छ ।
हिउँदको घामलाई घुमघामको याम मानिन्छ । पिकनिकको मौसम ठानिन्छ । त्यसैले जोकोहीको लागि हिउँदको घाम घुमघामको याम बनिरहको छ । अझ माघको घामलाई नै घुमघामको समय नै बनाइएको छ । हिउँदको समयमा ठूला कुनै चाडपर्व हुँदैन । कामको दौडधूप पनि हुँदैन । त्यसैले भर्खर प्रेमका परेका युवायुवती होस् या विवाहित जोडी होस् अथवा परिवार होस्, जसले पनि हिउँदको घामलाई सदुपयोग गरेर घुमफिरलाई प्राथमिकता दिएका हुन्छन् । पछिल्लो समय स्थानीय ठाउँहरुलाई नै घुम्नको लागि उचित गन्तव्य बनाइएको पाइन्छ । स्थानीय क्षेत्रमा कहाँकहाँ छ त घुम्ने ठाउँ ?
नारायणी नदी किनार 
नारायणगढ बजार नजिकको नारायणी नदी किनार डेटिङ स्पटको लागि होस् वा घुमफिरको लागि होस् उचित गन्तव्य भइरहेको छ । छलछल बगेको नारायणी नदीमा स–साना ढुंगा फाल्दै प्रेममा बाँधिएका थुप्रै जोडीहरु यहाँ देख्न सकिन्छ । नदी किनारमा बस्ने ठाउँ छ । ठूल–ठूला ढुंगाहरु छन् । नदी किनारमा चराचुरुङ्गीको मीठो आवाज सुन्न सकिन्छ । सेनसेट होस् वा सनराइज नदी किनारबाट देख्न सकिन्छ । बस्ने ठाउँबाट नारायणी नदीको सुन्दर पुल देखिन्छ । नारायणी नदीका माछाहरु देख्न सकिन्छ । हरियो घाँस उमे्रको छ । के खाने हो, त्यो सजिलै पाइन्छ ।
भगवानका ठूला मूर्तिहरु छन् । प्रेममा बाँधिएका जोडीहरुले भगवानसँग पुकारा गर्न सक्छन् । वरिपरिको वातावरण ज्यादै रमणीय छ । स्पटमै पानीपुरी र चटपटे मगाउन सकिन्छ । हिउँदको पारिलो घाममा नारायणी नदी किनार घुमफिरको उचित गन्तव्य भइरहेको छ ।
मंगलपुरको सानोगढी
भरतपुर–१७, साविक मंगलपुर ५ स्थित ज्ञानेश्वर सामुदायिक वनको नजिकमा रहेको सानोगढी पनि घुमफिरको लागि उचित गन्तव्य भइरहेको छ । यहाँ पछिल्लो समय प्रेमिल जोडीहरुको भीड लाग्छ । यहाँ पिकनिक खानको लागि पनि थुप्रै समूहहरु आइरहेका हुन्छन् । नजिकै नारायणी नदी बगेकी छन् । हिउँदको समयमा सानोगढी पनि घुमफिरको उचित गन्तव्य भइरहेको छ । बस्ने ठाउँमा हरियो घाँसहरु पलाएको छ । प्रेमी जोडीहरुले मायालाई जति कसिलो पारे पनि कसैले वास्ता गर्दैनन् ।
ज्ञानेश्वर सामुदायिक वनको चराचुरूङीको मीठो चुर–चुर आवाज सुन्दै पिरती गाँस्न पाउँदा प्रेमी जोडीहरु मायामा मन्त्रमुग्ध हुन्छन् । बुटवल, वीरगञ्ज, पोखरा, काठमाडौंलगायतका बाहिरी जिल्लाबाट पनि प्रेम जोडीहरु सानोगढी आइपुग्छन् । विदेशी जोडीहरु पनि उक्त ठाउँमा आएर माया साटासाट गर्छन् । गढीमा रहेको उद्धार केन्द्रमा विभिन्न पशुपंक्षी छन् । मायालु जोडीहरुले क्लिक–क्लिक पारी सेल्फी हान्दा त कम्ती रमाइलो हुँदैन ।
जिरौनाको शान्तिकुञ्ज
रत्ननगरको जिरौनामा रहेको शान्तिकुञ्ज पार्क पनि स्थानीय स्तरको उचित गन्तव्य भइरहेको छ । रत्ननगरको बकुलहरबाट करिब ७ किलोमिटर पूर्वतर्फ गए जिरौना बजार आउँछ । उक्त बजारबाट डेढ किलोमिटर भित्र जानसाथ शान्तिकुञ्ज पार्क पुगिन्छ । जिरौनामा १ करोडको लगानीमा श्रीकृष्ण प्रणामी मन्दिर बनाइएको छ । शान्त, शितल ठाउँ शान्तिकुञ्ज गए मायाको शान्ति सजिलै भेट्न सकिन्छ भन्ने विश्वास छ । पार्कभित्र गए लटरम्म फुलेको फुलहरु देख्न सकिन्छ । चराचुरुङीको आवाज सुन्दै पार्कमा रहेको पिङ खेल्न पाउँदा युवा जोडीहरु प्रफुल्ल हुन्छन् ।
सुन्दर सौराहा 
सौराहा नेपालको आकर्षक पर्यटकीय गन्तव्य पनि हो । पर्यटकीय नगरी सौराहा क्षेत्र घुमघामको उचित गन्तव्य बनेको छ । देशविदेशबाट यस ठाउँमा थुप्रै प्रेमिल जोडीहरुको घुइँचो नै लाग्छ । यस वर्ष पनि सौराहामा फुड फेस्टिबल हुने भएको छ । फुड फेस्टिबलमा आन्तरिक तथा बाह्य पर्यटकले सौराहा भरिभराउ हुन्छन् ।
राप्ती नदीको छालसँगै सौराहा क्षेत्रमा मायालु जोडीहरु हात्तीमाथि बसेर मायालाई सुमधुर बनाउँछन् । परिवार लिएर सौराहा घुम्दा जोकोही पनि मख्ख पर्छन् । सौराहानजिकै रहेको चितवन राष्ट्रिय निकुञ्ज हात्ती चढेर घुमघाम गर्न जोकोही पर्यटकहरु आतुर हुन्छन् । निकुञ्जमा रहेको गैंडा, बाघलगायतका वन्यजन्तु हेर्न पर्यटकहरु देशविदेशबाट आउँछन् । चितवनमा सबैभन्दा धेरै पर्यटक सौराहा घुम्न नै आउँछन् । यहाँको होटलमा थप लगानी भइरहको छ ।
घुमफिरका लागि हामीकहाँ धेरै रमणीय ठाउँ छन् । साहसिक पर्यटन, जल पर्यटन, वाइल्र्डलाइफ पर्यटन, टे«किङ, माउन्टेन क्लाइम्विङका लागि नेपाल विश्वमै प्रसिद्ध नै छ ।
विभिन्न ठाँउ पनि प्रर्यटनका लागि चर्चित छन् । नेपालको तेस्रो पर्यटकीय गन्तव्य थल चितवनको सौराहा प्रर्यटनका लागि प्रसिद्ध छ । सौराहा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको चितवन जिल्लामा अवस्थित ठाँउ हो । चितवन राष्ट्रिय निकुञ्जको मध्यमा पर्ने यो क्षेत्रमा धेरै होटल, लज, रिसोर्ट र रेस्टुरेन्ट छन् । निकुञ्ज र सामुदायिक वनमा हात्ती र जीप सफारी गर्नका लागि पनि यो ठाउँ प्रसिद्ध छ ।
सौराहाको चितवन राष्ट्रिय निकुञ्ज वन्यजन्तु र पंक्षीले नै सौराहा पर्यटनका लागि केन्द्रबिन्दु बनेको छ । हात्ती चढेर जंगल सफारी गर्नु, वन्यजन्तु हेर्नु, राप्ती नदीमा डुङ्गा सयर गर्नु, सूर्यास्त हेर्नु, थारु कल्चरको अवलोकन गर्नु सौराहाका आकर्षण हुन् ।
पर्यटकीय नगरी मेघौली
चितवनको दोस्रो पर्यटकीय नगरी मेघौली पनि घुमघामको लागि उचित गन्तव्य भइरहेको छ । यहाँ प्रशस्त ठूला होटलहरु छन् । पोखरा, बुटवल, काठमाडौँ, लमजुङ, तनहुँलगायतका ठाउँबाट मेघौलीमा घुम्न आउँछन् । नारायणी र राप्तीको संगमस्थल मेघौलीमा सनसेट हेर्न सकिन्छ । नारायणी र राप्तीको संगमस्थल हो मेघौलीको गोलाघाट । निकुञ्जका अवलोकन गर्दै मायाको गाँठो कसिलो बनाउन मेघौलीमा पनि प्रेमका जोडीहरु पुग्छन् । एकसिंगे गैंडा, पाटेबाघ, गोहीलगायतका सयौं दुर्लभ पशुपक्षीको बासस्थान मेघौली भरतपुरबाट २५ किलोमिटर पश्चिमतर्फ पर्छ । हात्तीमा चढी अँगालोमा बाँधेर माया गाँस्दा प्रेमी जोडीहरुले स्वर्गीय आनन्द पाउँछन् । ठूलठूला होटल भएको हुँदा मेघौलीमा रात बिताउन पनि सजिलो छ ।

कंकाली डाँडा 
खैरहनी पर्साबाट साढे ४ किलोमिटर टाढा चैनपुर कंकाली सामुदायिक वनभित्र रहेको कंकाली डाँडा पनि पिकनिकको लागि उचित गन्तव्य बनेको छ । यहाँ कंकाली मन्दिर छ । भग्नावशेषहरु हेर्न पाइन्छ । पानीको फोहोराहरु छन् । फोहोरामा अडिएर जोडीहरुले सेल्फी खिच्छन् ।
जोडीहरु खेल्ने पिङहरु पनि छ । ३७ हेक्टरमा फैलिएको कंकाली वन पिकनिक स्पटको लागि चर्चित छ । सिन्धुली, काठमाडौँ, भैरहवा, वीरगञ्जलगायतका ठाउँबाट यहाँ घुम्न आउँछन् । पिकनिक खान आउँछन् ।
मौलाकालिका मन्दिर 
नवलपरासीको गैंडाकोटमा रहेको मौलाकालिका मन्दिर पनि घुम्ने उचित गन्तव्य भइरहेको छ । डाँडामा रहेको मन्दिर पुग्नलाई युवा जोडीहरुको भीड लाग्छ । मन्दिरमा गएर युवा जोडीहरुले भगवानसँग आफ्नो प्रेम अमर बनोस् भनी संकल्प गर्छन् । मौलाकालिका पुग्नको लागि सिँढी चड्दै डाँडामा उक्लन सकिन्छ । प्रेम जोडीहरुले हात समाउँदै सेल्फी खिच्दै माथि उक्लदा छुटै आनन्दको महसुुस गर्छन् । तल फेदीबाट करिब डेढ दुई घण्टा हिँडेर डाँडामा उक्लेपछि मौलाकालिका मन्दिर पुगिन्छ । हिँड्दाको आनन्द युवाजोडीहरुले खुब लिन्छन् । डाँडाको मन्दिर पुगेर भगवानसँग पुकारा गरिन्छ ।
पवित्रधाम देवघाट 

????????????????????????????????????

धार्मिक पवित्रधाम देवघाट पनि घुम्नको लागि धार्मिक उचित गन्तव्य भइरहेको छ । धार्मिक पवित्रधाम भएकाले युवाहरु पनि यहाँ गएर माया गाँस्न चाहन्छन् । पून्य कमाउन देवघाट जानलाई देशविदेशबाट पर्यटकहरु विशेष गरी भारतबाट पर्यटक यहाँ आइरहेका हुन्छन् । देवघाटको झोलुङ्गे पुलमा बसेर सेल्फी खिँच्ने जोडीहरुको पनि भीड लाग्छ । आँपटारीबाट देवघाट जानलाई जंगलभित्र छिरेपछि थुप्रै प्रेमिल जोडीहरु डेटिङ बसेको पनि देखिन्छ । विशेष गरी पवित्र धार्मिक गन्तव्य बनेको देवघाटले पनि आन्तरिक तथा बाह्य धार्मिक पर्यटकहरु तानिरहेको छ । देवघाटमा बगेको बेनीसंगममा ¥याफ्टिङको पनि सुविधा लिन सकिन्छ ।

 

Comments

About the author

चितवन पोष्ट