गृह » अस्पताल कर्मचारी यूनियनको महाधिवेशन भोलिबाट
राजनीति समाचार समाज

अस्पताल कर्मचारी यूनियनको महाधिवेशन भोलिबाट

भरतपुर । अस्पताल विकास समिति कर्मचारी यूनियनको महाधिवेशन चितवनमा हुने भएको छ ।
यूनियनले बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गरी भोलि शुक्रबार बाट २१ गतेसम्म तीन दिन महाधिवेशन भरतपुरमा हुने जानकारी दिएको हो । युनियनका कार्यवाहक अध्यक्ष सन्जय बरालले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अडिटोरिम हलमा हुने महाधिवेशनको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा तारा पौडेलले समुद्घाटन गर्ने कार्यक्रम रहेको बताए । उनले तीन दिनसम्म चल्ने महाधिवेशनले केही सैद्धान्तिक विषय र आफूहरुको मागको विषयमा विशेष नीति पास गर्नुको साथै नयाँ नेतृत्वसमेत चयन गर्ने जानकारी दिए ।
युनियनका कार्यवाहक अध्यक्ष बरालले विकास समितिमा कार्यरत कर्मचारीलाई समायोजनमा बेवास्ता नरिए आन्दोलनमा जाने चेतावनीसमेत दिए । सरकारले विकास समितिलाई स्थानीय निकायमा जान निर्देशन दिई सकेको अवस्थामा आफूहरुको उपयुक्त समायोजन हुनुपर्ने कार्यवाहक अध्यक्ष बरालले माग गरे । उनले लामो समयसम्म दरबन्दी अनुसारको पदपूर्ती नभएको भन्दै तत्काल पदपूर्ती गर्न मागसमेत गरे ।
महाधिवेशनमा देशभरबाट करिब ४० वटा विकास समितिका करिब ४०० प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ । यूनियनमा हाल देशभरका ३५ वटा विकास समितिका कर्मचारीहरु आवद्ध छन् । देशभरमा कुल ६५ वटा अस्पताल विकास समिति रहेका छन् । अन्य विकास समितिका कर्मचारीहरुलाई पनि यूनियनमा आवद्ध गराउने प्रयास भइरहेको कार्यवाहक अध्यक्ष बरालले जानकारी दिए ।
यसैबीच महाधिवेशनले १७ सदस्यीय नयाँ केन्द्रीय समिति समेत चयन गर्नेछ । यस पटक नयाँ विधान अनुसार एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, सातै प्रदेशको रहने गरी ७ जना उपाध्यक्ष, एक महासचिव र एक जना कोषाध्यक्ष रहनेछ भने बाँकी सदस्यहरु रहने युनियनले जनाएको छ ।

Comments

About the author

चितवन पोष्ट