गृह » अप्रेसनको पालो पाउन महिनौँ कुर्नुपर्ने झन्झट
प्रमुख समाचार स्वास्थ्य

अप्रेसनको पालो पाउन महिनौँ कुर्नुपर्ने झन्झट

किशोर खनाल
भरतपुर । भरतपुरको क्यान्सर अस्पतालमा बर्दियाकी सुनिता बडुवालले तीन महिनापछि बल्ल थाइराइडको अप्रेसन गर्ने पालो पाइन् ।
त्यस्तै, सप्तरी वीरपुरका शिवनारायण यादवले एक महिनापछि घाँटीको अप्रेसन गर्ने पालो पाए । यसैगरी भैरहवाका पुनर्वासी यादवको दुई महिना १२ दिनपछि बल्ल जिब्रोको अप्रेसन गर्ने पालो आयो ।
लामो समयसम्म अप्रेसनको पालो कुर्नुपर्ने भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अप्रेसन गर्न आउने बिरामीको नियति नै बनेको छ । भरतपुरको क्यान्सर अस्पतालमा अप्रेसन गर्दा एक महिना नकुरी कुनै पनि बिरामीले पालो पाउँदैनन् ।
‘तीन महिनापछि बल्ल मेरी बिरामी श्रीमतीको थाइराइडको अप्रेसन गर्ने पालो आयो’ बर्दियाका विकास बडुवालले भने, ‘तीन महिनापछि पालो पाउँदा एकातिर ज्यानको जोखिम बढ्दो रहेछ, अर्कोतिर खर्च त बढ्ने नै भयो ।’ उनले ३ महिनापछि पालो पाउँदा डाक्टरले पहिलाको कुनै रिपोर्टले काम नगर्ने बताएपछि आफ्नो खर्च दोव्बर बढेको बताए । उनले तीन महिनापछि अप्रेसनको पालो पाउँदा सबै नयाँ रिपोर्ट बनाउन परको बताए ।
जिब्रोको अप्रेसन गराउन बुबालाई भरतपुर क्यान्सर अस्पताल ल्याएका सप्तरीका देवनाथ यादवले अप्रेसनको पालो ढिलो पाउँदा बिरामीलाई धेरै नै कष्ट भएको बताए । उनले भने, ‘चाँडै अप्रेसनको पालो नपाउँदा खर्च बढ्यो, बिरामीको घाउ पनि बढ्यो ।’ उनले समयमै अप्रेसनको पालो नपाउँदा धेरै नै सास्ती भोग्नुपरेको बताए ।
‘भरतपुर क्यान्सर अस्पतालमा एक महिनाको अवधिमा अप्रेसनको पालो पाउनु भनेको त ठूलै चिठ्ठा पर्नु पर्दोरहेछ’ उनले भने ।
अप्रेसनको पालो महिनौँ कुर्नुपर्ने झन्झटबाट भरतपुर क्यान्सर अस्पताल अझै पनि मुक्त हुन सकेको छैन । दक्षिण एसियाकै उत्कृष्ट अस्पतालमा गनिएको भरतपुर क्यान्सर अस्पतालमा केही वर्षदेखि रेडियो थेरापीको २ वटा मेशिन बिग्रेर बसेको छ । रेडियो थेरापीको भित्री सेकाइ र बाहिरी सेकाइको दुई वटा मेशिन बिग्रेको ३ वर्ष भयो । अस्पतालमा शैयाहरु अभाव भएको वर्सौ भइसक्यो । पर्याप्तमात्रामा जनशक्ति अभाव भएको पनि थुपै्र समय भयो । यस्तो अवस्थामा पनि अस्पताल प्रशासनले अप्रेसनको पालो कुर्नुपर्ने समस्यालाई सहज रुपमा लिँदै आएको छ ।
‘देशभरका क्यान्सरका बिरामी यहाँ आउँछन् । यहाँ सस्तोमा उपचार हुन्छ । दिनानुदिन बिरामीको संख्या पनि बढिरहेको छ’ क्यान्सर अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्यले भने, ‘जनशक्ति, भवन, अप्रेसन कक्ष, र आधुनिक मेशिनहरु नबढ्दा बिरामीले लामो समयसम्म पालो कुर्नुपरेको हो ।’ उनले विश्वको जुनकुनै सस्तो, राम्रो अस्पतालमा पालो कुर्नुपर्ने समस्या रहेको बताए ।
अस्पतालमा रेडियोथेरापीको भित्री र बाहिरी सेकाइका दुई वटा मेशिन बिग्रेर बसेको वर्षौ भए पनि त्यो मर्मत हुन सकेको छैन । जसले गर्दा बिरामीले लामो समयसम्म पालो कुर्नुपरेको छ ।
‘बिग्रेर बसेको मेशिन बन्दैन अब, कम्पनीले नै बन्दैन भनिसकेको छ’ कार्यकारी निर्देशक आचार्यले भने, ‘रेडियोथेरापीको दुई वटा नयाँ मेशिन आउँदैछ । त्यो आएपछि लामो समयसम्म पालो कुर्नुपर्ने झन्झट केही कमी हुन्छ ।’
अस्पतालमा अहिले अप्रेसनका चारवटा मेजर कक्ष छन् । यति ठूलो अस्पतालमा जम्मा चार वटा अप्रेसन कक्ष हुनु यो दुर्भाग्य नै हो । अस्पतालमा जम्मा १८४ शैया छन् । २० जना मेडिकल अफिसर र ५६ जना विशेषज्ञ छन् ।
‘हामीसँग जनशक्ति, भवन, आधुनिक मेशिनहरु कमी छ, जसले गर्दा बिरामीले अप्रेसनको पालो कुर्नुपरेको हो’ कार्यकारी निर्देशक आचार्यले भने, ‘केही दिन पालो त अवश्य कुर्नुपर्छ, जहाँसम्म महिनौँ कुर्नुपर्ने झन्झट अब छिटै हटाउनको लागि पहल गरिरहेका छौँ ।’
८० वेडको नयाँ भवन अब छिटै सम्पन्न हुने, अप्रेसन कक्ष पनि थप गर्ने र रेडियोथेरापीसहितका अन्य मेशिनहरु ल्याउने योजना आफ्नो रहेको उनले बताए ।
‘क्यान्सरका बिरामी धेरै बढिरहेका छन्, यो देशकै क्यान्सरको एकमात्र नमुना अस्पताल हो । देशभरका क्यान्सरका बिरामीको चाप भरतपुर अस्पतालमा छ’ कार्यकारी निर्देशक विजयचन्द्र आचार्यले भने, ‘बिरामीको चाप थेग्न नसक्दा पालो कुर्नुपर्ने समस्या आएको हो ।’

Comments

About the author

चितवन पोष्ट