गृह » नेपालप्रतिको भारतीय चासो
सम्पादकीय

नेपालप्रतिको भारतीय चासो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश बोकेर नेपालको २५ घन्टाको सद्भावना भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज भारतप्रति नेपालको सद्भावना बोकेर स्वदेश फर्किएकी छन् । तर, उनको यो भ्रमणले नेपालको राजनीतिमा अदृश्य तरंग छाडेको छ । उनले सर्वप्रथम वाम गठबन्धनका भावी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनलाई अग्रिम शुभकामना तथा बधाई दिँदै उनको नेतृत्वको सरकारसँग मिलेर सहकार्य गर्न भारत सरकार अत्यन्त इच्छुक रहेको जानकारी दिएकी थिइन् । अरु छिमेकी देशभन्दा भारत नेपालको सुखदुःखको अभिन्न मित्र भएको कुरा भावी प्रधानमन्त्री ओलीसँगको एक घन्टा लामो एक्लाएक्लै भेटमा भारतीय विदेशमन्त्रीले बताएकी थिइन् । तर, उनका यी भनाइहरु सिद्धान्त र व्यवहारमा कति समान छ या छैन भन्ने कुराको नेपालका सचेत जनताले चिन्तन, मनन र समीक्षा गर्नुपर्ने विषय बनेको छ ।
नेपाल र भारतबीच लामो समयदेखि सम्बन्ध सुमधुर हुँदाहुँदै पनि यदाकदा विवादमा पर्ने गरेको छ । केही समयअघि भारतले नेपालमाथि लगाएको नाकाबन्दीलाई धेरै नेपालीले बिर्सेका छैनन् । यस्तै, मेचीदेखि महाकालीसम्मको खुला सिमानामा दर्जनौँ स्थानमा भएको भारतीय अतिक्रमणलाई पनि हामी देशभक्त नेपालीहरुले बिर्सेका छैनौँ । सन् १९५० को असमान नेपाल–भारत सन्धिलाई समयानुकूल परिमार्जन गर्दै वैज्ञानिक ढंगबाट सीमा स्तम्भ गाडिनु पर्ने कुरामा पनि हाम्रो जोड रहँदै आएको छ । तर, विडम्बना यो छ कि नेपाल सरकारले कूटनीतिक माध्यमबाट यी ज्वलन्त समस्याहरुको समुचित समाधान गर्न सकेको छैन । यी मह¤वपूर्ण विषयहरुको उचित समाधान भएपछिमात्र भारतीय सद्भावको केही अर्थ रहन सक्छ ।
यौटा रोचक र सुखद संयोग के पनि बन्न गएको छ भने, भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा नेपाललाई दिने अनुदानमा ७० प्रतिशत वृद्धि गरिएको छ । भारतीय विदेशमन्त्रीले आफ्नो सरकार नेपालसँग विकास परियोजनामा सहकार्य गरेर अघि बढ्ने तथा जलस्रोत र क्षेत्रीय सुरक्षासमेतका विषयमा भावी सरकारसँग हातेमालो गर्ने धारणा भावी प्रधानमन्त्री ओलीसँग बताएकी थिइन् । भारतीय विदेशमन्त्रीको हतारमा भएको यो भ्रमणले दक्षिण एसियामा आफ्नो बर्चस्व र प्रभावलाई अझ बढी बलियो बनाउन भारत इच्छुक रहेको बुझ्न सकिन्छ । अर्को ठूलो छिमेकी राष्ट्रभन्दा नेपालप्रति आफ्नो बढी चासो देखाउन र मनोवैज्ञानिक प्रभाव यथावत् राख्न उनको यो भ्रमण केन्द्रित रहेको कूटनीतिक विश्लेषकहरुले अनुमान गरिरहेका छन् । भारतले वास्तवमै नेपालसँग सम्बन्ध सुधार्न चाहेको हो भने असमान सन्धिको तत्काल समयानुकूल परिमार्जन गर्न र सीमा विवाद यथाशक्य छिटो टुंग्याउन विशेष पहल गर्नु अत्यावश्यक देखिन्छ । अन्यथा, यस्तो हतारको एजेन्डाविहीन भ्रमणले नेपाल र नेपाली जनताको हित हुनसक्ने छैन । साथै, असमान व्यापार र पारवहन क्षेत्रका समस्याहरु पनि नेपालका समस्याभित्र पर्ने भएकाले भारत सरकारको यस विषयमा ध्यानाकर्षण हुन जरूरी छ ।

Comments

About the author

चितवन पोष्ट