गृह » अद्वितीय काव्यिक गर्जन कविडाँडामा
साहित्य

अद्वितीय काव्यिक गर्जन कविडाँडामा

– धनराज गिरी
dhanraj.giri@yahoo.com
चितवन अब एउटा भूगोलमा मात्र सीमित रहेन । चितवन नेपालको मुटुमा नै छ र हरेक कोणबाट यो मुटु नै सावित भइरहेछ । आफ्नो छुट्टै छवि निर्माण गर्न सफल कवि भाइ भूपिन खड्का भन्छन्, ‘हात्ती, गैँडा, नदीनाला, नारायणी, चुरे, महाभारत, ढुंगामाटो मात्र चितवनको परिचय होइन, सांस्कृतिक बिम्बहरु हुन् चितवनको वास्तविक चिनारी ।’ युगयुगसम्म चिनिने मानव सभ्यताको धरोहर भएर रहने बिम्बहरु छन् यो भूगोलको परिचय । गोलसिमल परिचय पाएका प्रेमविनोद नन्दन, हरेस खान पाएर पनि हरेस नखाएजस्ता देखिने अतिरिक्त ऊर्जाका धनी रामबाबु घिमिरे, गैँडाकोटे मोती, कैकयीका पिता कविवर छन्दनारायण गोविन्दराज विनोदी, अमर न्यौपाने, सरिता तिवारी आदि हुन् चितवनका ढुकढुकी । कहिले पनि क्षय नहुने ‘अक्षर खेती’मा लागेका सयौँ पात्रहरुको साझा वाटिका हो चितवन । पदमपुर र पदमश्री, सरसर्ती संसार अर्थात् जीवा पनि एउटा सांस्कृतिक बिम्ब बनिसकेका छन् । चितवन साहित्य परिषद्को भवन, हाम्रो आन, हाम्रो शान, प्रतिष्ठा, एकताको एउटा बिम्ब, आज आएर चितवनवासी हुन पाएकोमा मलाई गर्व लागेको छ । धेरै धेरै उदार मन भएका साहित्यप्रेमीहरु र साहित्यसेवीहरु छन् यस पावन भूमिमा । वास्तवमा साहित्यको सेवा निष्काम कर्म नै हो । पवित्र मन हुनेहरुले मात्र यो ‘हीरा’ लाई चिन्न सक्छन् र यसमा आफूलाई समर्पित गर्दछन् । आज म कविडाँडा साहित्य समाज, कैलाशनगर र दाजी एलबी क्षेत्री एवम् देवीजस्ती भाउजू मीना लामिछानेको त्याग, समर्पण र लगानीका बारेमा बोल्नेछु । सारा संसारले सामाजिक सञ्जालमार्फत थाहा पाएको कुरा लेख्न मैले किन लाज मान्ने ? एक किसिमले म राम्रो काम गर्नेहरुका बारेमा लेख्न भनेरै यो धरामा आएको हुँ ।
काव्य विमर्श, त्यो पनि बृहत् नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपतिकै प्रमुख आतिथ्यमा आज माघ २० गते शनिबार कैलाशनगर ह्वाइट कर्नरमा सम्पन्न हुनेछ । कविता के हो ? वास्तवमा कविता के हो ? किन लेख्ने कविता ? म साहित्यको विद्यार्थी होइन । सिद्धान्त जान्दिनँ । केही पनि जान्दिनँ । आफूलाई सर्जक नै मान्दिनँ । तर, कविता मन पराउँछु । ‘गुप्ती नामधरी सकी नगरीमा पस्ने बखतमा पनि, कस्ता रीतसित कष्ट भोग गरी यहाँ उत्तीर्ण होला भनी’ पिताश्री परशुराम गिरी बिहान बिहानै यो भगवती स्त्रोत पाठ गर्नुहुन्थ्यो । ५ वर्षकै उमेरमा त्यो बाल मस्तिष्कमा छाप परेको हो यो श्लोक । अक्षर, शब्द, वाक्य हुँदै जाँदा हरेक ग्रन्थ रमाइला लागे । घरमा आध्यात्मिक वातावरण । रामायण, महाभारत, देवी भागवत्, कृष्णचरित्र किशोरावस्थामा आइपुग्दासम्म चरिसकेको थिएँ । आठ कक्षामा नै रघुनाथ आत्रेय गुरूले छन्दको ज्ञान दिनुभयो । २०२७ सालमा नै झ्याउरे गीत लेखेर आफैँ गाउँथे स्कुलमा, शुक्रबार । यही भएर कविताको लत बचपनबाटै । परिभाषा जान्दिनँ म । तर, मेरो आफ्नै परिभाषा हुन सक्दैन र ? हृदयको कोमल भावना हो कविता । विशिष्ट अभिव्यक्ति हो कविता । स्वर नहुनेहरुको स्वर हो कविता । नवजात शिशुको मुस्कान हो कविता । कविता के हो भनेर सोध्नभन्दा कविता के होइन ? भन्नेमा नै कवितामाथि न्याय होला । अर्थात्, यो सृष्टिको हरेक सुन्दर सिर्जना हो कविता । ‘सत्यम्–शिवम्–सुन्दरम् हो कविता । कविताजस्तै लाग्ने हरेक वाक्य नै हो कविता । प्रियसीको अव्यक्त भाव, हृदयको आवाज, मायालु हेराइ हो कविता । संसार कवितामय छ । त्यही भएर कविलाई ठूलो सम्मान गरिएको हो ।
आज यहाँ यो कविडाँडामा हामी सबैले यत्रो मानसम्मान पाएको पनि ‘कवि’ भएर नै हो । कविताप्रेमी भएर नै हो । विशाल हृदयका धनी मेरा बडे, त्यसमाथि शिष्ट, मिष्ट, विशिष्ट मेरी भाभीश्रीले कविताको मह¤व बुझेर नै यत्रो महाअनुष्ठान सम्पन्न गर्ने इच्छा गर्नुभएको हो । यस्तो लाग्दछ, आज चितवन भएर कविताको नारायणी बगिरहेछ । बिहान उदाउने उषाकिरणमा पनि कविता नै कविता छ । हरेक पातको सर्सराहट कविता हो, चरीको चिरबिर पनि कविता हो । कवि को हो ? कवि एउटा छुट्टै प्राणी हो । कवि हुन भनेर जन्मिएको मान्छे नै कवि हो । हाम्रा सहकर्मी मित्र लक्ष्मणहरि अर्यालका अनुसार कवि तीन प्रकारका हुन्छन् ः रहर गर्ने कवि, प्रतिभा भएको कवि र जन्मजात कवि । रहर गर्ने कविहरुले जीवनभरि रहरमात्रै गर्दछन् । कविताको हत्या गर्छन् र काव्य वाचन समारोहलाई यातना गृह बनाएर छोड्छन् । दुःखको कुरा उनीहरुलाई यो ज्ञान हुनै पाउन्न, कसैले सम्झाएमा दुर्वासा बन्दछन् । श्रीमतीले हप्काउँदा पनि होस आउन्न । अझ एक–दुई दोसल्ला ओढे भने त कसले छुने ! प्रतिभावान् कविहरुले निरन्तर अभ्यास गरेमा, अग्रजहरुको सिर्जना प्रशस्त पढेमा ऊबाट अर्थात् उनीबाट कविता लेखिन सक्छ । प्रतिभा भएका पात्रहरु अल्छी भएमा उनीहरुबाट पनि कविता सम्भव हुन्न । जन्मजात कविले आफूलाई चिनेमा र प्रतिभा सदुपयोग गरेमा चमत्कार गर्दछ, यस्तो चमत्कार बारबार भएको छ । अनि के सबै कविता कविताजस्तै हुन्छन् ?
एउटा रोचक प्रसंग ः केही वर्षअघि विक्रम सुब्बा दाजी कामविशेषले सौराहा आउनुभयो । उहाँका केही कविता पढेको थिएँ । सौराहा आउने सर्जकहरुसित अक्सर भेट हुन्छ । भेट गरेँ । चार रात सँगै । अनि, थोरै वाइन उदरस्थ गरेपछि दाजीले च्याप्प मेरो हात समाएर सिर्जना छान्न भन्नुभयो– ‘लु गिरीजी भन्नुहोस्, महाकविको कुनै एउटा सिर्जना छान्न परेमा तपाईं के छान्नुहुन्छ ?’ आम्मै कस्तो प्रश्न ! एकछिन त मज्जैसित अल्मलिएँ । तपाक बोलेँ– ‘यात्री कविता’ ! वाह, मिलेछ । दाजी प्रफुल्ल । अर्थात्, झिलिक्क हुने कविता विशिष्ट अवस्थामा मात्र सिर्जना हुन्छ । त्यसैले, लेखिएका जति सबै कविता वास्तवमा कविता हुन सक्दैनन्, लेखिएजति सबै गजलहरु पनि गजल हुन सक्दैनन् । ‘म मर्ने हो मर्छु’….. यो हो कविता । ‘यी हाँसे पनि’….. यहाँ छ कविता । मानव हृदयको सातै तार झंकृत गराउन सक्ने खुबी हुनुप¥यो अनि हुन्छ कविता । त्यसै कहाँ हुन्छ कविता ?
कविताको नाममा रमिता भने प्रशस्त भएको छ । अनि हास्यकलाकारहरुका लागि कच्चापदार्थ बन्दछ कवि । आज पक्कै पनि यो बृहत् काव्य विमर्श नामको समुद्र मन्थनले काव्यामृत निकाल्ने छ र हामी सिकारूहरु लाभान्वित हुनेछौँ । आजको दिनले हामीलाई पक्कै पनि सही बाटो देखाउने छ । कविताका मर्मज्ञहरुको यो भेलाले आउने दिनहरुमा नेपाली कविताको क्षेत्रमा केही हलचल ल्याउने छ भनेर आशा गर्न सकिन्छ । आज यहाँ प्रस्तुत हुने कार्यपत्रहरुले हाम्रो वर्तमान अवस्थालाई पनि उजागर गर्नेछ र भोलि कुनै पनि कविलाई ‘मुद्दा’ लाग्ने छैन । साहित्यको नाममा असाहित्य, राजनीतिको नाममा अराजनीति, शिक्षाको नाममा अशिक्षा हाम्रो नियति भएको छ । अकवि र अकविता बग्रेल्ती । बोल्ने को ? एउटा हरि अधिकारीले कति शत्रु कमाउने ? सत्य बोल्नेहरुको हालत के हुन्छ, जगजाहेर । भीड र कविताको कुनै साइनो छैन । त्यस कारण, राम्रो कविता र स्तरीय कविता सिर्जना गर्ने काम चानचुने होइन । तर पनि भीडको आवश्यकतालाई नकार्न सकिन्न । यही भीडबाट भोलि सुदेश सत्याल, सुमनराज श्रेष्ठ, सुरेन्द्र अस्तफल, सिर्जन अविरल, गणेश श्रमण, द्वारिका नेपाल, सामना पहाडहरु जन्मिन सक्छन् । मुख्य कुरा व्यक्तिले आफ्नो सीमा बुझ्नुपर्छ, जसरी मेरा बडे भन्नुहुन्छ– ‘म कवि होइन, कविता कोर्दछु, म साहित्यकार पनि होइन, तर साहित्यसेवी र साहित्यप्रेमी हुँ ।’ प्रत्यक्षम्–किम प्रमाणम् । यो लेखको उद्देश्य नकारात्मक सन्देश प्रवाह गर्नु होइन । कसैको तेजोबध गर्नु होइन । मलाई मनमा लागेको कुरा गरेको हुँ । मलाई लागेको सत्य अरुले पनि सत्य मान्नुपर्दछ भन्ने छैन । अक्सर हरेक मान्छेको आफ्नै सत्य हुन्छ । कहिलेकाहीँ यस्तो लाग्छ, सत्य नै सत्य होइन कि ! सबै हो कि हो कि, सबै झैँ अनि भन्नैपर्छ– मलाई त यस्तै लाग्छ ।
कविडाँडा साहित्य समाज आज विश्वप्रशिद्ध भएको छ । मेहमानवाजीमा एलबी क्षेत्रीको तुलना नै हुन सक्दैन । भाउजू मीना लामिछानेको नम्रतालाई सलाम गर्दछु । र म आफ्नो तर्फबाट बडेको अनुज छोटेको तर्फबाट सम्पूर्ण विद्वान् सर्जकहरुलाई हार्दिक स्वागत गर्दछु । कार्यक्रम भव्य र सभ्य हुनेमा कुनै शंका छैन । चितवनको यो पवित्र माटोमा अब कविताको छुट्टै बिरूवा रोपिने छ । कवितामय वातावरणमा आजको दिन रमाउन पाइयो । हाम्रा भुइँफूलहरुको सुगन्ध यत्रतत्र पुग्नेछ । यो साहित्यिक भेलाले, यो विमर्शले आउने दिनमा आफ्नो रंग देखाउन पाउने छ, अक्सिजनको ओभर डोज लिएर फर्किनुहुने छ, मेरा साहित्यिक आफन्तहरु । जय साहित्य !

Comments

About the author

चितवन पोष्ट