गृह » भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण
सम्पादकीय

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण

बिहीबार पूर्वजानकारी र पूर्वतयारीबिना नै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाल भ्रमण गरिन् । नेपालमा निकट भविष्यमै नयाँ सरकार बन्न लागेको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी विशेष दूतका रुपमा विदेशमन्त्री सुष्मालगायतको नेपाल भ्रमणलाई निकै अर्थपूर्ण रुपमा लिइएको छ । यस भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्ने विश्लेषण पनि हुन थालेको छ । नेपालको नयाँ राजनीतिक परिवर्तनको पूर्वसन्ध्यामा कूटनीतिज्ञहरुले यस्तो प्रकृतिको भ्रमण गर्दै आएको पाइन्छ । भारतले विदेशमन्त्रीसहित नवनियुक्त विदेशसचिव विजय गोखले, विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारलगायत उच्चस्तरीय टोली समावेश गरेर उक्त भ्रमणलाई मह¤व दिएको बुझ्न गाह्रो पर्दैन । भारतले नेपालसँगको सम्बन्ध सुमधुर रुपमा अघि बढोस् भन्ने चाहेको छ । नेपालमा भारतविरोधी भावना बढ्नु नेपालका लागिमात्रै नभएर भारतको हितमा पनि उचित होइन । यससम्बन्धमा औपचारिक रुपमै दुई छिमेकीसँग समदूरीका हिसाबले सम्बन्ध कायम गर्ने एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभिव्यक्ति दिइसकेका छन् ।
नेपालमा प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावले वाम गठबन्धनलाई बहुमत दिलाएको छ । अब बन्ने नयाँ सरकार वाम गठबन्धनबाटै हुनेमा द्विविधा पनि छैन । नयाँ सरकारको प्राथमिकता र नेपाल–भारत सम्बन्धका नयाँ आयामका लागि पनि विदेशमन्त्रीको भ्रमण फलदायी सावित हुनसक्ने देखिन्छ । ०७२ जेठमा ठूला चार दलको १६ बुँदे समझदारीसँगै अघि बढेको संविधान निर्माण प्रक्रियासँग भारतीय असन्तुष्टि पनि चरमोत्कर्षमा पुगेको थियो । अन्ततः ०७२ असोज २ मा नयाँ संविधान जारी भएलगत्तै भारतले अघोषित नाकाबन्दी लगाएर रोष प्रकट गरेको थियो । नाकाबन्दीका समयमा नेपालमा भारतविरोधी भावना यति बढ्न पुग्यो कि स्वतःस्र्फूत रुपमा उत्तरी छिमेकी चीनसँग भावनात्मक रुपमा निकटतासमेत बढ्न पुग्यो । वाम नेताहरुले चीनसँग निकटतामात्रै बढाएनन्, चीनबाट रेल ल्याउने चुनावी नाराले जनमतसमेत हासिल गर्ने काम ग¥यो । अहिलेको भ्रमण द्विपक्षीय सम्बन्ध विकास गर्नेभन्दा पनि वाम गठबन्धनलाई विश्वासमा लिने प्रयत्नका रुपमा भएको हुनुपर्छ भन्ने विश्लेषण गरिएको छ ।
भारतको कूटनीतिज्ञ र सरकारी प्रतिनिधिहरुले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतसँग भेटघाट गर्ने बताइएको छ । विदेशमन्त्रीमार्फत मोदीले चुनावी सफलता र संविधान कार्यान्वयनपछिको नयाँ परिस्थितिमा द्विपक्षीय हितका निम्ति नेपाल–भारत सँगै मिलेर काम गर्ने सन्देश प्रवाह गर्न लागेका हुन् । भारतले नयाँ विकसित परिस्थितिमा आफ्नो पुरानो सोच परिवर्तन गर्नुपर्छ । नेपाल–भारत असल छिमेकी रहेको सन्देश विश्वजगत्मा पु¥याउन पनि एकले अर्काको अस्तित्व स्वीकार गर्न सक्नुपर्छ । हामी चाहन्छौँ, नेपाल–भारतबीच यस्ता ‘गुडविल भिजिट’हरु भइरहून् । कूटनीतिक भेटवार्ता राजनीतिक चलखेलका लागिमात्र नभएर द्विपक्षीय हित र स्वार्थका लागि हुनु जरूरी छ ।

Comments

About the author

चितवन पोष्ट