गृह » बन्दना बनिन् पहिलो एसओएस सिङ्गिङ स्टार
कला समाचार समाज

बन्दना बनिन् पहिलो एसओएस सिङ्गिङ स्टार

भरतपुर । एसओएस हर्मन माइनर विद्यालयमा पहिलोपटक आयोजना गरिएको एसओएस सिङ्गिङ स्टार—२०७४ को ऐतिहासिक टाइटल कक्षा १२ मा अध्ययनरत छात्रा वन्दना रसाइलीले जितेकी छिन् ।
शैक्षिक सत्रको सुरुआतदेखि नै आरम्भ गरिएको प्रतियोगिताको शुक्रबार विद्यालयमा सम्पन्न ग्रान्ड फिनालीमा एसओएस बालग्राम नेपालका नायब राष्ट्रिय निर्देशक भोलानाथ पौडेलले पहिलो एसओएस सिङ्गिङ स्टारको रुपमा रसाइलीको नाम घोषणा गरेका हुन् ।
विद्यालयमा अध्ययरत ६५० विद्यार्थीमध्ये प्रतियोगितामा करिब ५० जना छात्रछात्रा गीत गाउनका लागि सहभागी भएका थिए । यसअघि भएका विभिन्न चरणहरुमा छानिँदै छानिँदै फाइनलका लागि जम्मा ८ जनाले प्रतिस्पर्धा गरेका थिए । सोहीक्रममा कक्षा ९ मा अध्ययनरत छात्रा स्नेहा क्षेत्री फस्ट रनर अप हुन सफल भइन् भने कक्षा ६ मा अध्ययनरत छात्रा नवीना तिवारीले मस्ट प्रोमिसिङ पार्टिसिपेन्टको उपाधि जितेकी छिन् ।
कार्यक्रममा सुधाकर सङ्गीत, विशाल ढकाल र अनुराधा क्षेत्री निर्णायकका रुपमा रहेका थिए । विद्यालयतहमा अध्ययनरत छात्रछात्रामा रहेको गायन प्रतिभाको विकास गर्नका लागि आयोजित यस्तो कार्यक्रम चितवनमा पहिलो र नौलो भएको बताइएको छ ।
कार्यक्रममा विजयी गायक गायिकाहरुलाई एसओएस बालग्राम नेपालका नायब राष्ट्रिय निर्देशकले पुरस्कार वितरण गरेका थिए । विद्यालयका प्राचार्य लक्ष्मण भण्डारीले कार्यक्रमको बारेमा चर्चा गर्दै अतिथिहरुको स्वागत गरेका थिए । कार्यक्रमको संयोजन एसओएस हर्मन माइनर विद्यालय, अतिरिक्त विभागले गरेको हो ।

Comments

About the author

चितवन पोष्ट