गृह » सबै कर्मचारीलाई समान व्यवहार गर्न माग
समाचार समाज स्वास्थ्य

सबै कर्मचारीलाई समान व्यवहार गर्न माग

भरतपुर । स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीहरूलाई समान व्यवहार गर्न कर्मचारीहरूले आग्रह गरेका छन् ।
एउटै संस्थामा काम गर्ने कर्मचारीमा पनि फरक व्यवहार गरेको भन्दै उनीहरूले कार्यरत सबै कर्मचारीलाई समायोजन गरी समान व्यवहार लागू गर्न माग गरेका हुन् ।
शुक्रबार भरतपुरमा भएको अस्पताल विकास समिति कर्मचारी युनियनको तेस्रो राष्ट्रिय माधिवेशनको उद्घाटन समारोहमा उनीहरूले राज्यले सबै कर्मचारीलाई समान व्यवहार गर्नुपर्ने बताए ।
अस्पताल विकास समिति कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष सञ्जय बरालले एउटै प्रकृतिको काम गर्ने कर्मचारीलाई गर्ने व्यवहारमा समानता नभएकोले काम अनुसारको सेवा–सुविधा पनि उपलब्ध गराउनुपर्ने बताए ।
सरकारी स्वास्थ्य संस्थाहरूमा सरकारी र अस्पताल विकास समिति गरी दुईखालका कर्मचारीहरू छन् । ‘उनीहरूको जिम्मेवारी उस्तै हो । तर, व्यवहारचाहिँ किन फरक ?’ उनले प्रश्न गरे । राज्यले ल्याएको विभेदकारी नियमभित्र रहेर काम गर्न बाध्य भएको भन्दै उनले अब एकैखालको कर्मचारी आवश्यक रहेको बताए ।
एउटै कार्यालयमा पनि काम गर्ने कर्मचारी फरक–फरक हुँदा कर्मचारीबीच पनि ठूलो र सानोको भावना जागृत भएको अखिल नेपाल प्रगतिशील स्वास्थ्य संगठनका वरिष्ठ उपाध्यक्ष लीलाराम थापाले बताए । ‘अबका दिनमा यी दुवै खालका कर्मचारीलाई समायोजन गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने । यसरी कर्मचारीमा हेर्ने दृष्टिकोण नै फरक रहेको भन्दै कर्मचारी समायोजन गरेर समान सेवा–सुविधा उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।
नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनका अध्यक्ष चित्रजङ्ग शाहीले ट्रेड युनियन आन्दोलनको लागि मात्रै खोलिएको संगठनको रूपमा विकास हुँदै गएको भन्दै यसलाई परिवर्तन गरिनु आवश्यक रहेको बताए ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रूद्रप्रसाद मरासिनीले सबै क्षेत्रमा राजनीति हावी भइदिँदा कतिपय अवस्थामा कर्मचारीहरू समस्यामा पर्ने गरेको बताए ।
सरकारी प्रक्रियाबाटै भर्ना भएका कर्मचारीलाई पनि अस्पताल विकासको नाममा फरक व्यवहार हुनु राम्रो नभएको भन्दै उनले भने, ‘सरकारले एउटै क्षेत्र र एकै स्थानमा कार्यरत कर्मचारीलाई गर्ने व्यवहार समान हुनुपर्छ ।’ तर, देशैभरको अस्पताल विकास समितिको ऐन एउटै नभएकोले कुनै पनि एजेण्डन्डाले मूर्तरूप लिन नसकेको उनले बताए ।
कुनै पनि सरकारी अस्पताल अस्पताल विकास समितिबिना चल्न नसक्ने हुँदा देशैभरको अस्पताल विकास समितिको विधि र विधान एउटै हुनुपर्ने उनको भनाइ छ । हरेक जिल्लाका अस्पताल विकास समितिको ऐन फरक–फरक भएकोले विकास समितिअन्तर्गतका कर्मचारी सधैँ चेपुवामा पर्ने गरेको उनले बताए ।
स्पष्ट गाइडलाइन, ऐन र नियम नभएकोले यस्तो अवस्था आएको उनको भनाइ छ । ‘विनियमावली अस्पतालअनुसार फरक–फरक हुनाले विभिन्न खालका कठिनाइ सिर्जना भएका छन्,’ उनले भने, ‘त्यसैले विकास समितिको ऐन नियमलाई व्यवस्थित बनाउनु आवश्यक छ ।’
अबका दिनमा दक्षता र वैज्ञानिकताको अधारमा कर्मचारी नियुक्ति गर्ने र आवश्यक गरेमा सरूवा–बढुवा हुने व्यवस्था मिलाउनु पर्ने उनले सुझाव दिए ।
तेस्रो महाधिवेशन सुरू
अस्पताल विकास समिति कर्मचारी युनियन केन्द्रीय समितिको तेस्रो महाधिवेशन सुरू भएको छ । भोलिसम्म हुने महाधिवेशनलाई शुक्रबार चितवन क्षेत्र नं ३ का प्रदेशसभा सदस्यद्वय घनश्याम दाहाल र विजय सुवेदीले संयुक्तरूपमा उद्घाटन गरेका छन् ।
भरतपुरस्थित बीपी कोइलाला मेमोरियल क्यान्सर अस्पतालको हलमा जारी अधिवेशनले १७ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ । विसं २०६३ सालमा आधिकारिक युनियनको रूपमा स्थापित भएको संस्थामा देशभरका १० हजार स्वास्थ्यकर्मी आवद्ध रहेका छन् ।

Comments

About the author

चितवन पोष्ट